कांग्रेसका ५० हजार कार्यकर्ताले त्यागे क्रियाशील सदस्यता

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २३ असार 

नेपाली कांग्रेसका ५० हजार कार्यकर्ताले क्रियाशील सदस्यता परित्याग गरेका छन्। पाँच वर्षअघि १३औँ महाधिवेशनमा क्रियाशील सदस्यता पाएका ५० हजार व्यक्तिले यसपटक नविकरणका लागि आवेदन नदिएका हुन्।

आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ महाधिवेशनका लागि नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले काम गरिरहेको छ।अघिल्लो पटक कांग्रेसले चार लाख ७० हजार जनालाई क्रियाशील सदस्यता दिएको थियो। तर यसपटक त्यसमध्ये जम्मा चार लाख २० हजार जनाले मात्रै नविकरण गरेका छानबिन समितिका प्रवक्ता प्रदिप पौडेलले जानकारी दिए।

क्रियाशील नविकरण नहुनुको कारण मृत्यु, विदेश गएको र बाँकी धेरैमा पार्टीप्रतिको आकर्षण नभएको हुन सक्ने अनुमान गरिएको छ।

यसपटक शत प्रतिशत क्रियाशील सदस्यता थप्ने तयारी गरेको कांग्रेसमा नयाँ सदस्यताका लागि भने आकर्षण देखिएको छ। पौडेलका अनुसार शतप्रतिशत भन्दा बढीले नयाँ सदस्यताका लागि आवेदन दिएका छन्। उनका अनुसार छानबिन समितिसमक्ष विदेशबाट बाहेक नौ लाख २५ हजार जनाले फर्म भरेका छन्।

नयाँ क्रियाशील वितरणमा भने कांग्रेसमा विवाद भएको छ। तल्ला कार्यसमितिले सिफारिस गरेको क्रियाशील सदस्यतामा व्यापक मात्रामा उजुरी परेका छन्।

६ हजार सात सय ४३ वटा मध्ये करिब दुई सय वटामा नयाँ क्रियाशील वितरण सच्याउन माग गर्दै उजुरी दर्ता भएका छन्। समितिलाई असार २० गतेभित्र छानबिन सक्न भनिए पनि मसान्तसम्म लाग्ने भएको छ। समितिका अर्का एक सदस्यका अनुसार दैनिक बिहानदेखि बेलुकासम्म समितिले निरन्तर काम गरिरहेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID