
गढवा २९ साउन । दाङको गढवा गाउँपालिकाका नागरिकहरूले गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सूचना, शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण, बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न उठाउँदै समयमै प्रभावकारी सूचना उपलब्ध गराउन माग गरेका छन् ।
राप्ती प्रेस मञ्चको सहजीकरणमा बिहीबार गढवा गाउँपालिका ७ को वडा कार्यालय मानपुरमा आयोजित आर्थिक वर्ष २०८२-०८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा, सुविधा तथा कार्यक्रमबारे पर्याप्त र समयमा जानकारी नपाउँदा कतिपय नागरिक सेवा तथा अवसरबाट वञ्चित हुनुपरेको गुनासो गरेका हुन् । सार्वजनिक सुनुवाइमा नागरिकहरूले गाउँपालिकाको सेवा प्रवाहलाई अझै नागरिकमैत्री बनाउन सूचना प्रवाहको प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले गाउँ तथा वडा तहमा सञ्चालन हुने कार्यक्रम, बजेट, सेवा, योजना तथा आवश्यक प्रक्रियाबारे नागरिकलाई समयमै जानकारी गराउन सके स्थानीय सरकारप्रति नागरिकको पहुँच र विश्वास थप बढ्ने बताएका थिए ।
नागरिकहरूले सूचना प्रवाहका लागि टोल विकास संस्था, सामाजिक संस्था, सञ्चारमाध्यम तथा अन्य उपलब्ध माध्यमलाई प्रभावकारी रूपमा परिचालन गर्न सुझाव दिएका थिए । विशेषगरी गाउँपालिका वा वडा कार्यालयमा आउने सबै नागरिकले कार्यालयमै पुगेर मात्र सूचना लिनुपर्ने अवस्था अन्त्य गरी सूचना नागरिक सम्मै पुर्याउने संयन्त्र बनाउनुपर्ने उनीहरूको माग थियो । सार्वजनिक सुनुवाइमा शिक्षा क्षेत्र पनि नागरिकको महत्वपूर्ण चासोको विषय बनेको थियो । सहभागीहरूले गाउँपालिका भित्रको गुणस्तरीय शिक्षाको अवस्था, सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि तथा शिक्षकको भूमिकाबारे प्रश्न उठाएका थिए । केही नागरिकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले निजी विद्यालयमा लगानी गरेको विषयसमेत उठाउँदै त्यसबारे गाउँपालिकाले आवश्यक निगरानी र स्पष्ट नीति अवलम्बन गर्नुपर्ने बताएका थिए ।
त्यस्तै स्वास्थ्य क्षेत्रका विषयमा पनि नागरिकहरूले प्रश्न तथा गुनासा राखेका थिए । विशेषगरी सर्पदंश उपचारका लागि आवश्यक एन्टि स्नेक भेनमको उपलब्धता तथा अभावका विषयमा प्रश्न उठाउँदै नागरिकहरूले अत्यावश्यक औषधि तथा उपचार सामग्रीको उपलब्धता नियमित र भरपर्दो बनाउन गाउँपालिकाले ध्यान दिनुपर्ने बताएका थिए ।
औषधि खरिद प्रक्रियाबारे समेत सहभागीहरूले प्रश्न गरेका थिए । स्वास्थ्य संस्थामा आवश्यक औषधि समयमै उपलब्ध हुन नसक्दा सेवाग्राही प्रभावित हुनसक्ने भन्दै खरिद प्रक्रिया व्यवस्थित, पारदर्शी र आवश्यकता आधारित बनाउन नागरिकहरूले सुझाव दिएका थिए । कृषि क्षेत्रमा देखिएका समस्या र किसानले भोगिरहेका कठिनाइबारे पनि कार्यक्रममा जिज्ञासा राखिएको थियो । स्थानीयस्तरमा कृषि उत्पादन, किसानलाई उपलब्ध गराइने सेवा तथा कार्यक्रम र कृषि क्षेत्रमा विनियोजन हुने बजेटको प्रभावकारी कार्यान्वयनबारे नागरिकहरूले गाउँपालिकासँग जवाफ मागेका थिए ।
यसैगरी विकास निर्माणका योजना, लक्षित वर्गका कार्यक्रम, बजेटको कार्यान्वयन तथा गाउँपालिकाबाट प्रदान गरिने सेवाका विषयमा सहभागीहरूले प्रश्न तथा सुझाव दिएका थिए । स्थानीय तहले सञ्चालन गर्ने विकास निर्माणका काममा पारदर्शिता, गुणस्तर र नागरिकको सहभागितालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
सार्वजनिक खरिद प्रक्रियाको विषयसमेत कार्यक्रममा उठेको थियो । सहभागीहरूले गाउँपालिकाले खरिद गर्ने सामग्री तथा सेवामा प्रचलित कानुनी प्रक्रिया पूर्णरूपमा पालना गर्नुपर्ने भन्दै आवश्यकताअनुसार बोलपत्र आह्वानलगायतका प्रक्रिया अपनाउन सुझाव दिएका थिए । सार्वजनिक स्रोतबाट खर्च हुने रकमको सदुपयोग तथा खरिद प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने नागरिकको जोड थियो । नागरिकबाट उठेका प्रश्न तथा गुनासाको जवाफ गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, सम्बन्धित शाखाका प्रमुख तथा वडा अध्यक्षहरूले दिएका थिए ।
कार्यक्रममा नागरिकबाट आएका गुनासो तथा सुझावको जवाफ दिदै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिका तथा वडा कार्यालयमा देखिएका समस्या पहिचान गरी सुधार गर्दै सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष पोख्रेलले नागरिक र जनप्रतिनिधिबीचको समन्वय तथा सूचना प्रवाहको संयन्त्रमा कतै कमजोरी भएको महसुस भएको बताउँदै आगामी दिनमा त्यसलाई सुधार गरिने बताए । उनले गाउँपालिकाबाट प्रवाह हुने सूचना सबै नागरिकसम्म समयमै पुर्याउन टोल विकास संस्थालाई थप क्रियाशील बनाउने र आवश्यकताअनुसार विभिन्न माध्यमको प्रयोग गरिने बताए ।
“नागरिकबाट आएका गुनासा हाम्रा लागि सुझाव हुन् । नागरिकका गुनासा र प्रश्नलाई शिरोधार्य गर्दै देखिएका कमजोरी सुधार गरेर अगाडि बढ्छौँ,” अध्यक्ष पोख्रेलले भने । उनले गाउँपालिका तथा वडामा देखिएका समस्या नागरिकसँगै बसेर छलफल गरी समाधानको बाटो खोजिने बताए । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकले प्रत्यक्ष रूपमा उठाएका प्रश्न र गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने अध्यक्ष पोख्रेलको भनाइ थियो । उनले सेवा प्रवाहमा देखिएका कमजोरीलाई क्रमशः सुधार गर्दै गाउँपालिकाका कामलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गाउँपालिकाबाट प्रवाह हुने सेवा तथा कार्यक्रमका विषयमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले जानकारी तथा प्रस्तुति दिएका थिए । त्यस्तै राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीले नागरिक र बहिर्गमन प्रतिवेदन प्रस्तुत गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताले गर्नु भएको थियो।







