विद्यार्थी राजनीतिमा उदाउँदै गरेकी सुष्मा शाही : नेतृत्वका लागि तयारीमा

सविन प्रियासन

काठमाडौं । दाङको लमही नगरपालिका निवासी सुष्मा शाही आजका दिनमा काठमाडौं उपत्यकाको विद्यार्थी राजनीति र सामाजिक अभियन्ता वृत्तमा परिचित नाम बनिसकेकी छन् । विद्यार्थी जीवनको सुरुआतदेखि नै सामाजिक कार्यमा अग्रसर रहेकी सुष्माले पाटन संयुक्त क्याम्पस, पाटन ढोकामा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुको तर्फबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।

सामाजिक उत्तरदायित्वप्रति दृढ विश्वास राख्ने सुष्मा विगतका दिनमा दाङ र काठमाडौं–ललितपुर क्षेत्रमा युवाहरूलाई सचेत गराउने अभियानहरूमा नेतृत्वदायी भूमिकामा देखिएकी छिन् । बाल्यकालदेखि नै नेतृत्वको सौख भएकी सुष्माले विद्यालयस्तरमा विभिन्न क्लबहरू संचालन गरिन्, जसले उनलाई विद्यार्थी राजनीतिमा प्रवेश गराउने बाटो खोलेको थियो ।

सुष्माले स्नातक तहको अध्ययनका क्रममा पाटन संयुक्त क्याम्पसमा भर्ना भएपछि अनेरास्ववियुमा आबद्ध भइन् । संगठनमा आवद्धता मात्र होइन, उनले विभिन्न समयमा क्याम्पसभित्र भएका विद्यार्थी समस्याका मुद्दाहरू उठाउँदै समाधानसम्म पु¥याउने काम गरिन् । चाहे क्याम्पसमा शैक्षिक शुल्क वृद्धिको विरोध होस् वा छात्रवृत्ति वितरणको सवाल, सुष्मा सधैं विद्यार्थीका पक्षमा डटेर उभिएकी छन् ।

हालै सम्पन्न क्याम्पसस्तरीय पुस्तकालय सुधार अभियानमा पनि सुष्माको सक्रिय सहभागिता रह्यो । ‘हामीले पठनपाठनको गुणस्तर सुधार नगरी विद्यार्थीको समग्र विकास सम्भव छैन’ सुष्मा भन्छिन् । यही सोचका साथ उनले क्याम्पसमा अध्ययन सहजीकरण कार्यक्रम सञ्चालन गरिन्, जसमा सयौं विद्यार्थी लाभान्वित भए ।

राजनीतिमा विश्वासको विषयमा सुष्मा भन्छिन्, ‘विद्यार्थी राजनीति मात्र नाराबाजी र प्रदर्शनसम्म सीमित हुनुहुँदैन, यो शिक्षालयको विकास र विद्यार्थीका समस्या समाधान गर्ने केन्द्र बन्नुपर्छ ।’

स्ववियुको कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि सुष्माले आगामी योजना सार्वजनिक गरेकी छन् । उनी क्याम्पसमा पारदर्शी आर्थिक प्रणाली स्थापना गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कोषलाई विस्तार गर्ने र पठनसामग्री पहुँचमा सहजता ल्याउने प्रतिवद्धता जनाउँछिन् ।

उनको उम्मेदवारीलाई क्याम्पसभित्र व्यापक समर्थन प्राप्त भइरहेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष अमन थापाले सुष्मालाई ‘निष्ठावान र कर्मशील कार्यकर्ता’ भन्दै उनको उम्मेदवारीले संगठन र विद्यार्थी दुबै पक्षलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी, क्याम्पसकी अर्की विद्यार्थी सिर्जना खड्काले भन्छिन्, ‘सुष्मा दीदी हाम्रो आवाज सुनिदिने नेत्री हुन् । उनले हामी गरिब विद्यार्थीहरूका लागि आवाज उठाउँदै आएकी छिन् ।’

सुष्माको राजनीतिक यात्राले विद्यार्थी मात्र होइन, आम युवाहरूमा पनि सक्रिय सहभागिता र नेतृत्वप्रतिको प्रेरणा दिएको देखिन्छ । दाङ लमहीकी छोरी भएर काठमाडौंको प्रतिष्ठित शिक्षालयमा नेतृत्वमा पुग्नु आफैमा उदाहरणीय छ ।

यतिखेर पाटन संयुक्त क्याम्पसको स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थीहरू बीच उम्मेदवारको चर्चा चलिरहेको छ । शनिबार स्ववियु निर्वाचन हुँदैछ । निर्वाचनमा काम गर्नका लागि उमेदवार भएकाले सबै मतदाता विद्यार्थीहरुले भारी मतले आफुलाई बिजयी बनाउने विश्वास सुष्माको छ । सुष्मा शाही आफ्नो स्पष्ट कार्ययोजना र विगतका योगदानका कारण अन्य उम्मेदवारभन्दा फरक पहिचान बनाउन सफल देखिएकी छन् ।

‘विद्यार्थीका हकहितका लागि म सधैं अग्रसर रहनेछु,’ सुष्माको प्रतिवद्धता छ । उनले थपिन्, ‘हामीले शिक्षालयलाई केवल डिग्री प्रदान गर्ने संस्था होइन, सामाजिक रुपान्तरणको थलो बनाउनुपर्छ। त्यसका लागि विद्यार्थी एकताबद्ध हुनु आवश्यक छ ।’

सुष्मा शाहीको उम्मेदवारी केवल पदका लागि प्रतिस्पर्धा नभएर उनको लामो यात्राको स्वाभाविक विस्तार जस्तै देखिएको छ । विद्यार्थी राजनीति मार्फत सामाजिक परिवर्तनको सपना देख्ने युवाहरूका लागि उनी आज नेतृत्वको वैकल्पिक उदाहरण बनेकी छन् ।

मा प्रकाशित