दाङको बादी बस्तीमा नायिका मिरुना मगरको जन्मदिनमा शैक्षिक सामग्री वितरण

शिक्षामार्फत भविष्य उज्यालो बनाउनुपर्छ : प्रियासन

रोजिना डाँगी

दाङ ,२ श्रावण । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, पेन्सिल कटर, जुस र बिस्कुट वितरण गरिएको हो।

कार्यक्रम दुर्गा भवानी टोलका अध्यक्ष बालु बादीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, डा. लोकराज पराजुली, अधिकारकर्मी विनोद केसी, पत्रकार दुर्गालाल केसीलगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सबिन प्रियासनले समाजको पछाडि पारिएका समुदायका बालबालिकाको शिक्षामा सबैको साझा जिम्मेवारी रहेको बताए। उनले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने कार्य प्रेरणादायी भएको उल्लेख गरे।

“बादी समुदायका बालबालिकाले पनि गुणस्तरीय शिक्षा, समान अवसर र सम्मानपूर्ण जीवन पाउने अधिकार राख्छन्,” उनले भने, “यस्ता अभियानले बालबालिकामा पढाइप्रतिको उत्साह बढाउनुका साथै समाजलाई सकारात्मक सन्देश दिन्छ। हरेक व्यक्तिले आफ्नो विशेष दिनलाई यस्तै सामाजिक सेवासँग जोड्न सके समाजमा ठूलो परिवर्तन सम्भव हुन्छ।”

जन्मदिनको अवसरमा काठमाडौंबाट मोबाइलमार्फत कार्यक्रममा जोडिएकी नायिका मिरुना मगरले बालबालिकासँग जन्मदिनको खुसी साटासाट गर्दै उनीहरूलाई मन लगाएर अध्ययन गर्न आग्रह गरिन्। आफू प्रत्यक्ष उपस्थित हुन नसके पनि मन भने बालबालिकासँगै रहेको उनले बताइन्।

मिरुना मगरले भनिन्, “मेरो जन्मदिनमा तपाईंहरूका अनुहारमा मुस्कान देख्न पाउनु नै मेरो सबैभन्दा ठूलो उपहार हो। राम्रोसँग पढ्नुहोस्, आफ्ना सपना कहिल्यै नछोड्नुहोस्। परिस्थिति जस्तोसुकै भए पनि शिक्षा नै भविष्य बदल्ने सबैभन्दा बलियो माध्यम हो।”

उनले आगामी दिनमा पनि बालबालिकाको शिक्षा, प्रतिभा र सामाजिक उत्थानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता मानवीय अभियानमा जोडिन पाएकोमा आयोजकप्रति आभार व्यक्त गरिन्।

सो अवसरमा दाङमा शैक्षिक सामग्री वितरणको नेतृत्व गर्नुभएका पहल थिएटरका सञ्चालक केएल बुढाथोकीले चर्चित नायिका मेरिनाको जन्मदिन आफूले सामाजिक काम गरेर मनाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो l

कार्यक्रममा वितरण गरिएको शैक्षिक सामग्री पाउँदा बादी बस्तीका बालबालिकाले खुसी व्यक्त गरेका थिए। स्थानीय अभिभावकहरूले पनि यस्ता सहयोगले बालबालिकालाई विद्यालयप्रति थप आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन्।

आयोजक संस्थाका प्रतिनिधिहरूले सामाजिक रूपमा पछाडि पारिएका समुदायका बालबालिकालाई शिक्षामा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्। उनीहरूका अनुसार जन्मदिन, वार्षिकोत्सवलगायतका व्यक्तिगत अवसरलाई सामाजिक सेवासँग जोड्ने संस्कृतिको विकास गर्न यस्ता अभियानलाई निरन्तरता दिइनेछ।

नायिका मिरुना मगरको जन्मदिनलाई समाजसेवासँग जोड्दै गरिएको यो कार्यक्रमले बादी समुदायका बालबालिकामा नयाँ उत्साह थप्नुका साथै शिक्षा, समान अवसर र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। नायिका मिरुना मगरले चर्चित नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन् उनले विभिन्न राष्ट्रिय अवार्डहरू समेत जितेकी छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID