पानीको चरम अभावबाट मुक्त भयो घोराही–१२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानको सहजीकरण र स्थानीय सामुदायिक प्रयासको जीवन्त उदाहरण

लालसुर विष्ट

दाङ,८ चैत। घोराही उपमहानगरपालिका, दाङ जिल्लाको सबैभन्दा ठूलो क्षेत्रफल र जनसंख्या भएको हरित नगरको रूपमा चिनिने यो उपमहानगरपालिका विकास र समृद्धिको यात्रामा निरन्तर अघि बढिरहेको छ । तर विकासको यो यात्रामा पनि केही वडाहरूमा आधारभूत आवश्यकताहरू जस्तै पिउने पानीको समस्या अझै कायम नै छ । विशेषगरी वडा नम्बर १२ को तल्लो बसन्तपुर टोलमा एक वर्षअघिसम्म पिउने पानीको चरम अभावले स्थानीयबासीहरूलाई दैनिक जीवन कष्टकर बनाएको थियो । बजार क्षेत्रबाट मात्र तीन किलोमिटर टाढा रहेको यो टोल सडकका हिसाबले सुविधाजनक छ । भाइरल रोडसमेत जोडिएको यो स्थानमा पुग्न कुनै ठूलो कठिनाइ थिएन । तर पानीको अभावले यहाँका ६० घरधुरीका बासिन्दाहरूलाई रातको दुई बजे उठेर टाढा–टाढासम्म गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता थियो ।

यो समस्या समाधान गर्न घोराही बनाऔं अभियानले गरेको सहजीकरण र स्थानीयबासीहरूको अटुट प्रयासले छोटो समयमै चमत्कारिक परिवर्तन ल्याएको छ । आज तल्लो बसन्तपुर टोलमा विहान साढे एक घण्टा र साँझ साढे एक घण्टा नियमित पानी वितरण भइरहेको छ । हरेक घरको धारामा पानी पुगिरहेको छ । यो सफलता कुनै ठूलो सरकारी आयोजना वा विदेशी दाताको सहयोगमा होइन, बरु स्थानीयबासीहरूको एकता, समितिको मेहनत र घोराही बनाऔं अभियानको संयोजक सविन प्रियासनको सक्रियतामा भएको सहजीकरणको फल हो ।

घोराही बनाऔं अभियान २०८० सालमा पत्रकार, साहित्यकार तथा समाजसेवी सविन प्रियासनको अगुवाइमा सुरु भएको लुज फोरम हो । यो अभियान कुनै राजनीतिक दलसँग आवद्ध छैन । सुशासन, समृद्धि र विकासको स्थानीय आवाज उठाउने, समस्या पहिचान गर्ने र सम्बन्धित निकायमा दबाब दिने मुख्य उद्देश्यका साथ यो अभियान गाउँ–गाउँ पुगिरहेको छ । प्रियासन स्वयं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हुन् । उनी घोराही उपमहानगरपालिका वडा नम्बर १५, मिलनचोकका स्थानीय बासिन्दा हुन् । बाल्यकालदेखि नै समाजसेवा र नेतृत्वमा सक्रिय प्रियासनले यो अभियानमार्फत घोराहीका विभिन्न समस्या समाधानमा योगदान पु¥याइरहेका छन् । तल्लो बसन्तपुरको पानी समस्या पनि त्यही अभियानको एउटा सफल अध्याय बनेको छ ।

समस्या कसरी सुरु भयो र किन चरम बन्यो ?

–तल्लो बसन्तपुर टोल घोराही वडा नम्बर १२ मा पर्छ । यो क्षेत्र हापुर खानेपानी स्किम नम्बर २ बाट पानीको व्यवस्था हुँदै आएको थियो । हापुर खोलामा यो समितिको मुहान क्षेत्र रहेको छ । तर विभिन्न कारणले गर्दा यो स्किमले पूरै क्षेत्रमा पर्याप्त पानी पु¥याउन सकेन । विशेषगरी तल्लो बसन्तपुर टोलका ६० घरधुरीमा पानीको धारामा पानी पुग्नै सकेन । पानीको अभावले स्थानीयबासीहरूको दैनिक जीवन प्रभावित भएको थियो । महिलाहरू, बालबालिकाहरू र वृद्धहरूले पानीका लागि घण्टौं हिँड्नुपथ्र्यो । विहान दुई बजे उठेर टाढा मुहान वा अन्य स्रोतबाट पानी ल्याउने बाध्यता थियो । यसले स्वास्थ्य समस्या, बालबालिकाको पढाइमा असर, महिलाहरूको समय व्यवस्थापनमा कठिनाइ र समग्र परिवारको उत्पादनशीलता घटाएको थियो ।

यो समस्या चरम रूपमा देखा परेपछि स्थानीयबासीहरूले घोराही बनाऔं अभियानलाई जानकारी गराए । अभियानका संयोजक सविन प्रियासनले तत्कालै यो विषयलाई प्राथमिकता दिए । प्रियासनले विगत सम्झदै भने,–‘सोही ठाउँ निवासी लोकगायक चन्द्र शर्माले बसान्तापुर अनि रमना क्षेत्रमा चरम पिउने पानीको समस्याको विषयमा जानकारी गराउनुभयो, त्यसपछि म हापुरकै युवा व्यवसायी बसन्त आचार्यसँग सो ठाउँको अध्ययन गर्न पुगे ।’

उनी भन्छन्, “समस्या आएपछि मात्र होइन, स्थानीयबासीको आवाज सुन्ने र समाधानका लागि सहजीकरण गर्ने नै अभियानको मूल मर्म हो ।” प्रियासनको अगुवाइमा टोलीले मुहान क्षेत्रको स्थलगत अनुगमन ग¥यो । हापुर खोलाको मुहानमा पुगेर पानीको स्रोत, वितरण प्रणाली र समस्याका कारणहरूबारे अध्ययन गरियो ।

वडा कार्यालय र समितिमा छलफल, आन्दोलनलाई सहमतिमा टुंग्याउने प्रयास ः

अनुगमनपछि घोराही वडा नम्बर १२ को कार्यालयमा विस्तृत छलफल भयो । त्यहाँ वडा अध्यक्ष दोर्ण बहादुर बहकुरी लगायत सरोकारवालाहरू सहभागी थिए । खानेपानी समितिको कार्यालयमा स्थानीयबासीहरूले तालाबन्दीसमेत गरेका थिए । पानी नपाएको गुनासो र आन्दोलन चर्किएको थियो । प्रियासनको रोहबरमा नै यो आन्दोलनलाई सहमतिमा टुंग्याइयो । समितिसँग छलफल गरी पानी वितरण प्रक्रियामा सुधार गर्ने प्रयास थालियो । तर यति गर्दा पनि तल्लो बसन्तपुर टोलमा पानी पुग्न सकेन ।

यो बिन्दुमा प्रियासनले नयाँ सोच प्रस्तुत गरे । उनीले तल्लो बसन्तपुर टोलका बासिन्दाहरूलाई सल्लाह दिए, “पुरानो समितिबाट समस्या समाधान नभएपछि आफ्नै टोल स्तरको नयाँ समिति गठन गरेर त्यही रहेको पानीको स्रोतलाई व्यवस्थापन गर्नुहोस् ।” यो सल्लाहलाई स्थानीयबासीहरूले मन पराए । उनीहरूले तत्कालै तल्लो बसन्तपुर खानेपानी संरक्षण उपभोक्ता समिति गठन गरे । समितिको नेतृत्वमा नन्दराम वली र समितिलाई साथसहयोग गर्ने रेशम योगी, गोबरधन योगी, रेशम बहादुर बुढा, प्रति खड्गा लगायत दर्जनौं सक्रिय व्यक्तिहरू टोलमा पानीको समस्या हल गर्न अहोरात्र खटिए ।

स्थानीय प्रयास, रकम संकलन र दाताको सहयोग ः

–समिति गठन भएपछि पहिलो चरणमा टोलबासीहरूले प्रतिपरिवार १५ हजार रुपैयाँका दरले रकम संकलन गरे । यो रकम संकलन प्रक्रिया नै एउटा उदाहरणीय कदम थियो । प्रत्येक घरबाट सहयोग जुटाएर समितिले आफ्नो स्रोत व्यवस्थापनमा लगानी गर्न थाल्यो । यसबाहेक स्थानीय केही दाताहरूले आफ्नो तर्फबाट थप सहयोग गरे । यस्तो सामुदायिक एकताले नै यो अभियानलाई बल दियो । समितिको अगुवाईलाई सार्थक बनाउँन स्थानीइ ८४ वर्षिय मनबहादुर रोकाले आफ्नो चौरासी पुजा गर्न छुट्याइएको रकम एक लाख रुपैयाँ समितिलाई सहयोग गर्नुभयो । जसले गर्दा नयाँ समितिलाई काम गर्न थप सहयोग मिल्यो ।

समितिले दिनरात नभनी काम ग¥यो । मुहान संरक्षण, नयाँ मुहान खोजी र पाइप लाइन विस्तारको तयारी थालियो । यसैबीच प्रियासनले खानेपानी तथा सरसफाई कार्यालयका तत्कालिन प्रमुख तिलक न्यौपाने र कर्मचारी गजेन्द्र बहादुरलाई दिनहुँ सम्पर्क गरी सहयोगका लागि अनुरोध गरिरहे । उनीहरूको निरन्तर प्रयासले काम तीव्र बनायो ।

सरकारी सहयोग र टोलीको मेहनत, साढे ६ सय मिटर पाइपको उपलब्धता ः

–खानेपानी तथा सरसफाई कार्यालयबाट ६ सय मिटरभन्दा बढी पाइप सहयोग प्राप्त भयो । यो सहयोग निर्णायक साबित भयो । समितिले मुहान क्षेत्रको संरक्षण कार्य थाल्यो । पुरानो स्रोतलाई व्यवस्थित बनाउने र नयाँ मुहान खोज्ने काम भयो । पाइप लाइन बिछ्याउने, ट्यांकी निर्माण र वितरण प्रणाली जडानमा स्थानीय युवाहरूको सक्रिय सहभागिता रह्यो ।

यो प्रक्रियामा घोराही बनाऔं अभियानले निरन्तर सहजीकरण मात्र ग¥यो । प्रियासन भन्छन्, “हामीले केवल ढोका खोलिदियौं । बाँकी सबै काम तल्लो बसन्तपुर टोलबासीहरू, स्थानीय जनप्रतिनिधि, खानेपानी कार्यालय र सरकारी निकायहरूले गरे ।”

सफलता, पानी आएपछि जीवन कसरी बदलियो ?

–केही महिनामै परिणाम देखा पर्न थाल्यो । आज तल्लो बसन्तपुर टोलमा नियमित पानी वितरण भइरहेको छ । विहान साढे एक घण्टा र साँझ साढे एक घण्टा पानी आउँछ । सबै ६० घरधुरीका धारामा पानी पुग्छ । हिजोका दिनमा दुई बजे उठेर पानी ल्याउने बाध्यता हटेको छ । महिलाहरूले समय बचाएका छन् । बालबालिकाहरूले पढ्न र खेल्न समय पाएका छन् । परिवारहरूको स्वास्थ्य सुधारिएको छ । समग्र टोलमा खुशी र राहतको वातावरण छ ।

यो सफलताले “गरेपछि हुँदो रहेछ” भन्ने सन्देश दिएको छ । प्रियासनले भन्छन्, “काकाकुल बनेको तल्लो बसन्तपुर टोललाई पानी खुवाउन अभियानले केवल सहजीकरण ग¥यो । मुख्य भूमिका टोलबासीहरूको थियो ।” प्रियासन थप्छन्,–‘सुरुमा आउँदा मलाई यहाँ पिउने पानीको एक गिलास आफुले मागेर खान आफ्ठेरो लागेको थियो । त्यतिबेला गाउँलेलाई मैले भनेको थिए, बसन्तापुरको धारामा पानी झरेपछि मात्र यहाँको पानी खानेछु । आज त्यो भनाइँ सार्थक भएको छ ।’

योगदानकर्ताहरूको भूमिका र कृतज्ञता ः

–यो सफलतामा नन्दराम वली, रेशम योगी, गोबरधन योगी, रेशम बहादुर बुढा, प्रति खड्गा, मनबहादुर ोका लगायत दर्जनौं स्थानीय व्यक्तिहरूको अथक मेहनत छ । युवा देखि बृद्धासम्म, महिलादेखि केटाकेटीसम्मले आफ्नो टोलमा पानी ल्याउन ठूलो संघर्ष र एकता प्रदर्शन गरेका छन् । स्थानीय जनप्रतिनिधि, खानेपानी कार्यालयका तिलक न्यौपाने र गजेन्द्र बहादुर, वडा कार्यालय र अन्य सरकारी निकायहरूको पनि महत्वपूर्ण योगदान छ । घोराही बनाऔं अभियानले सबैमा कृतज्ञता ज्ञापन गरेको छ ।

भविष्यको योजना, आत्मनिर्भर र थप विकास ः

–अभियान अहिले पनि समितिलाई व्यवस्थित र आत्मनिर्भर बनाउने प्रयासमा छ । थप बजेट सरकारी निकायबाट ल्याउने, सरोकारवालालाई ध्यानाकर्षण गराउने काम भइरहेको छ । समितिलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न तालिम, लेखापरीक्षण र रखरखावको योजना बनाइएको छ । यो मोडेल अन्य टोल र वडाहरूमा पनि लागू गर्न सकिने अभियानको विश्वास छ ।

यसबाट सिक्ने पाठ, सामुदायिक एकता र सहजीकरणको शक्ति ः

–तल्लो बसन्तपुर टोलको यो कथा नेपालका ग्रामीण क्षेत्रमा पानी समस्या सामान्य छैन । तर यो उदाहरणले देखाउँछ कि स्थानीय तदारुकता, एकता र सकारात्मक सहजीकरणले जुनसुकै समस्या समाधान गर्न सकिन्छ । घोराही जस्तो ठूलो उपमहानगरमा पनि यस्ता साना–साना टोल स्तरका प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छन् ।

प्रियासन र अभियानका सदस्यहरूले भन्छन्, “यो एउटा टोलको सफलता होइन, समग्र घोराही बनाउने अभियानको एउटा अध्याय हो ।” स्थानीयबासीहरूले पनि यो सफलतालाई आफ्नो प्रयासको परिणाम ठानेका छन् ।

म संयोगले घोराही–१२, तल्लो बसन्तापुर टोलमा पुगेको थिए । घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनसँग थुप्रै ठाउँमा जाने अबसर जुरेको छ । तर त्यो दिन त्यहाँ जाँदा मलाई भित्रैबाट खुसी महसुर भयो । हामीलाई स्वागत गर्न टोलबासीहरु जम्मा हुनु भएको रहेछ । प्रियासनलाई देखेर सबैको मुहारमा खुसी छाएको मैले आभाष गरे । उहाँहरुले बोल्नेक्रममा घोराही बनाऔं अभियान र प्रियासनलाई शव्दै पिच्छे धन्यवाद दिइरहनु भएको थियो । हामी सबैले मुहान क्षेत्रको पनि अवलोकन ग¥यौं । यो लेख तयार पार्दा तल्लो बसन्तपुर टोलका बासिन्दाहरूसँग मैले कुराकानी गर्दा उनीहरूको अनुहारमा खुशी देखिन्थ्यो । एउटा महिला रमिला वलीले भनिन्, “अब दुई बजे उठ्नुपर्दैन । पानी घरमै आउँछ । बच्चाहरूले राम्रोसँग पढ्न पाएका छन् हामीलाई धेरै खुसी मिलेको छ । घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनलाई धन्यवादको शव्द समेत कम हुन्छ ।” यस्ता कथाहरूले समाजलाई प्रेरणा दिन्छन् ।

तल्लो बसन्तापुर टोल विकास संस्थाका अध्यक्ष रेशम योगीले विगतमा पानीको अभावमा झेल्नु परेको समस्याको अवगत गराउँदै घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन आफूहरुको लागि भगवान नै बनेर आएको बताए । योगी भन्छन्–‘हामी पानीको अभावमा ग्रस्त थियौं, प्रियासन आएर हामीलाई बाटो देखाउनुभयो, साथ सहयोग गर्नुभयो, हामीले आज घरघरमा पानी खान पाएका छौं ।’

घोराही बनाऔं अभियानले अन्य क्षेत्रमा पनि यस्तै पहल गरिरहेको छ । सडक, अस्पताल, शिक्षा जस्ता विषयमा निरन्तर आवाज उठाइरहेको छ । तल्लो बसन्तपुरको पानी कथा यस अभियानको एउटा उज्ज्वल पृष्ठ बनेको छ । यो सफलताले प्रमाणित गर्छ कि विकास भनेको केवल सरकारी बजेट र ठूला आयोजना होइन । यो त स्थानीय जनताको सक्रियता र सही सहजीकरणको संयोजन हो । घोराही–१२ को तल्लो बसन्तपुर टोलबासीहरूले देखाएको यो उदाहरणले सम्पूर्ण घोराही र नेपालका अन्य समुदायलाई प्रेरित गर्नेछ । अब तल्लो बसन्तपुर टोलमा पानीको धारा बगिरहेको छ । तर यो पानी मात्र होइन, आशा र एकताको धारा हो । घोराही बनाऔं अभियान, अभियानको नेतृत्व गर्ने सविन प्रियासन र स्थानीयबासीहरूको यो संयुक्त प्रयासलाई हामी सबैले सलाम गर्नुपर्छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID