
भालुवाङ, ५ असार — लोकतन्त्रको मेरुदण्ड मानिने संसद् जनप्रतिनिधिका आवाज बोकेको संस्था मात्र नभई जनताका आवश्यकता, सरोकार र सरकारका गतिविधि नियाल्ने प्रमुख थलो पनि हो। संसद्को यिनै गतिविधिलाई तथ्यपूर्ण ढंगले जनसमक्ष ल्याउने दायित्व पत्रकारको काँधमा हुन्छ।
तर संसदीय संरचना, नीति निर्माण प्रक्रिया र विधेयकमाथिको बहस बुझ्नुअघि गरिने रिपोर्टिङ अपुरो मात्र होइन, भ्रामक पनि हुन सक्छ। यही आवश्यकतालाई ध्यानमा राख्दै लुम्बिनी प्रदेशका पत्रकारहरू संसदीय पत्रकारितामा दक्ष बन्ने उद्देश्यले औपचारिक तालिममा सहभागी भएका छन्।
संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी प्रदेश सभा सचिवालयको आर्थिक सहयोगमा ‘संसदीय रिपोर्टिङ सम्बन्धी पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम’ सितगंगा नगरपालिका–८, सातमारा स्थित होटल इभरल्याण्डमा सुरु भएको हो।
बिहीबारदेखि सञ्चालनमा आएको दुईदिने तालिममा दाङ, बाँके, कपिलवस्तु लगायत जिल्लाबाट आएका ४० भन्दा बढी पत्रकारको सहभागिता रहेको छ। तालिममा संसदीय कार्यप्रणाली, बहसको स्वरूप, कानुनी प्रक्रिया र रिपोर्टिङका सूक्ष्म पक्षहरूमा प्रशिक्षण दिइँदैछ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीले गर्नु भएको थियो। उहांले संसदीय रिपोर्टिङ गहन अध्ययन, संवेदनशीलता र उत्तरदायित्वको विषय भएको उल्लेख गर्दै भन्नु भयो “संसद् जनताको आवाज उठ्ने नीतिगत थलो हो। त्यसलाई तथ्यगत र सुसंगत रूपमा विश्लेषण गर्ने पत्रकारको भूमिका विशेष महत्त्वपूर्ण हुन्छ।”
सभामुख घर्तीले संसदीय समाचार लेखनका पाँच प्रमुख पक्षहरूमा ध्यान दिनुपर्ने बताउदै विधेयकको प्रकृति, बहसको सार, प्रतिनिधिको भूमिका, प्रक्रियाको बुँदागत विश्लेषण, र लोकतान्त्रिक मूल्यको सम्मान।
समाजका अध्यक्ष घनश्याम गौतमले तालिमको उद्देश्य संसद्का विषयवस्तु बुझेर गहिरो रिपोर्टिङ गर्न सक्ने पत्रकार उत्पादन गर्नु रहेको बताउनुभयो। “संसद् बुझ्ने, सन्दर्भ जोड्ने र नीति विश्लेषण गर्न सक्ने पत्रकारहरू नै आजको आवश्यकता हुन्,” गौतमले भन्नु भयो।
कार्यक्रममा प्रदेश सभा सचिव दुर्लभ कुमार पुन, संसदीय मामिला पत्रकार समाजका केन्द्रीय अध्यक्ष मनोज सत्याल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, र पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले पनि संसदीय पत्रकारिताको अनुभव र आवश्यकता विषयमा आफ्ना धारणा राख्नु भएको थियो।
पत्रकार समाजका उपाध्यक्ष केपी घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव नारायण खड्काले गर्नुभएको थियो।





