लमहीमा भदौ ११ देखि सांगीतिक मेला, अनाथ बालबालिकालाई दैनिक सहयोग

गणतन्त्र नेपाल समाचारदाता

लमही, २ भदौ । लमहीमा आगामी भदौ ११ गतेदेखि सांगीतिक तथा मनोरञ्जनात्मक मेला आयोजना हुने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति दाङको आयोजनामा भदौ ११ देखि २२ गतेसम्म लमहीस्थित सार्वजनिक बगैँचामा मेला सञ्चालन हुने भएको हो ।

मेलाको तयारी तथा उद्देश्यबारे जानकारी दिन मंगलबार लमहीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले मेलाबारे जानकारी गराएको हो । राष्ट्रिय संगीतकर्मी संघ दाङका अध्यक्ष दीपक बर्माका अनुसार मेलाको उद्देश्य मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व बहन गर्नुका साथै स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ ।

मेलाको अवधिभर लमही नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत अनाथ बालबालिकामध्ये हरेक दिन एक जनालाई सहयोग गर्ने कार्यक्रमसमेत राखिएको अध्यक्ष बर्माले जानकारी दिनुभयो । मेलामार्फत आयोजक संस्थाको प्रचारप्रसारसँगै विभिन्न सामाजिक विषयमा जनचेतना फैलाउने उद्देश्यसमेत रहेको उहाँले बताउनुभयो ।

स्थानीय कला, संस्कृति र प्रतिभालाई राष्ट्रिय स्तरका कलाकारसँग जोड्दै मनोरञ्जनका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको तयारी छ । मेलामा राष्ट्रिय स्तरका चर्चित गायक गायिका, मोडेल तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । स्थानीय कलाकारलाई प्राथमिकता दिइने भएकाले मेलाले स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धनमा समेत योगदान पुग्ने आयोजकको विश्वास छ ।

मेलामा विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन् । मेला प्रत्येक दिन साँझ ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । मेलामा प्रवेशका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।

भदौ ११ देखि २२ गतेसम्म सञ्चालन हुने मेलाले लमही क्षेत्रको सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिलाई थप चलायमान बनाउनुका साथै सामाजिक सेवाको भावनालाई समेत जोड्ने आयोजकको दाबी छ । सांगीतिक मनोरञ्जनसँगै सामाजिक सेवा तथा स्थानीय कला संस्कृतिको प्रवर्द्धनलाई प्राथमिकता दिइएकाले यसपटकको मेला विशेष हुने आयोजकले जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID