
गढवा,१५ मंसिर। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई एमसिए द्वारा प्रस्तावित धानखोला–लमही दुई लेन सडक रोक्न दबाब दिने सम्बन्धी ज्ञापनपत्र बुझाइएको छ।
धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियानका संयोजक प्रकाश शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुई लेनको प्रक्रिया तत्काल रद्द गरी चार लेन सडक निर्माण अघि बढाउन पालिका अध्यक्षलाई ध्यानाकर्षण गराइएको उल्लेख छ।
विज्ञप्तिमा जनताको जायज माग सम्बोधन नगरी दुई लेनकै सडक निर्माण अघि बढाइएमा एमसीए नेपालको काम रोक्ने तथा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिइएको छ।
संघर्ष अभियानका अनुसार दाङ–देउखुरी क्षेत्र तीव्र शहरीकरण हुँदै गएको, हिमाल–पहाड–तराई जोड्ने प्रमुख मार्ग भएकाले चार लेन आवश्यक रहेको र स्थानीय सरोकारवालाको निरन्तर दबाबलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग गरिएको छ।





