
गढवा २९ जेठ। सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत आज बिहिवार गढवा गाउँपालिकामा सरोकारवालाहरु संग अन्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
गढवा गाउँपालिकाको आयोजनामा स्वदेशमा नै रोजगारी गरौ, बैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर र सिप सिकेर मात्र जाऔं भन्ने मुल नाराका साथ गढवा गढवा गाउँपालिकाको सभाहलमा सरोकारवालाहरु बिच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बैदेशिक रोजगार देशको सबै भन्दा ठुलो समस्या भएको बताउनुभयो। बैदेशिक रोजगार सबैभन्दा बढी सुरक्षित मर्यादित बनाउन स्थानीय स्तरबाट हर सम्भव प्रयास भैरहेको समेत बताउनुभयो। बैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तब्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान गर्ने, बैदेशिक रोजगारीमा सम्बद्ध निकायहरुको क्षमता अभिबृद्धि गरी बैदेशिक रोजगारलाई थप उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सामी कार्यक्रमका लागि गढवा गाउँपालिका बजेट बिनियोजन गर्दै कार्यक्रम सञ्चालन गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो।
अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकी जिल्ला संयोजक बसन्ता पुनले विभिन्न देशमा बैदेशीक राेजगारकाे अवस्था, एजेन्टबाट ठगीएका नेपालीको सख्या, समस्या समाधनका वारे वैदेशिक रोजगारमा गई मृत्यु तथा अंगभग हुनेको सख्या , वैदेशिक रोजगारबाट वार्षिक रेमिटान्स ,आप्रवासी स्रोत केन्द्रको सेवाग्रहीको विवरण ,श्रम स्वीकृत लिएका व्यक्ती विवरण , वैदेशिक रोजगारलाई सुरक्षित एवम् व्यवस्थित बनाउने, बैदेशिक रोजगार लाई प्रभाव पार्ने मुख्य तत्वहरु, श्रम स्वीकृती लिनेको बिबरण, वैदेशिक रोजगारको परिवेश, सामी कार्यक्रमको मुख्य सेवाहरु, श्रम स्वीकृती गर्नुको फाईदा बेफाईदा, लगाएतको बारेमा बृहतरुपमा छलफल गरी जानकारी गराउनु भएको थियो।
आर्थिक वर्ष २०८०/०८१ मा श्रम स्वीकृती लिनेको संख्या ७ लाख ४१ हजार २ सय ९७ रहेको तथ्याङ्क छ जसमा ८९.१२ प्रतिशत पुरुष र अन्य महिला रहेका छन्। आर्थिक वर्ष २०८१/०८२ बैशाख मसान्तसम्म श्रम स्वीकृती लिनेको संख्या ६ लाख ८५ हजार ९ सय २४ रहेको छ जसमा ७७ हजार ९९ जना अर्थात् ११ प्रतिशत महिला रहेका छन्। श्रम स्वीकृती लिने मा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देही जिल्लाका छन् भने सबै भन्दा कम रुकुम पुर्वको रहेका छन भने दाङ दोस्रो नम्बरमा रहेको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, ईप्रका गढवाका प्रहरी नायब निरीक्षक दामोदर डांगी, न्यायिक समितिका सदस्य रेखा कुमारी थापा, रोजगार शाखाका प्रमुख अशाेक कुमार यादव, स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरी, मनोपरामर्शकर्ता आकार ज्ञवाली, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द लगायतका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।
सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।
अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नुभएको थियो





