
बके, २४ साउन। बाँकेमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। साथै उक्त बसले ठक्कर दिँदा १३ वटा खसी-बाख्रा समेत मरेका छन्।
बसको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयो।
घटना बिहीबार साँझ ५ बजेतिरको हो।
बाँकेको कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको स्कुल बसले ढकेरी पुल नजिकै बाख्रा गोठालालाई ठक्कर दिएको थियो। बसको ठक्करबाट १३ वटा खसी बाख्रा पनि मरेको एसपी कार्कीले बताउनुभयो । अन्य केही खसी बाख्रा भने घाइते छन्।
ठक्कर दिने बस कोहलपुर नगरपालिका–१२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कुलको भएको एसपी कार्कीले बताउनुभयो।
घटनापछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध पारेका छन्। पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरूद्ध पारेको हुँदा डाइभर्सन गरी सवारी चलाइएको एसपी कार्कीले बताउनुभयो।
‘स्थानीयहरूले बाटोमै शव राखेर सडक खण्ड अवरूद्ध पारेका छन्। बसका चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।







