
गढवा,१६ असार। लागू औषध दुरुपयोग एवं ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अभिभावक र विद्यार्थीसँग बालविवाह न्यूनीकरण लागू पदार्थ दुर्व्यसन र सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम जनता माध्यमिक विद्यालय गढवा १ कालाकाटेमा सोमबार सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै जनता माध्यमिक विद्यालय कालाकाटेका प्रधानाध्यापक वासुदेव बेलबासेले बालविवाह, लागूपदार्थको दुरुपयोग तथा सामाजिक सञ्जालको गलत प्रयोगले हालको पुस्ताको भविष्यमा गम्भीर असर पार्ने हुँदा यसतर्फ विद्यार्थी, अभिभावक र सम्पूर्ण समाज सचेत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले लागू औषध दुर्व्यसनले युवाहरूको शारीरिक, मानसिक र सामाजिक जीवन तहसनहस पार्ने खतरा रहेको उल्लेख गर्दै विद्यालय स्तरबाटै सचेतना फैलाउनु अत्यावश्यक रहेको र सोही अनुरुप विद्यालय अघि बढेको बताउनुभयो। बालविवाहजस्ता सामाजिक कुरीति अन्त्यका लागि परिवार, विद्यालय र समुदायको सहकार्य अपरिहार्य रहेको बताउँदै, सामाजिक सञ्जालको प्रयोग सकारात्मक दिशातर्फ मोडिनुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, गाउँपालिकाले यस्ता चेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिन अनुरोध समेत गर्नु भयो।
गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जनता माध्यमिक विद्यालय कालाकाटेमा अध्ययनरत छात्रछात्राहरू र अभिभावक सहितसँग बालविवाह न्यूनीकरण लागु पदार्थ दुर्व्यसन,सामाजिक सञ्जालको सुरक्षित प्रयोग लगायत विभिन्न विषयवस्तुको बारेमा सहजीकरण गरिएको थियो ।
प्रशिक्षकमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बम र बाल बिज्ञ बिकिरण गौतम रहनुभएको थियो।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बमले अभिभावक तथा विद्यार्थीहरूसँग लागू औषध र दुरुपयोग एवं ओसारपसार विरुद्ध संग सम्बन्धित प्रचलित कानुन सजाय र बच्ने उपायहरु लगायतको बारेमा छलफलको माध्यमबाट जानकारी दिनुभएको थियो।
त्यसैगरी कार्यक्रममा बाल बिज्ञ विकिरण गौतमले बालविवाह न्यूनीकरण लागू पदार्थ सामाजिक सञ्जालको सुरक्षित प्रयोगको बारेमा जानकारी दिनुभएको थियो। साथै सचेतनामूलक कार्यक्रममा सहभागीहरूको तर्फबाट उठेका प्रश्नहरूको जवाफ समेत दिनुभएको थियो।
कार्यक्रममा जनता माध्यमिक विद्यालय कालाकाटेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर महतरा, समितिका सदस्य केसरी कुमारी जैसी, सल्लाहकार हरि सुवेदी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष दिपेन्द्र बुढा,विद्यालयका प्रधानाध्यापक बासुदेव बेल्बासे, सहायक प्रधान अध्यापक प्रेम नारायण भुसाल, शिक्षक देवलाल यादव, सहायक लेखापाल सिद्धार्थ सुवेदी, विद्यार्थी सम्पदा कौशल, फोटो पत्रकार बालकृष्ण थापा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।





