गढवा गाउँपालिकाद्वारा ८४ वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

आलोक भावुक

गढवा, १६ जेठ। गढवा गाउँपालिकाले पालिकाभरका ८४ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई लक्षित गरी घरमै पुगेर स्वास्थ्य परीक्षण तथा मह वितरण कार्य सुरु गरेको छ।

स्वास्थ्य संस्था पुग्न नसक्ने उमेर समूहका नागरिकलाई सेवा पहुँचमा ल्याउने उद्देश्यसहित गाउँपालिकाले आठवटै वडामा ‘घरदैलो स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालनमा ल्याएको हो।

गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलका अनुसार सामाजिक उत्तरदायित्व तथा मानव सेवाको भावनाका साथ कार्यक्रम सुरु गरिएको हो। उहाँले भन्नु भयो, “उमेरले गम्भीर प्रभाव पारेका जेष्ठ नागरिकहरू स्वास्थ्य संस्थासम्म पुग्न सक्दैनन्। त्यसैले हामी आफैँ उहांहरूको घरमा पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण तथा पोषणका लागि मह प्रदान गरिरहेका छौँ।” अध्यक्ष पोख्रेलले जेष्ठ नागरिकहरूलाई समाजको मेरुदण्डको संज्ञा दिँदै उहाँहरूको स्वास्थ्य सुरक्षामा स्थानीय सरकार/पालिकामा गम्भीर रहेको बताउनुभयो।

गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भइरहेको उक्त कार्यक्रममा ८४ वर्षभन्दा माथिका १६७ जना जेष्ठ नागरिकहरू समेटिएका छन्। वडा नं. १ देखि ८ सम्मका नागरिकहरूलाई लक्षित गरिएको उक्त कार्यक्रममा वडा नं. १ मा १९ जना, वडा नं. २ मा २४ जना, वडा नं. ३ मा १५ जना, वडा नं. ४ मा २६ जना, वडा नं. ५ मा ३१ जना, वडा नं. ६ मा ३४ जना, वडा नं. ७ मा १६ जना र वडा नं. ८ मा २ जना रहेका छन्।

कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेल सहित वडा नं. ३ का वडाध्यक्ष तुल्सीराम अधिकारी, कार्यपालिका सदस्य चन्द्रा केसी, आधारभूत स्वास्थ्य चौकी गोबरडिहाका प्रमुख कृष्ण प्रसाद भट्टराई, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द लगायतको टोलीले शुक्रबार वडा नम्बर ३का विभिन्न गाउमा पुगी ८४+ उमेर समुहका जेष्ठ नागरिकहरुलाई भेटघाट गरि स्वास्थ्य चेकजाँच तथा मह बितरण गरिएको हो।

गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रेरणा चन्दका अनुसार, कार्यक्रममार्फत स्वास्थ्य परीक्षणका साथै नियमित औषधि सेवनबारे जानकारी दिइएको र पोषण सामग्री स्वरूप मह वितरण गरिएको छ। “उहाँहरूका घरमा पुगेर स्वास्थ्य अवस्थाबारे बुझ्न, परामर्श दिन र सेवा प्रदान गर्न पाउँदा पालिकाले वृद्ध नागरिकप्रति देखाएको जिम्मेवारी थप मजबुत भएको छ।”

गढवा गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गर्दै सामाजिक सुरक्षा मूलक सेवालाई घरदैलोमै विस्तार गर्दै स्थानीय तहबाटै सशक्त सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID