पहल थिएटर र घोराही बनाऔँ अभियानद्वारा साउनभर एक हजारभन्दा बढी बिरुवा रोपिने

सविन प्रियासन

घोराही, दाङ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ घोराही निर्माण गर्ने उद्देश्यका साथ पहल थिएटर र घोराही बनाऔँ अभियान ले साउन महिनाभर सञ्चालन हुने वृक्षारोपण अभियानअन्तर्गत एक हजारभन्दा बढी बिरुवा रोप्ने भएका छन्। “रुख रोपौँ, जीवन जोडौँ” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको अभियानमा विभिन्न प्रजातिका फलफूल, जडीबुटी तथा काठजन्य बिरुवा रोपिने जनाइएको छ।

पहल थिएटरका सञ्चालक केएल बुढाथोकी का अनुसार साउन महिनाभर निरन्तर अभियानका रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ। उहाँले सामुदायिक वन, विद्यालय, विभिन्न संघसंस्था, मठ–मन्दिर, टोल विकास संस्था, खोला किनारा तथा सडक छेउका सार्वजनिक स्थानहरूमा बिरुवा रोप्ने योजना रहेको जानकारी दिनुभयो। वृक्षारोपणलाई एकदिने कार्यक्रममा सीमित नगरी निरन्तर जनसहभागितासहित सञ्चालन गरिने उहाँको भनाइ छ।

घोराही बनाऔँ अभियान का संयोजक सबिन प्रियासन ले वातावरणीय सन्तुलन कायम राख्न र भावी पुस्ताका लागि हरियाली संरक्षण गर्न वृक्षारोपण अभियानलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार स्थानीय आवश्यकता र भू–बनोटलाई ध्यानमा राख्दै फलफूल, जडीबुटी, काठजन्य तथा अन्य उपयोगी बिरुवाहरू रोपिनेछन्। रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत विशेष ध्यान दिइने उहाँले उल्लेख गर्नुभयो।

अभियानका लागि विभिन्न स्थानहरूको प्रारम्भिक छनोट भइसकेको जनाइएको छ। यद्यपि विद्यालय, सामुदायिक वन, संघसंस्था वा अन्य सार्वजनिक स्थलमा वृक्षारोपण गर्न इच्छुक संस्थाले पहल थिएटर वा घोराही बनाऔँ अभियानसँग सम्पर्क गर्न सक्ने आयोजकले अनुरोध गरेका छन्। अभियानमा स्थानीय नागरिक, युवायुवती, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार प्रारम्भिक लक्ष्य एक हजारभन्दा बढी बिरुवा रोप्ने भए पनि अभियानमा समुदायको उत्साहजनक सहभागिता भए यो संख्या अझ बढ्न सक्ने विश्वास गरिएको छ। वृक्षारोपणसँगै वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने, हरित क्षेत्र विस्तार गर्ने तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्य पनि अभियानले लिएको छ।

पहल थिएटर र घोराही बनाऔँ अभियानले सबै सरोकारवाला निकाय तथा नागरिकलाई वृक्षारोपण अभियानमा सहभागी भई हराभरा, स्वच्छ र वातावरणमैत्री घोराही निर्माणमा हातेमालो गर्न आग्रह गरेका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID