
गढवा, ५ असार। गढवा गाउँपालिकाले पालिकाभरका ८४ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई लक्षित गरी घरमै पुगेर स्वास्थ्य परीक्षण तथा मह वितरण कार्यक्रम अन्तर्गत आज वडा नम्वर ५ का ८४ वर्ष माथीका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा मह बितरण कार्यक्रम सम्पन्न गरेको छ।
स्वास्थ्य संस्था पुग्न नसक्ने उमेर समूहका नागरिकलाई सेवा पहुँचमा ल्याउने उद्देश्यसहित गाउँपालिकाले आठवटै वडामा ‘घरदैलो स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालनमा ल्याएको हो।
उमेरले गम्भीर प्रभाव पारेका जेष्ठ नागरिकहरू स्वास्थ्य संस्थासम्म पुग्न सक्दैनन्। त्यसैले हामी आफैँ उहांहरूको घरमा पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण तथा पोषणका लागि मह प्रदान कार्यक्रम सञ्चालन गरिरहेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो।
गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापाका अनुसार, कार्यक्रममार्फत स्वास्थ्य परीक्षणका साथै नियमित औषधि सेवनबारे जानकारी दिइएको र पोषण सामग्री स्वरूप मह वितरण गरिएको छ। “उहाँहरूका घरमा पुगेर स्वास्थ्य अवस्थाबारे बुझ्न, परामर्श दिन र सेवा प्रदान गर्न पाउँदा पालिकाले वृद्ध नागरिकप्रति देखाएको जिम्मेवारी थप मजबुत भएको छ।”
गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भइरहेको उक्त कार्यक्रममा ८४ वर्षभन्दा माथिका १६७ जना जेष्ठ नागरिकहरू समेटिएका छन्। वडा नं. १ देखि ८ सम्मका नागरिकहरूलाई लक्षित गरिएको उक्त कार्यक्रममा वडा नं. १ मा १९ जना, वडा नं. २ मा २४ जना, वडा नं. ३ मा १५ जना, वडा नं. ४ मा २६ जना, वडा नं. ५ मा ३१ जना, वडा नं. ६ मा ३४ जना, वडा नं. ७ मा १६ जना र वडा नं. ८ मा २ जना रहेका छन्।
कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरी,५ नं.वडाध्यक्ष लेख बहादुर थापा,गगाप्रस्पुर स्वास्थ्य चौकीका प्रमुख ज्ञान कुमाल बसेल, गढवा गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द,महिला स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविकाको सहभागिता रहेको थियो।
गढवा गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गर्दै सामाजिक सुरक्षा मूलक सेवालाई घरदैलोमै विस्तार गर्दै स्थानीय तहबाटै सशक्त सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।





