
घोराही, दाङ । घोराही उपमहानगरपालिका–१५ थारु गल्लीमा रहेको नेपाली जुत्ता घरले ग्राहकलाई लक्षित गर्दै ‘पुरानो जुत्ता ल्याउने, नयाँ जुत्ता लैजाने’ आकर्षक स्किम सञ्चालनमा ल्याउने भएको छ। आगामी भदौ १० गतेदेखि लागू हुने उक्त योजनामा जुनसुकै कम्पनीका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
चाडपर्व नजिकिँदै गर्दा ग्राहकलाई सहज र सहुलियतपूर्ण सेवा दिने उद्देश्यले स्किम ल्याइएको नेपाली जुत्ता घरका सञ्चालक अर्जुन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार ग्राहकले आफूले प्रयोग गरिरहेको पुरानो जुत्ता नेपाली जुत्ता घरमा ल्याएपछि त्यसको अवस्था हेरी रु. ३०० देखि रु. ७०० सम्म मूल्याङ्कन गरिनेछ।
सञ्चालक खनालका अनुसार रु. १ हजार ५०० मूल्य पर्ने नयाँ जुत्ता खरिद गर्ने ग्राहकले पुरानो जुत्ताबापत रु. ३०० छुट पाउनेछन्। त्यसैगरी रु. २ हजार ५०० मूल्य पर्ने जुत्ता खरिद गर्दा पुरानो जुत्ताको मूल्याङ्कनबापत रु. ५०० छुट र रु. ३ हजार ५०० मूल्य पर्ने जुत्ता खरिद गर्दा रु. ७०० छुट पाउने व्यवस्था गरिएको छ।
“पुरानो जुत्ता घरमै थन्काएर राख्नुभन्दा नेपाली जुत्ता घरमा ल्याउनुहोस्, मूल्याङ्कन गराउनुहोस् र नयाँ जुत्ता खरिदमा छुट लिनुहोस्,” सञ्चालक खनालले भन्नुभयो। उहाँका अनुसार ग्राहकलाई थप सुविधा दिने उद्देश्यले नयाँ जुत्ताको खरिदमा १० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको छ।
नेपाली जुत्ता घरले स्थानीय ग्राहकलाई लक्षित गर्दै गुणस्तरीय नेपाली जुत्ताको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न समयमा यस्ता योजनाहरू सञ्चालन गर्दै आएको जनाएको छ। पुराना जुत्ताको पुनः उपयोग तथा व्यवस्थापनसँगै ग्राहकलाई नयाँ जुत्ता खरिदमा आर्थिक सहुलियत दिने भएकाले यो योजना उपभोक्ताका लागि उपयोगी हुने सञ्चालक खनालको विश्वास छ।
यसैगरी, आउँदै गरेको चाडपर्वलाई लक्षित गरी नेपाली जुत्ता घरले थप विशेष छुट तथा आकर्षक अफरहरू समेत ल्याउने तयारी गरेको जनाएको छ। चाडपर्वको समयमा नयाँ जुत्ता तथा चप्पल खरिद गर्ने ग्राहकको संख्या बढ्ने भएकाले ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राखेर विशेष योजना ल्याउन लागिएको हो।
नेपाली जुत्ता घरको नयाँ स्किमले पुराना जुत्ता विस्थापन गरी नयाँ जुत्ता खरिद गर्न चाहने ग्राहकलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने देखिन्छ। साथै, स्वदेशी तथा नेपाली ब्रान्डका जुत्ताको प्रयोग बढाउनसमेत यस्ता योजनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।







