बाजागाजा लिएर विद्यार्थी माग्दै गढवाका सामुदायिक विद्यालयहरु

गणतन्त्र नेपाल समाचारदाता

दाङ, ३ बैशाख। बिहान ७ बज्दा नबज्दै गढवा बजार आसपासमा पञ्चेबाजा घन्किरहेको थियो । नेपाली पोशाकमा ठाँटिएका महिला, पुरुष बाजाको तालमा नाँच्दै अघि बढिरहेका थिए । हेर्दा जन्ती झैं देखिने बाजागाजा र मान्छेहरुको लस्कर कतै बेहुली लिन होइन, सरकारी विद्यालयमा विद्यार्थी खोज्न हिडेका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सरकारी कर्मचारीहरुको ¥यालीको हो ।

सरकारले वैशाख २ गतेदेखि विद्यालय भर्ना अभियान थालेपछि गढवा गाउँपालिका वडा नं. ६ ले आइतबार बाजागाजासहित ¥याली गरेर भर्ना अभियानको उद्घाटनमात्रै गरेन अभिभावकका घरघरमै पुगेर विद्यालय जाने उमेर समूहका वालवालिकाहरुलाई स्कुल भर्ना गर्न अपिल समेत ग¥यो । वडाभित्र ५ वटा सामुदायिक विद्यालय छन् । सरकारी विद्यालयका शिक्षक, अभिभावक संघ, विव्यसका पदाधिकारी र जनप्रतिनिधिले बाजागाजासहित अभियानको सुरुवात गरेर विद्यार्थी भर्ना अभियानलाई पर्वकै रुपमा सुरुवात गरेका छन । अबदेखि घरदैलो हुन्छ वडाध्यक्ष बीरबहादुर आलले भन्नुभयो– ‘विद्यालय जाने उमेरका बालबालिका कोही नछुटुन भन्ने हाम्रो अभियान हो । यसलाई पर्वकै रुपमा लिएका छौं ।’

पशुपति मावि तुलसीपुर–१२ की प्रधानाध्यापक राधा चौधरीले आफ्नो छोरीलाई आफूले अध्यापन गराउने विद्यालयमा भर्ना गरेर आइतबारदेखि विद्यालयमा भर्ना अभियानको थालनी गर्नुभयो । अहिलेसम्म निजी स्कूलमा अध्ययन गर्दै आएकी छोरी सिमरण चौधरीलाई प्रधानाध्यापकले नै सामुदायिक विद्यालयमा ४ कक्षामा भर्ना गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले प्रधानाध्यापकको यो कदमले अन्य शिक्षक, कर्मचारी, शिक्षक अभिभावक संघ र विव्यसका पदाधिकारीलाई पनि नैतिक दवाब सिर्जना भएको बताउनुभयो । कतै बाजागाजासहित भर्ना अभियान थालिएको छ भने कतै शिक्षककै छोराछोरी सरकारी विद्यालयमा भर्ना गरेर अभियान थालिएको छ । जसले यसपालिको भर्ना अभियानलाई अघिल्ला वर्षभन्दा फरक र प्रभावकारी बनाउने आशा पलाएको सरोकारवालाहरुले बताएका छन् ।

आइतबारदेखि जिल्लाका दशवटै स्थानीय सरकारले भर्ना अभियान संचालन गर्ने निर्णय नै गरेर अभियानको थालनी गरेका छन् । राप्ती गाउँपालिकाले शिक्षकहरुलाई घरदैलोमा परिचालन गरेको छ भने तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिसमेतलाई घरदैलो परिचालन पठाएको छ । गढवा र बबई गाउँपालिकाका शिक्षक, विव्यस पदाधिकारी र जनप्रतिनिधिसहित घरदैलोमा जाँदैछन् भने दंगीशरण, राजपुर, बंगलाचुली, शान्तिनगर, घोराही, लमहीले पनि नयाँ शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना थालिसकेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणि चौधरीले दाङका सबै स्थानीय तहले भर्ना अभियान शुरु गरेको जानकारी दिनुभयो । ‘विद्यालय जाने उमेर समूहको कोही पनि बालबालिका विद्यालय जानदेखि बञ्चित नहोऊन भन्ने हेतुले सबै पालिकाले अभियान शुरु गरेका छन्’– चौधरीले भन्नुभयो– ‘गुणस्तरीय शिक्षा र विद्यार्थी टिकाउने मुख्य चुनौती छ । यसमा सरोकारवाला सबैले हातेमालो गर्न जरुरी छ ।’ उहाँले विद्यार्थी भर्ना हुन नसक्ने अथवा टिक्न नसक्ने अवस्थाको अध्ययन पनि भइरहेको बताउँदै स्थानीय तहबाट त्यसको समाधानको खोजी भइरहेको बताउनुभयो । ‘विद्यार्थी भर्ना हुने तर नटिक्ने समस्याको दिगो समाधान खोज्ने प्रयास पनि भएको छ’– उहाँले भन्नुभयो– ‘पालिकाहरुले अतिविपन्नका बालबालिकाको अभिभावकत्व लिन आह्वान गर्नेदेखि वडाले जिम्मा लिनेसम्मको काम भएको छ ।’ भर्नासँगै विद्यार्थी टिकाउने विषयमा ध्यान जान जरुरी रहेको चौधरीले बताउनुभयो ।

हरेक वर्ष हुने विद्यालय भर्ना अभियान शैक्षिक सत्र २०८१ का लागि आइतबारबाट शुरु भएको छ । यस वर्षको भर्ना अभियानको संकल्प ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने छ । सामुदायिक विद्यालयकेन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघद्वारा विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण पनि सँगसँगै गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण गरेको छ । ८ गते सामुदायिक सिकाइ केन्द्र र विद्यालयले अभियानमा सहजीकरण गर्ने, ९ गते स्थानीय तह र विद्यालयले अभियानको संयोजकमार्फत् भर्ना हुन बाँकी अनुमानित विवरण तयार गर्ने, अभियानकै क्रममा वैशाख १० गतेसम्म भर्ना भएका विद्यार्थीलाई पोशाक र छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम छ ।

पाठ्यपुस्तक ७५ प्रतिशत

दाङ जिल्लामा शैक्षिक सत्र २०८१ का लागि ५६ हजार ६ सय ५० पाठ्यपुस्तक आएको छ । जनक शिक्षा सामग्री केन्द्रका डिपोहरुले दिएको रिपोर्टअनुसार ७५ प्रतिशत पाठ्यपुस्तक जिल्लामा आइसकेको शिक्षा विकास तथा समन्वय इकाई दाङले जनाएको छ । घोराही, नारायणपुर, तुलसीपुर र लमही डिपोबाट कक्षा १–१० का पाठ्यपुस्तक चैतमै आइसकेको थियो । कक्षा १–४ को पुस्तक २०८० चैत १६ गतेदेखि र कक्षा ५–१० को पाठ्यपुस्तक चैत २६ गतेदेखि दाङ आएको जनक शिक्षा सामग्री केन्द्र घोराही डिपोका कुम्वीर डाँगीले जानकारी दिनुभयो । उहाँले वैशाख ५ गतेभित्र जिल्लालाई आवश्यक सबै पाठ्यपुस्तक आइपुग्ने जानकारी दिनुभयो । ‘५ गतेसम्म सबै पाठ्यपुस्तक आइसक्छ’– उहाँले भन्नुभयो– ‘बाँकी विद्यालयले समयमै लैजानुहोला ।’

शैक्षिक सत्र २०८० मा दाङमा सामुदायिक विद्यालयमा ८० हजार तीन सय १३ र संस्थागत विद्यालयमा ७२ हजार नौ सय ४५ विद्यार्थी गरी कक्षा १–१० मा एक लाख ५३ हजार दुई सय ५८ विद्यार्थी भर्ना भएका थिए । त्यही विद्यार्थी संख्याको आधारमा सामुदायिक विद्यालयमा २३ हजार ६ सय ६३ पाठ्यपुस्तक अपुग भएको २०८० चैत ३० गतेसम्मको रेकर्ड छ । पहिलो लटमा आएको पाठ्यपुस्तक वितरणसँगै अर्को लट आउन लागेको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ । चैत ३० गतेसम्मको विवरणअनुसार घोराहीबाट १६ हजार ७ सय ५०, तुलसीपुरबाट १९ हजार, नारायणपुरबाट ४ हजार ५ सय र लमहीबाट १६ हजार ४ सय पाठ्यपुस्तक वितरण भइसकेको छ । जिल्लामा आएको पाठ्यपुस्तकको अवस्था हेर्दा सबैभन्दा धेरै कक्षा ३ को ८६ प्रतिशत र सबैभन्दा कम कक्षा ८ को पाठ्यपुस्तक ५५ प्रतिशत छ । युगबोध राष्ट्रिय दैनिकबाट

मा प्रकाशित