गढवामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघद्वारा विद्यार्थी तथा विद्यालयलाई सम्मान

आलोक भावुक

गढवा, २७ असार । गढवा गाउँपालिका स्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र उत्कृष्ट कार्यसम्पादन गर्ने सामुदायिक विद्यालयहरूलाई सम्मान गरेको छ।

बिहीबार गढवाको जनता माध्यमिक विद्यालयमा आयोजित सम्मान कार्यक्रममा महासंघ गढवाका अध्यक्ष दयाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष दयाराम यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन समितिको भूमिकालाई महत्वपूर्ण बताउँदै उत्कृष्ट कार्य गर्ने सबैलाई सम्मान गर्नु सकारात्मक अभ्यास भएको बताउनुभयो।

सम्मानित विद्यार्थीहरूमा जनता माध्यमिक विद्यालय गढवाकी निर्जला पुन (GPA 3.74), माध्यमिक विद्यालय पचहियाका आयुष चौधरी (GPA 3.60), मावि पचहियाका समिर बिक (GPA 3.54) र जनता मावि गढवाका सुदिप पुन (GPA 3.54) रहेका छन्। विद्यार्थीहरूलाई प्रशंसा-पत्र प्रदान गर्दै प्रेरणादायी विद्यार्थीका रूपमा सम्मान गरिएको हो।

त्यस्तै, शैक्षिक सत्र २०८१ मा एसइइ परीक्षामा राम्रो नतिजा दिन सफल भएका सामुदायिक विद्यालयहरूमध्ये गढवा–४ स्थित दिपेन्द्र होमजुन माध्यमिक विद्यालय, गढवा–५ स्थित माध्यमिक विद्यालय चैनपुर र गढवा–२ स्थित माध्यमिक विद्यालय पचहियालाई सम्मान गरिएको छ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि यम नारायण शर्मा पोख्रेलले सामुदायिक विद्यालयप्रति बढ्दो विश्वास र विश्वसनीयताको संकेतस्वरूप आएको उत्कृष्ट नतिजाले सम्पूर्ण गाउँपालिकाको शैक्षिक प्रतिष्ठा बढाएको बताउँदै विद्यालय व्यवस्थापन समितिले शिक्षा सुधारमा देखाएको प्रतिबद्धता सराहनीय रहेको उल्लेख गर्नु भयो । साथै अध्यक्ष पोख्रेलले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धा, अभिभावकमा गर्व, र विद्यालयमा उत्तरदायित्वको भावना थप बलियो बनाउने बताउनुभयो।

कार्यक्रम समापनमा सहभागीहरूबाट आगामी वर्षहरूमा अझ प्रभावकारी कार्ययोजना बनाइ उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID