
गढवा, १२ असार। वर्षायाम सुरु भएसँगै खेतबारीमा व्यस्त हुन थालेका देउखुरी क्षेत्रका किसानहरू समयमै रासायनिक मल नपाउने समस्याले चिन्तित छन्। खेतमा रोपाइँको तयारी तीव्र रूपमा चलिरहेको भए पनि आवश्यक मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने किसानहरूको गुनासो छ।
गढवा गाउँपालिका, राप्ती गाउँपालिका, लमही नगरपालिका र राजपुर क्षेत्रका किसानहरूले वर्षे बाली रोपाइँको प्रमुख समयमै मागअनुसार मल आपूर्ति हुन नसकेको गुनासो सार्वजनिकरूपमा व्यक्त गरिरहेका छन्।
“खेत तयार पारेका छौं, तर मल बिना रोपाइँ गर्नु भनेको बीउ नबीझेरै खेती गर्नुजस्तै हो,” गढवा गाउँपालिका वडा नम्बर २ पचहियाका किसान राधेश्याम थारुकुमालले बताउनुभयो। रोपाईको समय छ,बत्ति डिम आउछ, पावर पुग्दैन मोटर सञ्चालन हुदैन र काटेको धानको बिउ समेत सुकेको छ-कुमालले भन्नु भयो।
कृषकहरूले युरिया, डीएपीजस्ता रासायनिक मल अभावका कारण धान रोपाइँको समयमै गम्भीर असर पर्ने खतरा त छदैछ अर्को बत्ति समयमा न्आउदा र पावर नपुग्दा थप समस्या परेको गढवा गाउँपालिका वडा नम्बर ६ का किसान देवराज यादवले बताउनुभयो।
यसैबीच, कृषि सामग्री कम्पनी लिमिटेड लमही शाखाले भने मलको सहज आपूर्तिका लागि पहल भइरहेको बताएको छ। शाखाका अनुसार निकट भविष्यमा मल आपूर्ति सहज बनाउने तयारी भइरहेको छ ।
यदि समयमै समाधान नभए यस वर्षको धान उत्पादनमा ठूलो गिरावट आउन सक्ने सम्भावना किसानहरूले व्यक्त गरेका छन्।





