गढवामा डेंगु नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान

आलोक भावुक

गढवा, २९ साउन । गढवा गाउँपालिकामा डेंगु तथा किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार गढवा स्वास्थ्य चौकीमा डेंगु तथा किटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा लामखुट्टेले प्रजनन गर्ने सम्भावित स्थानको पहिचान, पानी जम्ने ठाउँको व्यवस्थापन तथा लामखुट्टेको लार्भा नष्ट गर्ने उपायबारे जानकारी गराइएको थियो। डेंगु तथा अन्य किटजन्य रोगको संक्रमण रोकथामका लागि घर, विद्यालय, सार्वजनिक स्थल तथा समुदायमा सरसफाइ र पानी जम्न नदिने विषयमा विशेष जोड दिइएको थियो।

कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरणपछि लामखुट्टेको वासस्थान पहिचान गरी सम्भावित प्रजननस्थलमा रहेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो। सहभागीहरूले घर तथा समुदायमा पानी जम्ने भाँडाकुँडा, टायर, गमला, नालीलगायत स्थानको नियमित निरीक्षण र सफाइ गर्नुपर्नेमा जोड दिएका थिए।

स्वास्थ्य शाखाले डेंगु नियन्त्रण सरकारी निकायको मात्र प्रयासले सम्भव नहुने भन्दै नागरिकस्तरबाट पनि लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियानलाई निरन्तरता दिन आग्रह गरेको छ। वर्षायाममा पानी जम्ने स्थान बढ्ने भएकाले डेंगुको जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना र सरसफाइलाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID