गढवामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

जलवायुमैत्री कृषि अपनाउँदै धान उत्पादन बढाउनुपर्नेमा जोड

आलोक भावुक

गढवा, १५ असार। “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नारासहित गढवा गाउँपालिकाको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गढवा गाउँपालिका वडा नम्बर ६ आंटीपाकरमा सम्पन्न भएको छ।

कार्यक्रम गढवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शारदाकुमारी चौधरीले कृषि नै गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख आधार भएकाले आधुनिक र जलवायुमैत्री खेती प्रणाली अपनाउनुपर्ने बताइन्। उनले किसानलाई उत्पादनमुखी बनाउन स्थानीय सरकारले विभिन्न कृषि कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै कृषि क्षेत्रमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिइन्। किसानको मेहनतले नै खाद्य सुरक्षा सुनिश्चित हुने भएकाले कृषि पेशाप्रति सम्मान र आकर्षण बढाउन सबैको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

अध्यक्षीय मन्तव्य राख्दै वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले राष्ट्रिय धान दिवसले किसानको श्रमको सम्मान गर्नुका साथै परम्परागत खेतीलाई आधुनिक प्रविधिसँग जोड्ने अवसर प्रदान गरेको बताए। उनले वडा कार्यालयले कृषकको उत्पादन वृद्धि, सिँचाइ, बीउबिजन तथा कृषि प्रविधिको पहुँच विस्तारका लागि आवश्यक पहल गर्दै आएको जानकारी दिए।

कार्यक्रममा वडा सदस्यहरू दिनमणी आचार्य र मानु कुमाल, वडा सचिव विष्णु बिसी, आंटीपाकर टोल विकास संस्थाका अध्यक्ष चन्द्रराज पाण्डे, वडा कर्मचारी बिन्दु यादव, पत्रकार शिवराज पन्थी, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, कृषक सञ्जय आले लगायत स्थानीय किसान तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनाएका थिए। वडाध्यक्ष आलेमगरले जलवायु परिवर्तनको प्रभावलाई ध्यानमा राखी आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन वृद्धि तथा कृषिप्रति सकारात्मक सोच विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID