गढवाको गोबरडिहा आयुर्वेद औषधालयबाट निशुल्क फिजियोथेरापी सेवा शुभारम्भ

आलोक भावुक

गढवा, ११ मंसिर। दाङ देउखुरीको गढवा गाउँपालिका–३ स्थित गोबरडिहा आयुर्वेद औषधालयले निशुल्क फिजियोथेरापी सेवा औपचारिक रूपमा सुरु गरेको छ। बिहीबार आयोजित विशेष समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले फिजियोथेरापी सेवाको उद्घाटन गर्दै सो सेवा गाउँपालिकाका नागरिकका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकामा स्वास्थ्य सेवाको दायरा दिनप्रतिदिन विस्तार हुँदै गएको उल्लेख गर्दै फिजियोथेरापी सेवा जोडिनु पालिकाको स्वास्थ्य संरचनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँपालिकाका धेरै नागरिकहरू घुँडा, ढाड, जोर्नी तथा मांसपेशीसम्बन्धी समस्याबाट पीडित छन्। आयुर्वेद औषधालयबाट सुरु भएको निशुल्क फिजियोथेरापी सेवाले यहाँका सर्वसाधारणलाई अत्यधिक राहत पहुँचाउने छ। स्वास्थ्य सेवामा नयाँ आयाम थपिदिएको यो पहल प्रशंसनीय छ।” पालिका अध्यक्ष पोख्रेलले भन्नु भयो।

यसैगरी कार्यक्रममा बोल्दै गोबरडिहा आयुर्वेद औषधालयका प्रमुख डा. शंकर नाथ योगीले औषधालयले आयुर्वेद उपचारलाई आधुनिक प्रविधिसँग जोड्दै चरणबद्ध रूपमा सेवा विस्तार गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार औषधालयमा यसअघि नै शिरोधारा सेवा सञ्चालनमा रहेको र चूर्ण औषधि उत्पादनका लागि आवश्यक मेसिन जडान गरी उत्पादन प्रक्रियाको औपचारिक शुभारम्भ भइसकेको छ। फिजियोथेरापीसँगै औषधालयमा सेकाइ प्रविधिबाट (Thermal Therapy) उपचार समेत जारी रहेको उल्लेख गर्दै डा. योगीले भन्नुभयो, “हामी नियमित रूपमा स्तरोन्नत सेवा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ। स्थानीय नागरिकका समस्या, आवश्यकता र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सेवा विस्तार गरिएको हो।”

कार्यक्रममा सहभागी सरोकारवालाहरूले निशुल्क फिजियोथेरापी सेवाको शुरुवातले गोबरडिहा क्षेत्र तथा आसपासका बासिन्दालाई गुणस्तरीय र सहज स्वास्थ्य सुविधा उपलब्ध गराएको भन्दै खुशी व्यक्त गरेका थिए। गढवा गाउँपालिकाको समन्वयमा आयुर्वेद औषधालयले आगामी दिनमा अझ विविध स्वास्थ्य सेवा थप्दै लैजाने तयारी रहेको जनाएको छ।

कार्यक्रममा गढवा गाउँपालिका ३ नं. वडाध्यक्ष तुल्सीराम अधिकारी, वडा सदस्यहरू आशाराम चौधरी, बिमल चौधरी, आधारभूत स्वास्थ्य केन्द्र गोबरडिहाका प्रमुख कृष्ण प्रसाद भट्टराई, शिव कुमार यादव, जानकी रावत लगायतकाको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID