
गढवा, २६ कात्तिक। गढवा गाउँपालिकाका किसानहरुले एक हातले धान बिक्री गरेर अर्को हातले तुरुन्तै लाखौँको चेक पाउदा खुसीले गदगद भएका छन्। गढवा गाउँपालिकाले नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङ संग सम्झौता गरेर गढवाका कृषकहरुले उत्पादन गरेका धान सरकारी दररेटमा किनिदिने बारे सम्झौता गरेपछी गढवाका किसानहरुले उचित मुल्य पाएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।
कृषकहरुले पसिना बगाएर उत्पादन गरेको धानबाली लोकल ब्यापारी हरुले घरघरमा पुगेर सस्तोदरमा किन्ने र कृषकहरुले लागत समेत उठ्ने गरेको जनगुनासो आएपछी कृषि पेसामा लागेका कृषकहरुले कृषि उपजको बजारीकरण गर्न आफु चासो दिएको र त्यै अनुसार नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङ संग सम्झौता गरेर इतिहासमै पहिलो पटक गढवा गाउँपालिकाबाट धानको बिक्रि सुरु गरेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।
नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले गढवा गाउँपालिकामा उत्पादन भएका कृषि उपज धान, तोरी मसुरो र बेसार खरिद गर्ने बारे दुईपक्षबिच लिखित सहमति भएको गढवा गाउँपालिका कृषि विकास शाखाका प्रमुख कर्ताराम यादवले जानकारी दिनु भयो।
नेपाल सरकारले तोकेको समर्थन मुल्यमा आफुले उत्पादन गरेको धान बिक्री गर्न पाउँदा खुसीको सिमानै नरहेको कृषक देवराज यादवले बताउनुभयो। आज सम्म् उत्पादन गर्न भन्दा बजारीकरणको समस्याले अस्ताउदै आएको तर यस बर्ष गढवा गाउँपालिकाले समन्वय गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लाई पालिकामै बोलाएर धान खरिद बिक्रीको बाताबरण बनाउदा आफुहरु खुसी भएको बताउनुभयो। साना व्यवसायी हरु घरघरमा जाने र २५ सय देखी २७ सय सम्म धान उठाउने गरेको तर यस बर्ष गाउमा घुम्नेछ व्यापारीहरुले समेत ३२ सय रुपैयाँ प्रति क्युनटलमा घर घरबाट धान खरिद गर्नाले गाउँपालिकाको एस सूचनाको आधारमा कृषकहरुले धानको राम्रो मुल्य पाएको कृषक देवराज यादवले बताउनुभयो।यता नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटो धान ३४१०.५१ रुपैयाँ प्रति क्युनटलका दरले खरिद गरेको छ । स्थानीय व्यापारीलाई सस्तो दररेटमा धान बेचेर महिनौ दिनसम्म भुक्तानी नहुने समस्या थियो तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लाई एकहात धान बेच्यौ एकहातले चेक बुझ्दा आफुहरु खुसी भएको बताउनुभयो। कृषि उपज खरिद कार्य निरन्तरता दिन गढवा गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लाई अनुरोध समेत गर्नु भयो।
लुम्बिनी प्रदेशमै पहिलो पटक स्थानिय तहमा(गढवा गाउँपालिका) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले गढवा गाउँपालिकामा उत्पादन भएका कृषि उपज खरिद गर्ने भनि कार्तिक ४ गते आइतबारका दिन दुई पक्षबीच सम्झौता भई हस्ताक्षर भएको थियो। गढवा गाउँपालिका भरीका कृषकले उत्पादन गरेको मोटो तथा मध्यम प्रजातीका धान(गुणस्तर मापदण्ड भित्रको धान) खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले नेपाल सरकारले तोकेको समर्थन मुल्यमा खरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो।








