माला सिन्हासँग एक अन्तर्वार्ता

प्रभाष

माला सिन्हा हिन्दी सिनेमाकाे इतिहासकाे एक महत्वपूर्ण अभिनेत्री हुन्। व्यावसायिक हिन्दी सिनेमाकाे प्रारम्भिककालमा ‘अनकंभेन्सनल राेल’हरु निभाउने विरल अभिनेत्री हुन् माला सिन्हा। ‘प्यासा’, ‘धूल का फूल’, ‘गुमराह’ जस्ता फिल्महरुमा उनले निभाएका राेलहरु यस्ता थिए, जुन त्यसबेलाका सामाजिक मान्यताहरुसँग बाँझ्थे। नायिकाकाे अर्कै (अप्रिय) रुप देखाउँथे। त्यसैले, अन्य अभिनेत्रीहरु ती राेलहरु निभाउनबाट डराउँथे तर तिनै राेलहरुले हिन्दी सिनेमामा अभिनेत्रीकाे राेलहरुकाे रेन्जलाई फराकिलाे पार्नमा महत्त्वपूर्ण याेगदान पुर्‍यायाे। उनले निर्वाह गरेका ‘अनकंभेन्सनल’ तर सशक्त ‘फिमेल सेन्ट्रिक’ राेलहरुका कारण उनलाई हिन्दी सिनेमाकाे ‘Daring Diva’ & ‘Torch Bearer Of Women’s cinema’ पनि भनियाे। हिन्दी सिनेमामा अभिनेत्रीकाे रेन्जलाई फैलाउनमा महत्त्वपूर्ण याेगदान गरेकी उनी हिन्दी सिनेमाकाे इतिहासमा बिर्सनै नमिल्ने अभिनेत्री हुन्, तर पनि आज सबैले उनलाई बिर्सिएका छन्। आज उनी विस्मृतिकाे बादलभित्र बिलुप्त भएकी छन्।

उनी एकमात्र यस्ती अभिनेत्री थिईन् जाे फिल्ममा करिब हिराेकाे जतिकै लामाे राेल पाउँथिन्। ‘नन स्टार’ हिराेहरुसँग पनि फिल्म खेल्न तयार हुन्थिन्। अनि आफ्नै दममा हिट फिल्महरु दिन्थिन्। उनी आफ्नाे समयकाे सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री थिईन्। राज कपूर, गुरु दत्त, देव आनन्द, अशाेक कुमार, राज कुमार, किशाेर कुमार जस्ता ठूला अभिनेताहरुदेखि लिएर धर्मेन्द्र, जितेन्द्र, मनाेज कुमार, सँजय खान, राजेश खन्ना र अमिताभ बच्चन जस्ता नयाँ अभिनेताहरुसँग पनि उनले फिल्ममा जाेडी जमाइन्।

दु:खकाे साथ भन्नुपर्छ कि उनलाई उनकाे याेगदानकाे श्रेय दिइएन। उनले त्याे सम्मान पाईनन् जसकाे उनी हकदार थिईन्। न सरकारले उनकाे याेगदानकाे पहिचान गर्‍याे, त अन्य सिने फाेरम वा सँस्थाहरुले नै। त्यसैले, माला सिन्हा लामाे समयदेखि ओझेलमा रहिरहेकी एक अंडररेटेट सिने पर्सनालिटी हुन्।

यिनै अभिनेत्री माला सिन्हासँग पत्रकार सुभाष के झाले लिएकाे अन्तर्वार्ताकाे सारसँक्षेप:-

माला सिन्हा गायिका बन्न चाहन्थिन्, अभिनेत्री हाेइन। अनि उनी लता मँगेशकरका गीतहरु गाउने गर्थिन्। सानाेमा काेलकाताकाे भवानीपुरमा बस्दा उनी त्यहाँ ‘बेबी लता’ काे नामले चिनिन्थिन्। सुभाष के झा ले यही प्रसँगबाट उनीसँगकाे अन्तर्वार्ताकाे सुरुवात गरेका छन्,

बेबी लता’ कसरी माला सिन्हा बनिन्?

(लामाे सास लिदै) हामी एकथाेक साेच्छाैं तर परमेश्वरले हाम्राे लागि अर्कैथाेक साेचेर राखेकाे हुन्छ। मेराे जीवन र मेराे चाहना कलकत्ताकाे मेराे स्कुलकाे बार्षिकाेत्सवकाे दिनदेखि बदलियाे जब बंगाली फिल्ममेकर अर्धेन्दु बाेसले मलाई त्यहाँ देख्नुभयाे। उहाँले मेराे बारे साेधखाेज गर्नुभयाे र मेराे बाबासँग सम्पर्क गर्नुभयाे। यसरी मलाई बाल-कलाकारकाे रुपमा बंगाली फिल्म ‘जाेग बियाेग’ मा कास्ट गरियाे। फिल्ममा मलाई नायिकाकी सानी बहिनीकाे भूमिका दिइएकाे थियाे।

त्यसपछि मैले अरुहरुबाट पनि फिल्महरुकाे अफरहरु पाउन थाले साथै पढाईलाई पनि निरन्तरता दिन थाले। मेराे स्कुलकाे प्रिन्सिपल निकै प्रगतिशील हुनुहुन्थ्यो। उहाँ उदार हृदयले मलाई स्कुलबाट विदा लिएर फिल्ममा अभिनय गर्न दिनुहुन्थ्याे। मेराे कक्षाका मेधावी विधार्थीहरुका स्कुलका नाेटहरु मलाई उपलब्ध गराइन्थ्याे ताकी म मेराे छुटेकाे पढाइ पूरा गर्न सकुँ।

फिल्ममा मेराे नाम बदलेर ‘बेबी माला’ राखियाे। मेराे वास्तविक नाम ‘आल्दा’ हाे। हामी क्याथाेलिक क्रिश्चियन हाैं। स्कुलमा मेरा साथीहरु मलाई ‘आल्दा’ काे साटाे ‘डाल्डा’ भनेर बाेलाउँथे। डाल्डा भान्साकाे प्रिय खाधसामग्री हुने गर्थ्याे। मैले तेलकाे लागि गरिएकाे डाल्डाकाे विज्ञापन भर्खरै हेरे। के तपाईं कल्पना गर्न सक्नुहुन्छ, अहिले घ्यूलाई स्वास्थ्यकाे लागि लाभदायक चीजकाे रुपमा लिइन्छ। त्यसबेला त हामी डाल्डामा पुरी पकाउँथ्याैं अनि मान्छेहरु मलाई डाल्डा भन्थे। मैले बाबालाई मेराे नाम बदल्न अनुराेध गरे। बंगाली फिल्महरुमा मलाई ‘नाज़्मा’ भनेर नामाकरण गरियाे।

अनि ‘नाज़्मा’ चै कसरी ‘माला सिन्हा’ बनिन् त ?

जब मैले फिल्ममेकर अमिय चक्रवर्तीबाट ब्रेक पाए र बम्बई
आए, तब म नाम बदलेर ‘माला सिन्हा’ बने। मैले कलकत्ताकाे ओरिएन्ट स्टुडियाेमा मेराे पहिलाे फाेटाेशूट गराए। अमिय साहब (चक्रवर्ती) आफ्नाे नयाँ फिल्मकाे लागि नायिका खाेजिरहनुभएकाे थियाे। मेरा तस्वीरहरु ओरिएन्ट स्टुडियाेका भित्तामा सजाइएका थिए। फिल्मफेयरले त्यसलाई छाप्ने निर्णय गर्‍याे। एकदिन बिहान अमिय साहब चियाकाे चुस्की लिनुहुँदै थियाे, उहाँकी पत्नीले फिल्मफेयरमा छापिएका मेरा तस्वीरहरु उहाँलाई देखाउनुभयाे। अमिय साहब आफ्नाे फिल्म ‘पतिता’ काे प्रदर्शन गर्न काेलकाता आउनुभएकाे थियाे। उहाँले मेराे नाम र ठेगाना खाेजेर पत्ता लगाउनुभयाे। यसरी, म‌ैले उहाँकाे फिल्म ‘बादशाह’ मा प्रदीप कुमारकाे अपाेजिट राजकुमारीकाे सहायक भूमिका निभाउने अवसर पाए। यसप्रकार सन् 1954 देखि हिन्दी सिनेमामा मेराे करिअर प्रारम्भ भयाे।

के तपाईंले ‘बादशाह’ (1954) पछि तत्काल सफलता पाउनुभयाे?

अहँ। ‘बादशाह’ (1954) बिग फ्लप भएकाे थियाे। बाबाले भन्नुभयो, ‘हामी अब कलकत्ता फर्किनुपर्छ।’ तर उहाँकाे साथी जानकी दासले भन्नुभयाे, ‘घर नछाेड्नु’। ‘बिटिया मे बहुत दम है’ उहाँ भन्नुहुन्थ्यो। त्यसपछि मैले किदार शर्माकाे फिल्म ‘रंगीन रातें’ (1956) पाए। यस फिल्मका नायिका गीता बाली हुनुहुन्थ्याे, जसले मलाई उक्त फिल्मकाे लागि सिफारिस गर्नुभयाे।

चरित्र अभिनेता जानकी दास (जाे मेराे बाबाकाे प्रिय मित्र हुनुहुन्थ्याे) ले पनि किशाेर साहु समक्ष फिल्म ‘हेमलेट’ (1954) काे लागि मेराे सिफारिस गर्नुभयाे। साहु साहबले मेराे अडिसन लिनुभयाे र मलाई साईन गर्नुभयाे।

‘हेमलेट’ (1954) कै शूटिङताका गीता बालीले मलाई उहाँकाे मेन्टर किदार शर्मासँग परिचय गराउनुभयाे। साहु साहब मैले धाराप्रवाह हिन्दी र उर्दु बाेलेकाे देखेर अचम्भित हुनुभयाे। भन्नुभयाे, ‘एउटी केटी जाे घरमा बंगाली बाेल्छिन्, कसरी यस्ताे धाराप्रवाह हिन्दी र उर्दु बाेल्न सक्छिन् ?’

जब ‘हेमलेट’ (1954) रिलिज भयाे, अभिनेता डेविडजीले मलाई अंगाल्नुभयाे अनि चिच्याउनुभयाे, ‘अ स्टार इन बर्न’। ‘हेमलेट’ फ्लप भयाे तर म हिट भए। मलाई थुप्रै ‘मुस्लिम साेसल’ फिल्महरुका लागि साईन गरियाे। जसमध्ये, ‘जहाँ आरा’ (1964) मेराे हृदयकाे नजिक छ। मदन माेहन साहबले सँगीतबद्ध गर्नुभएकाे र लताजीले गाउनुभएकाे यस फिल्मकाे प्रत्येक गीत मेराे हृदयमा अंकित भएकाे छ।

तपाईं आफ्नाे बाबाकाे धेरै नजिक हुनुहुन्थ्यो हाे?

बाबाले मेराे पूरै करिअर सम्हाल्नुभयाे। मैले कहिल्यै मेराे निर्माताहरुसँग ‘नेगाेसिएट’ गरिन। ती सबै काम बाबाले गर्नुभयाे। म मेराे निर्दैशकलाई सिधै फिल्मकाे सेटमा भेट्थे। बाबाले मलाई स्टुडियोमा कहिल्यै एक्लै छाेड्नुभएन। यहाँसम्मकी म वाशरुममा जाँदा पनि बाबालाई ढाेका अगाडि गार्ड बस्न लगाउँथे। उहाँकाे मृत्युपछि म पूर्णतया: हराए। यस्ताे लाग्याे मेराे खुट्टा मुनिबाट जमिन नै हराएकाे छ। मैले अभिनय छाेडे। मैले अभिनय गर्न नै बिर्सिएकाे महसुस गरे। प्रत्येकचाेटि जब म शट् दिन्थे, तब स्वीकृतिकाे लागि ‘अटाेमेटिकल्ली’ बाबातिर हेर्ने गर्थे।

हिन्दीमा सुरुका केही फिल्महरु फ्लप भएपछि तपाईँले आफ्नाे करिअरलाई टिकाइराख्न के गर्नुभयाे?

मैले कुनै पनि फिल्ममेकरबाट केही पनि अफर पाईन। त्यसपछि अचानक, ‘बाई चान्स’ मैले बी.आर.चाेपड़ा साहबकाे फिल्म ‘धूल का फूल’ (1959) पाए। यही फिल्मबाट बी.आर.चाेपड़ा साहबकाे भाइ यश चाेपड़ालाई निर्दैशककाे रुपमा लञ्च गरिन्दै थियाे। फिल्मकाे हिराे थिए राजेन्द्र कुमार, जाे त्यसबेला एक न्यूकमर थिए। महत्त्वपूर्ण कुरा त फिल्ममा मेराे भूमिका एक अविवाहित आमाकाे थियाे। कसैले पक्कै पनि बी.आर.साहब समक्ष मेराे सिफारिस गरेकाे हुनुपर्छ।

बी.आर. साहबले ‘हेमलेट’ मा मेराे अभिनय हेर्नुभयाे र बाबालाई सम्पर्क गर्नुभयाे। हामी दुवै बाबा-छाेरी बि.आर.साहबलाई भेट्न गयाैं। मलाई सम्झना छ, कथा सेसनमा साहिर लुधियानवी पनि उपस्थित हुनुहुन्थ्यो। त्यहाँ मलाई मेराे अविवाहित आमाकाे भूमिकाबारे बताइयाे। पछि, याे भूमिकाले मेराे करिअरमा ठूलाे परिवर्तन ल्याइदियाे। थुप्रै थुप्रै जवान र अविवाहित स्कुल र कलेज पढ्ने केटीहरुले मलाई पत्र पठाए। पत्रमा लेखे कि फिल्म हेरेर उनीहरुले बिहेभन्दा अगाडि गरिने शारीरिक सम्पर्ककाे दुष्परिणामबारे थाहा पाए र सचेत भए।

के तपाईंले याे साेच्नुभएन कि आफ्नाे करिअरकाे सुरुवातमै अविवाहित आमाकाे भूमिका गर्दा त्यसले तपाईंकाे ईमेजलाई बिगार्छ भनेर?

भूमिका गर्नु बाहेक म सँग अरु के विकल्प थियाे र ? म चुनाैतीपूर्ण भूमिकाहरुकाे भाेका थिए। मैले आफैलाई प्रमाणित जाे गर्नु थियाे। मलाई थाहा थियाे, याे यस्ताे भूमिका हाे जसलाई आज पनि धेरै नायिकाहरुले निभाउन अस्वीकार गर्नेछन्। तर ‘धूल का फूल’ मात्र मैले मेराे करिअरमा निभाएकाे एकमात्र बाेल्ड भूमिका हाेईन। ‘गुमराह’ (1963) काे बारेमा के विचार छ जसमा मैले यस्ती विवाहित स्त्रीकाे भूमिका निभाएकी थिए जसकाे एक परपुरुषसँग विवाहाेत्तर सम्बन्ध छ। कुन चै अरु नायिकाले याे भूमिका निभाउने दुस्साहस गर्थिन् र? याे पनि बी.आर.चाेपड़ा साहबक‌ै फिल्म थियाे। म त बी.आर. चाेपड़ा साहबकाे घरकी छाेरी जस्तै बन्न पुगेकी थिए। त्यसरी नै, जसरी म विजय भट्ट र रामानन्द सागरकाे ब्यानरकाे स्थायी सदस्य जस्तै बन्न पुगेकी थिए। चाेपड़ाहरुले मलाई राजेश खन्नासँग ‘इत्तेफ़ाक़’ (1969) पनि अफर गरेका थिए। याे एउटा यस्ताे फिल्म हाे, जसलाई गुमाएकाेमा मलाई पछुताे छ। यश चाेपड़ा मैले याे अफर अस्वीकार गर्दा मसँग अपसेट हुनुभएकाे थियाे। उहाँले मलाई त्यसपछि कहिल्यै अर्काे फिल्म अफर गर्नुभएन। उहाँलाई म‌ैले त्याे ब्यानरकाे फिल्म अस्वीकार गर्दा निक‌ै चाेट पुगेकाे थियाे, जुन ब्यानर मेराे लागि घर जस्तै थियाे। मैले त्याे फिल्म गर्न सकिन किनभने म सँग डेट्स थिएन।

तर के तपाईँकाे बाबाले डेट्स म्यानेज गर्नुभएन?

बाबाले मलाई अफर भए जति सबै फिल्म स्वीकार गर्नुभएकाे थियाे। उहाँले साेच्नुभयाे, कि मलाई पछि सायद यति धेरै अफरहरु नआउन सक्छ। मैले सबै खाले फिल्महरु गरे, मुस्लिम साेसलदेखि लिएर माइथाेलाेजिकल र साेसल ड्रामासम्म। अनि, एकपटक जब म‌ैले फिल्म गर्छु भनेर कमिट गरे, त्याे कमिटमेन्टलाई मैले सदैव पूरा गरे। बीचमा धाेका दिईन। सबै निर्माता र सहकर्मीहरु मेराे लागि समान महत्वका थिए। मैले न्यूकमर मनाेज कुमार र संजय खानसँग पनि काम गरेकाे छु जसरी राज कपूर साहबसँग काम गरेकाे छु जाे त्यति ठूलाे स्टार हुनुहुन्थ्याे तर पनि मजस्ताे न्यूकमरसँग फिल्म गर्न राजी हुनुभयाे।

तपाईले हरेक प्रमुख अभिनेतासँग काम गर्नुभयाे तर धेरै फिल्म विश्वजीतसँग गर्नुभयाे। याे कसरी सँभव भयाे ?

याे बाबाले गर्नुभएकाे हाे। उहाँले विश्वजीतसँग धेरै फिल्म साईन गर्नुभयाे। ती मध्ये केही फिल्म तल्ला स्तरका थिए, तिनले राम्राे फिल्मकाे मूल्यमा मेराे समय खाइदिए। मैले शक्ति सामन्तकाे ‘आराधना’ (1969) जस्ताे फिल्म गुमाए। मलाई याद छ, शक्ति दा टर्नर राेडस्थित मेराे घरमा मेराे सामु बस्नुभएकाे थियाे र मलाई बँगालीमा भन्नुभएकाे थियाे, ‘याे तिम्राे करिअरकाे बेस्ट राेल हुनेछ।’ तर बाबाले अरु नै फिल्म साईन गर्नुभएकाे थियाे। म‌ैले कहिल्यै पनि बाबाकाे वचन टारिन। किनभने, म मेराे घरमा कुनै पनि किसिमकाे मनमुटाव वा अशान्ति चाहँदिनथे। ‘आराधना’ लाई लिएर पैसामा शक्ति दासँग बाबाकाे कुरा मिलेकाे थिएन। मैले राजेश खन्नासँग काम गर्ने अवसर गुमाए। तर, पछि मैले ‘मर्यादा’ (1971) मा उनीसँग काम गर्ने मा‌ैका पाए।

 

आफ्नाे बाबाबाहेक तपाईं आफ्नाे सफलताकाे लागि अरु कसलाई श्रेय दिनुहुन्छ ?

मेरी आमालाई। उहाँ मेराे घरेलु सहयाेगी हुनुहुन्थ्याे। उहाँ मलाई ताताे खाना खुवाउन र नुहाउनका लागि ताताे पानी दिन राति 2 बजेसम्म जाग्नुहुन्थ्याे। जब म शूटिङबाट फर्कर आउने गर्थे। त्यसबेला गिजर हुँदैनथ्याे। तर बाबा मेराे सबथाेक हुनुहुन्थ्यो। उहाँ मलाई मेराे कमाईबाट मासिक एक हजार रुपैयाँ दिनुहुन्थ्याे। मलाई त्याे भन्दा बढी पैसाकाे आवश्यकता कहिल्यै परेन पनि। म स्टुडियोकै खाना खान्थे। म शूटिङकै कपडा लगाउँथे। अनि, म पार्टीहरुमा कहिल्यै जाँदिनथे। म कहिल्यै घुम्न वा छुट्टी मनाउन गईन। मेराे काम नै मेराे छुट्टी थियाे।

तपाईंको पति चिदम्बर प्रसाद लाेहनी (सि.पी. लाेहनी) का बारेमा बताउनुहाेस् न।

उहाँकाे बारेमा के बताउनु? हाम्राे ‘लङ-डिस्टेन्स म्यारिज’ भएकाे थियाे। हामीले याे शर्तमा बिहे गर्‍याैं कि उहाँ कहिल्यै घरज्वाईँ बस्नुहुने छैन। मैले भने, ‘ठीक छ। कहिले तपाईँ आउनुहाेस्,
कहिले म आउँछु।’ हामीले एकअर्कालाई आँखा चिम्लेर विश्वास गर्‍याैं। उहाँले आफ्नाे समय नेपाल र मुम्बईका बीचमा बाँड्नुभयाे। उहाँका विराटनगरमा पुर्ख्याैली समस्याहरु थिए। यस्तोमा कसरी म उहाँलाई सबथाेक छाेडेर ‘मुम्बईमा म सँग बस्नुहाेस्’ भन्न सक्थे र? सबैजना मेरी हजुरआमादेखि लिएर मेरा बाबा-आमासम्म ‘मेराे विवाह नेपालीसँग हाेस्’ भन्ने चाहनुहुन्थ्याे। मेराे पति र मेराे भेट नेपाली फिल्म ‘माईतीघर’ काे शूटिङताका काठमाडौंमा भएकाे थियाे। मेराे पति पेशाले एक राजस्व अधिकृत हुनुहुन्थ्याे अनि उहाँ जन्मजात कलाकार हुनुहुन्थ्याे। उहाँ अझै पनि मधुर गाउनुहुन्छ। हामीकहाँ कलाकारहरु घरमा रात्रिभाेजनसँगै नाँच्नगाउन आउने गर्थे।

अनि कसरी चलाउन नसकिने माला सिन्हा प्रेममा परिन् त?

म परिन। हामी शूटिङताका भेट्यौं। अनि, बाबाले उहाँकाे आनीबानी मनपराउनुभयाे। मेराे पति विनयी, भलादमी र सुसँस्कृत हुनुहुन्थ्यो। अनि, जातले ब्राह्मण हुनुहुन्थ्यो। उहाँकाे बुवा राजघरानाकाे पूजारी हुनुहुन्थ्यो। हाम्राे विवाह त यसैउसै भएकाे थियाे। जब मैले देखे कि मेराे बाबा मिस्टर लाेहनीमाथि रुचि देखाउनुहुँदैछ, त्यसपछि मैले पनि उहाँलाई नजिकबाट हेर्न थाले। बाबाले मेराे प्रस्ताव उहाँकी आमासमक्ष लैजानुभयाे। उहाँकी आमालाई पनि म क्याथाेलिक क्रिश्चियन भएकाेमा कुनै आपत्ति थिएन। मेरी सासु-आमाले मलाई हिन्दु धर्मकाे बारेमा धेरै कुरा बताउनुभयाे।

अन्तत: कुन कुन कार्यक्रम वा फिल्महरु तपाईका लागि महत्त्वपूर्ण छन्?

मेरा प्रिय फिल्महरु ‘जहाँ आरा’ (1964), ‘गुमराह’ (1963), ‘अनपढ’ (1962), ‘आसरा’ (1966) ‘बहारें फिर भी आएगी’ (1966, जुन फिल्म गुरु दत्तकाे देहान्तपछि उनकाे भाइ आत्मारामले निर्दैशन गरेका थिए। फिल्मकाे एउटा गीत शूट गरेपछि गुरुदत्तकाे देहान्त भएकाे थियाे) र ‘प्यासा’ (1957) हाे।

मैले गुरुदत्तसँग ‘बहुरानी’ (1963) पनि खेले। मैले याे फिल्ममा एक यस्ती पत्नीकाे भूमिका निर्वाह गरे, जाे आफ्नाे दब्बू र सिधासाधा पतिकाे हककाे लागि लड्छिन्। याे मेराे आफ्नै ‘राम और श्याम’ थियाे। यसले मलाई ‘राम और श्याम’ (1967) काे पनि याद दिलाउँछ जसमा मुमताज़काे भूमिकालाई मैले अस्वीकार गरेकी थिए। मैले कहिल्यै पनि दिलिप कुमार साहबसँग काम गर्ने अवसर पाईन। तर मलाई कुनै गुनासाे छैन। मैले जे जति काम गरे, त्यही पर्याप्त छ। मलाई कुनै पछुताे छैन। म आशा गर्छु, मैले मेराे करिअरमा कसैलाई चाेट पुर्‍याइन ।

के हामी तपाईलाई फेरि पर्दामा देख्ने आशा गर्न सक्छाैं?

अब अर्काे जन्ममा। याे जन्ममा पुगिसक्याे। आजकल म मेराे परमेश्वरसँगकाे सत्सङमा खुशी छु।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID