
गढवा, दाङ देउखुरी। श्री सत्य साई सेवा सङ्गठन नेपालद्वारा आयोजित श्री सत्य साई माध्यमिक तह अन्तरविद्यालयस्तरीय निबन्ध तथा कविता प्रतियोगिता दाङ देउखुरीको गढवामा सफलतापूर्वक सम्पन्न भएको छ। देशभर रहेका श्री सत्य साई सेवा केन्द्रहरूमा एकै दिन सञ्चालन गरिएको यस प्रतियोगिता गढवामा पनि उत्साहजनक रूपमा सम्पन्न भएको हो।
श्री सत्य साई सेवा केन्द्र गढवाको आयोजनामा सम्पन्न प्रतियोगितामा गढवा गाउँपालिकाभित्र रहेका पाँच वटा माध्यमिक विद्यालयका जम्मा नौ जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले निबन्ध तथा कविता विधामार्फत नैतिक शिक्षा, मानवीय मूल्य, सेवा भावना, अनुशासन, राष्ट्रप्रेम तथा सामाजिक उत्तरदायित्वजस्ता विषयमा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै लेखन, अभिव्यक्ति र नैतिक मूल्यप्रतिको चेतना विकास गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको सहभागी शिक्षकहरूले बताएका छन्।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, अभिभावक, श्री सत्य साई सेवा केन्द्रका पदाधिकारी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। आयोजकले प्रतियोगितामा सहभागी सबै विद्यार्थी, विद्यालय तथा सहयोगीप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकास र समाजमा सकारात्मक सोचको विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
श्री सत्य साई सेवा सङ्गठन नेपालले शिक्षा, स्वास्थ्य, सेवा र मानवीय मूल्यको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै देशभर यस्ता सिर्जनात्मक तथा नैतिक शिक्षामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। गढवामा सम्पन्न प्रतियोगिताले पनि विद्यार्थीहरूमा सकारात्मक सोच, नेतृत्व क्षमता र साहित्यिक रुचिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।







