गढवा गाउँपालिका बालश्रममुक्त घोषणा पूर्व सरोकारवालासँग समन्वय कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा,१७ असार। गढवा गाउँपालिकालाई बालश्रममुक्त तथा बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ सरोकारवाला निकायहरूसँग समन्वय, सहयोग तथा अभिमुखीकरण कार्यक्रम मंगलवार गढवामा सम्पन्न गरिएको छ।

गढवा गाउँपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गढवा होटलमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाभित्रका सरोकारवाला निकायहरू सक्रिय सहभागितासहित उपस्थित रहेको थियो।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गर्नुभएको थियो। उहाँले गढवा गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्नका लागि सबै सरोकारवालाको सहकार्य, प्रतिबद्धता र सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो। बालश्रमको जोखिम रहेका अटो वर्कसप, क्रेसर उद्योग, मोटरसाइकल ग्यारेज, बहस व्यवसाय, कृषिजन्य कामलगायत क्षेत्रमा बालबालिकाको श्रम प्रयोग भइरहन सक्ने सम्भावना रहेको भन्दै उहाँले बालमैत्री वातावरण निर्माण गर्न एकीकृत प्रयासको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा गढवा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, संघसंस्थाका प्रतिनिधि, प्रहरी प्रशासन, नागरिक समाज, ट्याक्टर व्यवसायी, कृषक व्यवसायी, अटो व्यवसायी, मोटरसाइकल ग्यारेज सञ्चालक, पत्रकार तथा बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

विद्यालय प्रतिनिधिको तर्फबाट जनता माध्यमिक विद्यालय कालाकाटेका प्रधानाध्यापक वासुदेव बेलबासेले बालश्रमको निवारणका लागि शिक्षा, अभिभावकको भूमिका र विद्यालयको उत्तरदायित्व महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो। त्यस्तै, गढवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश बसेलले बालश्रम अन्त्यका लागि निजी क्षेत्रले पनि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा वक्ताहरूले बालमैत्री समाज निर्माण, बालअधिकार संरक्षण र बालश्रम अन्त्यका लागि सबै सरोकारवाला निकायहरूबीच सशक्त सहकार्य हुनुपर्नेमा जोड दिएका थिए। सबै सहभागीहरूले गढवा गाउँपालिकालाई बालश्रममुक्त तथा बालमैत्री गाउँपालिका घोषणाका लागि आफूहरूको भरपुर साथ रहने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमको प्रशिक्षकमा बालमैत्री स्थानीय शासन कार्यक्रमका बिज्ञ बिकिरण गौतम रहनु भएको थियो।
गढवा गाउँपालिकाले पछिल्लो समय बालअधिकार, शिक्षा, स्वास्थ्य र संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ। आगामी दिनमा यसलाई अझ सुदृढ बनाउँदै गाउँपालिकालाई बालमैत्री र बालश्रममुक्त घोषणाका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले जानकारी दिनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID