देउखुरीले जन्माएकाे नेता दिनेश चौधरी: समस्याबाट नभाग्ने र कर्मबाट नथाक्ने लिडर

स्वर्गीय दिनेश चाैधरीकाे स्मृति दिवस

केशव सापकाेटा

स्वर्गीय मदन भण्डारीले नेपाली राजनीतिमा जुन उचाइ हासिल गरेका थिए त्यसैगरी सामाजिक र आर्थिक क्षेत्रमा उदाएका व्यक्तित्व थिए स्वर्गीय दिनेश कुमार चौधरी । पश्चिम नेपालको दाङमा जन्मिएर पूर्वको सुनसरीलाई कर्मथलो बनाएका चौधरी कुशल लिडर, सहकारी अभियान्ता, सामाजिक चेतनाको संवाहक थिए । स्वर्गीय दिनेश कुमार चौधरीको २०६४ साल असार १२ गते अर्थात आजभन्दा १५ वर्ष अगाडि सडक दुर्घटनामा अल्पायुमै निधन भएको थियो ।

आफ्ना बुबाको उपचार गरेर एम्बुलेन्समा दाङ घर फर्कने क्रममा अनियन्त्रित रुपमा आएको ट्रकको ठक्करबाट दुर्घटनामा उनीसँगै उनको बुबाको समेत निधन भएको थियो ।

बाल्यकाल तथा शैक्षिक अवस्था:

आमा महेश्वरी देवी चौधरीको कोखबाट २०२६ बैशाख २ गते दाङमा दिनेश चौधरीको जन्म भएको थियो । उनले कक्षा १ देखि कक्षा ३ सम्म सरस्वती माध्यामिक विद्यालय अध्ययन गरेका थिए । त्यसपछि वाल जनता माध्यामिक विद्यालय (हाल वाल जनता उच्च मा.वि, साबिक चैलाही गा.बि.स. हाल लमहीमा कक्षा ८ सम्म अध्ययन गरे । भने, कक्षा ९ देखि १० सम्म पद्म पब्लिक नमूना विद्यालय पाल्पा तानसेनमा अध्ययन गरे । एस.एल.सी. पछि उच्च शिक्षाको लागि काठमाडौं आए । स्वर्गीय चौधरीले कानुनमा स्नातक सम्मको अध्ययन गरेका छन् ।

फरवार्ड नेपालको जन्म

विद्यार्थी कालदेखि नै सामाजिक भावनाले ओतप्रोत भएका स्व. चौधरीले छोटो समयमा समाज, राष्ट्र र समुदाय प्रति गरेको काम अविष्मरणीय छ । ग्रामीण भेगका महिलालाई आर्थिक सशक्तिकरणमा जोड्न होस् वा थारू समुदायमा आर्थिक, सांस्कृतिक तथा सामाजिक चेतना प्रवाह गर्न उनले चालेको कदम अनुकरणीय रहेको उनका समकक्षीहरूको भनाई छ ।

‘समाजमा विद्यमान विभेदको अन्त्य गर्न आफ्नै घरबाट सुरुवात गर्नुपर्छ’ भन्ने मूल मन्त्रका साथ युवावस्थामै समाज, राष्ट्रप्रति चिन्तनशील स्व. चौधरीको सुनसरी दुहबीकी भगबती चौधरीसँग २०५१ सालमा विवाह भएको थियो । विवाह पश्चात पितापुर्खाको विरासत छाडेर आफ्नै खुट्टामा उभिने अभिप्रायका साथ दिनेश चौधरीले आफ्नो कर्मथलो सुनसरीलाई बनाउनु नै एउटा ठूलो परिवर्तनको थालनी थियो ।

उनले सुनसरीको दुहबी आएर ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) स्थापना गर्दै तराई मधेशमा ब्याप्त सामाजिक, आर्थिक तथा लैङ्गिक विभेद अन्त्यका लागि शिक्षा, स्वास्थ्य र सचेतनाका क्षेत्रमा काम गरे । महिला सशक्तिकरणको अभियान चलाउँदै समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद विरुद्ध दुहवीबाट सुरु गरेको आर्थिक अभियान अहिले उनकी श्रीमती सांसद माननीय भगबती चौधरीको नेतृत्व र व्यवस्थापनमा देशव्यापी बन्न सफल भएको छ । अहिले फरवार्ड नेपाल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था, फरवार्ड बचत तथा ऋण सहकारी संस्था, फरवार्ड इन्टरप्राइजेज जस्ता संस्थाहरुले स्व. चौधरीको समाज सेवा र राष्ट्र सेवाको अभियानलाई जिवन्त बनाइरहेका छन् ।

परिवर्तनको थालनी घरबाटै

स्व. चौधरीको मार्गदर्शन र सपनालाई साकार पार्न अहोरात्र खटिरहेकी श्रीमती भगवती चौधरीको कुशल नेतृत्वले लाखौं नेपाली महिलाहरूलाई स्वावलम्बनको पथमा डाेहोर्याएको छ । हजारौं महिला स्वरोजगार भएका छन् । आत्मनिर्भर भएका छन् । घुम्टो उठाएर चुल्हो चौकाबाट बाहिरिएका छन् । सामाजिक कूसंस्कार विरुद्ध मोर्चाबन्दी भएका छन् ।

आज तिनै सामाजिक अभियन्ता, परिवर्तनका संवाहक, समाज र राष्ट्र निर्माणका कुशल नेतृत्वकर्ताको स्मृति दिवस हो । सादा जीवन उच्च विचारबाट प्रेरित स्व. दिनेश चौधरीको व्यक्तित्व अहिलेको परिवेशमा मुलुकका लागि अपरिहार्य थियो । तर, व्यक्ति भन्दापनि परिवार, समाजलाई प्राथमिकतामा राखेर अहोरात्र खटिने चौधरीले धेरै बाँच्न पाएनन् । यदि अहिलेसम्म दिनेश चौधरी रहेका भए नेपालको ग्रामीण अर्थतन्त्र र महिला सशक्तीकरण तर्फ क्रान्ति नै भइसक्थ्यो ।

१४ वर्षसम्म श्रीमानको प्रेरणा, सामिप्यमा र साथ पाएकी महिला नेतृ चौधरीको नजरमा उनको व्यक्तित्वबाट प्रभावित नहुने कोही थिएनन् । ‘दिनेशजी कुशल लिडर हुनुहुन्थ्यो, सफल व्यवस्थापक, सहकारी अभियान्ता, कुशल ट्रेनर हुनुहुन्थ्यो । १४ वर्ष बिताउँदा मैले सायदै रिसाएको वा अरुलाई दुखः हुने कार्य गरेको पाइन ।’ प्रतिनिध सभा सदस्य समेत रहेकी महिला नेतृ चौधरी विगतलाई स्मृतिमा ल्याउँदै भन्छिन् ।

२०५०, ०५५ सालतिर नेपाली समाजमा महिलालाई घरको चौकोसबाट बाहिर निस्कने अधिकार थिएन । घर परिवारको हरेक निर्णयमा पुरुषको अधिकार चल्थ्यो । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट महिलाहरू बञ्चित थिए । यस्तोमा दिनेश चौधरीले नै गाउँगाउँमा गएर महिलालाई सङ्गठित गर्दै विभेद विरुद्ध मोर्चाबन्दी गरेका हुन् । महिलालाई अवसर दियो भने जे पनि गर्न सक्छन् भन्ने उदाहरण देखाउन दिनेश चौधरीले आफ्नै घरबाट श्रीगणेश गरेका थिए ।

श्रीमती भगबती चौधरीलाई अगाडि लगाएर विभेद विरुद्ध उनले काम गरे । घरको चुल्हो चौकादेखि बाहिर निस्कन दिनेश चौधरीले नै भगवती चौधरीलाई हौसला दिएका थिए । ‘एकात्मक सामाजिक तथा परम्परागत सांस्कृतिक रुढीवादी संस्कारबाट ग्रसित समाजका विरुद्ध संघर्ष गर्न घरबाट बाहिर निस्कन मलाई उहाँले नै ‘तिमीमा क्षमता, आँट, साहस छ, त्यसलाई समाज परिवर्तन र महिला मुक्तिका खातिर प्रयोग गर । तिमीले यो देश र यहाँका तमाम शोषित पीडित महिलाका लागि गर्न सक्छौँ ।’ भन्नु भएको थियो ।’ पूर्वमन्त्री समेत रहिसकेकी नेतृ चौधरी भन्छिन् ।

तराईमा व्याप्त आर्थिक, सांस्कृतिक, सामाजिक कुसंस्कार र महिला माथिको हिँसा अन्त्य गर्न तथा आर्थिक अधिकार प्राप्तिका लागि दिनेश चौधरीको भूमिका महत्वपूर्ण छ । त्यसो त ०५१ सालमा दिनेश र भगवती चौधरीको बैबाहिक सम्बन्ध पनि एक प्रकारको सामाजिक सांस्कृतिक क्रान्ति नै थियो ।

समस्याबाट नभाग्ने लिडर

‘उहाँमा समाजसेवाको भोक थियो । सम्पन्न शिक्षित परिवारको भएपनि दिनदुःखी र कमजोर आर्थिक अवस्था भएकालाई सहयोग गर्नुपर्छ भन्ने सोच थियो ।’ कमैया प्रथा विरुद्ध दिनेश चौधरीसँगै बेस नामक संस्थामा रहेर काम गरेका नहकुल केसी भन्छन् ।

दिनेश चौधरी आफ्नो जातीय कला संस्कृतिको प्रवर्द्धन र संरक्षणमा पनि उत्तिकै सक्रिय थिए । दाङबाट सुनसरी आएर चेतना अभिवृद्धि केन्द्र नामक संस्थामा रहेर काम गरे । थारू समुदायको उत्थानका लागि थारू सांस्कृतिक समाजको केन्द्रिय अध्यक्ष, थारू समाज केन्द्र दाङ काठमाडौंको कोषाध्यक्ष भए । उनले ०४९ सालमै थारू सांस्कृतिक समाज गठन गरेका थिए । २०५० सालमा चितवनमा देशभरका थारू युवाहरूको मिलन समारोह गराए । त्यहि वर्ष सप्तरीमा थारू सांस्कृतिक महासम्मेलन उनकै अग्रसरतामा भयो । ‘मुलुकको विकास कसरी गर्नुपर्छ, कुन क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्नेमा उहाँको ध्यान हुन्थ्यो । जस्तोसुकै समस्या आइपर्दा पनि त्यसबाट भाग्ने भन्दा पनि कसरी हल गर्न सकिन्छ भन्नेमा उहाँको ध्यान केन्द्रित हुन्थ्यो ।’ नेतृ चौधरी नोस्टाल्जिक हुँदै भन्छिन् ।

भनिन्छ समाजसेवा गर्नेले घरपरिवार हेर्न सक्दैनन् तर, दिनेश चौधरीमा यो भनाई पटक्कै लागू भएन । सामाजिक क्षेत्रसँगै उनी पारिवारिक काम र जिम्मेवारी प्रति उत्तिकै जिम्मेवार थिए । घरपरिवार प्रतिको दायित्वमा कहिल्यै पछि हटेनन् । एउटा असल छोरा, असल श्रीमानसँगै असल पिताको भूमिकामा उनी सदैव इमानदार भए ।

सधैँ हाँसेर मात्र बोल्ने उनी कसैसँग बैरभाव राख्दैनथे । आफ्नै प्रतिस्पर्धीले कुरा काटिरहेको, विरोध गरेको देख्दा पनि रिस पाेख्दैनथे । फरवार्ड नेपाल स्थापनाका सुरुवाती अवस्थामा कर्मचारीलाई सामान्य तलब दिन पनि धौधौ थियो तर, दिनेश चौधरीको शालीनता, भद्रताबाट प्रभावित कर्मचारीहरूले सामान्य खाजाको भरमा महिनौँ काम गरेका थिए ।

आज भगबती चौधरीले सामाजिक, आर्थिक तथा राजनीतिक रुपमा जुन स्थान हासिल गरेकी छिन् त्यसमा दिनेश चौधरीको प्रेरणाको पनि ठूलो भूमिका छ । सामाजिक विकृति विसंगतिलाई चिर्दै एउटी महिलालाई घरदेखि बाहिर ल्याउने हिम्मत दिनेश चौधरीले नगरेको भए आज भगबती तीन लाख महिलाहरुलाई साथ लिएर समाज परिवर्तन, राष्ट्रनिर्माणको अभियानमा जुट्ने थिइनन् की !

‘उहाँ कामप्रति यत्ति लगनशील हुनुहुन्थ्यो कि, कहिले काँही एउटै काममा दुई चार दीनसम्म कोहिसँग नबोली काम गर्न सक्नुहुन्थ्यो । मलाई पनि हरदम यस्तै गर्न अभिप्रेरित गर्नुहुन्थ्यो । आफ्नो लागि त सबैले गर्छन्, तर अरुको लागि गर्नु र बाँच्नु जिवनको साँचो अर्थ हो ।’ उहाँले भनेको यी विचार मेरा लागि अहिले पथप्रर्दशक भएका छन् ।’ पूर्वमन्त्री समेत रहिसकेकी सांसद चौधरी भन्छिन् ।

कर्ममा विस्वास गर्ने योद्धा

उदयपुर त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी पनि दिनेश चौधरीलाई सामाजीक अभियन्ता र थारू समुदायलाई अगाडि बढाउनुपर्छ भन्ने सकारात्मक सोच भएको युवाका रुपमा लिन्छन् । ‘बिकृती बिंसंगती कुरीतीलाई हटाउनुपर्छ भन्ने भावना बोकेको योद्धा हुनुहुन्थ्यो । थारू समुदाय पहिल्यैदेखि आर्थिक रुपमा कमजोर थिए । उनीहरुको आर्थिक अवस्था उकास्नको लागि कृषि, व्यवसाय तथा सहकारीमा आवद्ध हुनुपर्छ भन्नु हुन्थ्यो ।’

आर्थिक समृद्धिको लागि तल्लो तहका जनताको बिकास गर्नुपर्छ भन्ने दिनेश चौधरीको सोचले महिलाहरुको क्षेत्रमा ठुलो क्रान्ती ल्याएको उनको भनाई छ । ‘उहाँ पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म घुम्नुभयो । सादगी हुनुहुन्थ्यो । उहाँ प्रचारमा भन्दा काममा विश्वास गर्नुहुन्थ्यो ।’ मेयर चौधरी भन्छन् ।

साधारण भेषमा असाधारण व्यक्तित्व

पूर्वमन्त्री रामजनम चौधरी दिनेश चौधरीलाई दासताको जिवन रुपान्तरण गर्ने युवाका रुपमा सम्झन्छन् । उनमा काम गर्ने जोश जाँगर रहेको स्मरण गर्दै चौधरीले गरीबी दासता जीवनमा रहेका थारुलाई रुपान्तरण गर्नुपर्छ भन्ने दिनेश चौधरीको सोचले नै परिवर्तन ल्याएको बताउँछन् । ‘पहिला थारू समुदायका बालबालिका कमलरी बस्थे । तिनीहरुलाई शिक्षाको पहुँचमा पुर्याउने उहाँको अभियान थियो । उहाँकै अभियान पछि धेरै थारू विद्यार्थी विद्यालय पुगे । वर्षौंदेखि मालिकको घरमा बस्दै आएका कमैयाहरु मुक्त भए ।’ चौधरी भन्छन् । रामजनमको नजरमा दिनेश चौधरी साधारण देखिने असाधारण व्यक्ति थिए । ‘जोसँग पनि घुलमिल हुने, सानादेखि ठूलासम्मलाई रिजाएर राख्न सक्ने उहाँसँग असाधारण खुवी थियो ।’

दिनेश चौधरी कस्ता व्यक्तित्व थिए घरपरिवारका लागि भन्दा बाहिरका लागि कहाँ थाहा होला र । भाई करन चौधरीका नजरमा उनी लगनशील, कर्मशील थिए । ‘हाम्रो घर दाङ्ग भएपनि दाजुले सुनसरीलाई कर्मथलो बनाउनु भएको थियो । सामाजिक क्षेत्रमा अविछिन्न लाग्ने दाई र भाउजु मिलेर फरवार्ड नेपाल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था खोल्नु भएको थियो । उहाँहरुको मेहनत परीश्रम र धैर्यताले संस्थालाई नयाँ उचाईमा पुर्याउनु भएको थियो ।’ करण चौधरी भन्छन् ।

दिनेश चौधरीमा सकारात्मक सोच, सामाजिक कामप्रति लगाव भएको, संस्थागत बिकास गर्नुपर्छ भन्ने दुरदर्शी सोच थियो । ‘सबैसँग मित्रवत ब्यवहार गर्ने उहाँ कहिल्यै रिसाएको याद छैन मलाई । उहाँको नेतृत्वमा संस्थामा काम गर्दा मैले संघर्ष के हो, सुखदुखमा कसरी सरल र सहज जिवन बनाउने भन्ने जीवन उपयोगी ज्ञान तथा संस्थागत बिकास सम्बन्धी धेरै कुरा सिक्न पाएको थिए ।’ भाई करण चौधरी सम्झन्छन् ।

शान्त र कर्मशील बुबा

छोरा द्रव्यराज चौधरीले बुबासँग धेरै समय व्यतीत गर्न पाएनन् तर, उनी आफ्ना बुबालाई आदर्श व्यक्तिका रुपमा लिन्छन् । उनी ६ वर्षको उमेरदेखि नै दार्जिलिङमा बसेर पढे । हरेक वर्ष ३ महिने बिदामा घर आउँथे । त्यतिबेला हो उनले बुबासँग सामिप्यता पाएको । ‘म वर्षको एक दुईपल्ट घर आउँदा उहाँसँग हाँस्न खेल्न पाउँथे, बुबा आफ्नो कामप्रति इमानदार हुनुहुन्थ्यो । लगनशील हुनुहुन्थ्यो ।’ उनी भन्छन् ।

द्रव्यराजले १० वर्षको उमेरमै बुबा गुमाए । बुबासँगको यादहरू धेरै नभएपनि केही यादहरू उनको जीवनमा कहिल्यै नमेटिने गरेर बसेका छन् । ‘बाबा साना–साना कुरामा खुसी हुनुहुन्थ्यो । सधैँ हौसला दिनु्हुन्थ्यो’ उनी सम्झन्छन् । द्रव्यराजलाई बुबा रिसाएको, गाली गरेको थाहा छैन । ‘मलाई सधैँ आफ्नो मनले चाहेको काम गर्नुपर्छ, जुनै क्षेत्रमा मन लगाएर मेहनत गरे सफलता पाइन्छ भन्नुहुन्थ्यो । बुबाको सबैभन्दा ठूलो कुरा भनेको सकारात्मक सोच थियो । उहाँका अगाडि जस्तै रिसाहा मान्छे आएपनि उहाँ हासे पछि शान्त हुन्थ्यो ।’ द्रव्यराज बुबालाई सम्झँदै नोस्टाल्जिक हुन्छन् ।

सामाजिक मुद्दामा कहिल्यै नथाक्ने युवा

अधिवक्ता विनोद कुमार चौधरी दिनेश चौधरीलाई समाज परिवर्तनका संवाहकका रुपमा लिन्छन् । दिनेश कुमार चौधरी सामाजिक अगुवाका रुपमा समाजको परिवर्तन तथा सामाजिक सुधारका कार्यमा सदैव सकृय सामाजिक व्यक्तित्व रहेको उनको भनाई छ । ‘समाजका पिछडिएका वर्ग, समुदाय तथा जातजातिको आर्थिक सुधारसँगै सामाजिक विकृतिका विरुद्ध संघर्ष गर्दै आफ्ना आवाजलाई बुलन्द गर्नु हुन्थ्यो । समाजको सामूहिक हितका लागि निडर भएर आफ्ना बिचारहरू उच्च तहका सरोकारवालाहरूको माझ राख्नु हुन्थ्यो ।’ स्वर्गीय दिनेश चौधरीले सामाजिक सुधार तथा सामाजिक मुद्दामा काम गर्दा कहिल्यै थकाई महसुस नगरेको उनको भनाई छ ।

सीप तथा दक्षता अभावका कारण बेरोजगार भई सदियौँ देखि गरिबीको रेखा मुनी रहेर पिल्सिएका मानिसलाई सीप दिलाइ रोजगार बनाउने काममा उनको विशेष योगदान छ । दिनेश चौधरी दक्ष प्रशासक, कुशल सहजकर्ता, सामाजिक अभियान्ता, दूरद्रष्टा तथा मेहनती युवा थिए ।

असल छोरा, असल श्रीमान, असल लिडर

‘उहाँमा कहिल्यै “प्रशासक हुँ” भन्ने घमण्ड थिएन । असल सहकारी अभियन्ता, कुशल सहजकर्ता तथा दूरद्रष्टा हुनुहुन्थ्यो ।’ उनी भन्छन्–‘दिनेश सरको अकल्पनीय निधनबाट उहाँका परिवारले असल पुत्र, असल पति, असल पिता, असल भाइ, असल दाजु गुमाउनु त पर्यो नै, समाजले पनि असल समाजसेवी, असल सहकारी अभियन्ता, असल प्रशासक गुमाउनु पर्याे ।’

दिनेश कुमार चौधरीको अकल्पनीय निधनले थारू समुदायलाई मात्र हैन समग्र देशलाई नै क्षति पुगेको छ । खासगरी महिला सशक्तीकरण, लघुवित्त क्षेत्रका लागि काम गर्न दिनेश चौधरीसँग ठोस योजना थिए । सपना थिए । उनको असामयिक निधनले ती योजना र सपनाहरू तिल्मिलाए ।

फरवार्ड नेपालमार्फत देशभरका महिलालाई सङ्गठित गर्दै समाजमा व्याप्त विक्रिति विसंगति विरुद्ध आवाज उठाउने स्वर्गीय दिनेश चौधरीको योजना उनकी धर्मपत्नी भगबती चौधरीले पुरा गर्दै आएपनि चुनौतीहरू धेरै छन् । ‘सायद उहाँ भइदिएको भए उहाँको योजना, सपना अझ फराकिलो र बलियो हुन्थ्यो, उहाँको अभाव फिल भइरहन्छ । तथापि, कर्म गर्नुछ । उहाँले फरवार्डलाई देशव्यापी बनाउनु पर्छ भन्नु भएको थियो, म त्यसैमा लागेकी छु ।’ चौधरी भन्छिन् ।

आज हामीसँग दिनेश कुमार चौधरीको पार्थिव शरीर त छैन तर, उनले बिजारोपण गरेको आर्थिक सशक्तिकरणको अभियान, समाज परिवर्तनको अभियान फरवार्ड नेपाल मार्फत जीवन्त छ । दिनेशकी धर्मपत्नी भगबती चौधरीले फरवार्ड नेपाल, फरवार्ड माइक्रोफाइनान्स, दिनेश चौधरी स्मृति प्रतिष्ठान, दिनेश चाैधरी आधारभूत विद्यालय मार्फत अहिले गाउँगाउँमा महिला सशक्तिकरणको, सामाजिक विभेद, आर्थिक सशक्तिकरणको अभियान र विद्यालय सम्म नपुगेका बालबालिकालाई शिक्षाकाे ज्याेति प्रदान गर्न निरन्तरता दिइरहेकी छन् । उनका काम र सोचलाई पूर्णता दिइरहेकी छन् ।

यतिबेला मुलुकमा असल प्रशासक, असल नेतृत्वकर्ता र असल मार्गदर्शकको खाँचो छ । जनता आर्थिक, सामाजिक, राजनीतिक विकास माग्दैछन् । तर, हाम्रा प्रशासक सत्ताको खिँचातानीमा रुमलिएका छन् । भ्रष्टाचारको दलदलमा भासिएका छन् । मदन भण्डारीले मुलुकको विकासका निम्ति जनताको बहुदलीय जनवाद मार्फत समाजवादको परिकल्पना गरे । दिनेश चौधरीले ग्रामीण आर्थिक सशक्तिकरणको माध्यमबाट समाज परिवर्तनको अभियान चलाए । तर, आज हाम्रा सामु राजनीतिमा मदन भण्डारी र आर्थिक सशक्तिकरणको अभियानमा दिनेश चौधरीको जस्तो लक्ष्य, उद्देश्य र सिद्धान्त भएको व्यक्तित्वको अभाव छ । देश बनाउने हुटहुटी पालेका कुशल लिडरको खाँचो छ ।

१८ औं स्मृति दिवसमा स्वर्गीय दिनेश चौधरी प्रति श्रद्धा सुमन !

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID