हाइवे होटेलमा भेटिएका देवदूत

जीवनको यात्रा जहिले पनि सोझो हुदैन। कहिले काँडाघारी त कहिले अँध्यारो सुरुङ। कहिले विश्वासघातको चोट त कहिले जीवनमैत्री आत्माहरूको अकल्पनीय साथ। तर त्यही कठिन मोडमा कोही यस्तो भेटिन्छ, जसले मानवता, करुणा र विश्वासको अर्थ फेरि सम्झाइदिन्छ।

म एक सामान्य शिक्षक हुँ। स्थान – दाङको गढवा गाउँपालिका। जीवन अनुशासनमा चलाउने, भोलिको पुस्ता तयार पार्ने मेरो काम हो। तर त्यो साँझ म आफैँ एकदम असहाय विद्यार्थीझैँ भइसकेको थिएँ – भोक, थकान र अन्जान अँध्यारोमा हराएको।

भालुवाङबाट गढवा फर्कंदै थिएँ। साँझको ७:३० बजेको थियो। काठमाडौं–धनगढी डिलक्स बस चढें, योजना थियो लमहीसम्म पुगेर त्यहाँबाट अर्को गाडी चढ्ने। हरेक यात्रु आफ्नै गन्तव्यमा डुबेको थियो, म पनि आफ्नो सोचमा हराउँदै थिएँ।

८:१५ तिर गाडी देउखुरीको ‘हाइवे फुडमार्ट’ अगाडि रोकियो। थकाइले चुर भइसकेको शरीर र खाली पेटले खाना खोज्यो। मनले भन्यो, “अब गढवामा पुग्दा रात ढलिसकेको हुनेछ, यहाँ खाएर जानु बेस।”

खाना खाएँ, अनि शौचालयतिर लागें। झोलामा मेरो सबै थोक थियो – नगद, नागरिकता, कागजपत्र, कपडा, मेरो अस्तित्व। तर शौचालय जाँदा बोकेर जान असहज लागेर गाडीको क्याबिनमै छाडें।

जब फर्किएर आएँ — गाडी गइसकेको रहेछ।

त्यो क्षण… समय रोकिएकोजस्तो लाग्यो। म मूर्तिवत उभिएको, हावासँग डराइरहेको, एक्लिएको, भित्रबाट चिच्याउँदै थियो — “अब म के गरूँ?”

न पैसा, न सम्पर्क। रात, एक अन्जान ठाउँ, एक जना पनि चिनिने मान्छे छैन। एउटा शिक्षक – तर अहिले आफैँ सिक्न खोजिरहेको – “विश्वास गुम्दा, सबै गुम्दोरहेछ।”

त्यसपछि म हिम्मत सम्हालेर होटेल सञ्चालक प्रकाश राज शर्माकहाँ गएँ। उहाँ — अग्ला, सौम्य, अनुहारमा शान्त मुस्कान — मलाई देखेर अघि आउनुभयो। मैले काँपेको स्वरमा घटना सुनाएँ, आँखामा आँसु रोकिएनन्।

उहाँले केही सोच्नुभएन। इन्ट्री रजिस्टर खोल्नुभयो, गाडी नम्बर हेर्नुभयो, फोन उठाएर ड्राइभरलाई सम्पर्क गर्न थाल्नुभयो। त्यो बेला रातको १० बजिसकेको थियो, होटेलमा सयौं ग्राहकहरू थिए, व्यस्तता उच्च थियो आफ्नो ब्यस्तताको प्रवाह नगरी उहाँ मेरो पीडामा समर्पित हुनुहुन्थ्यो।

गाडी निकै टाढा पुगिसकेको रहेछ। झोला फर्कन गाह्रो थियो। उहाँले आग्रह गरेर गाडी चालकलाई अमिलिया प्रहरी बिटमा झोला बुझाउन भन्नुभयो। झोला सुरक्षित थियो।

तर म कहाँ सुरक्षित थिएँ र?

मेरो खल्तीमा एक रुपैयाँ पनि थिएन। हिँडेर लमही जान ३ किलोमिटरको बाटो — रातको सुनसान, डर र निराशाले घेरिएको।

म उहाँतिर हेरेँ — आँखा रसाएर सोधेँ, “अब के गरूँ सर?”

 

त्यस क्षण, उहाँले केही नबोली काउन्टरबाट १००० रुपैयाँ निकाल्नुभयो। मेरो हातमा राखिदिंदै भन्नुभयो —

“यो रात काट्नलाई यति पुग्छ। चिन्ता नगर्नु

केही समस्या परे फोन गर्नु म आउँछु।”

म बोल्न सकिन। धन्यवाद भन्ने शब्द पनि सानो लागिरहेको थियो।

उहाँले मलाई एउटा गाडीमा राखेर लमही पठाइदिनुभयो। त्यहाँबाट गढवाका लागि गाडी थिएन। एक अटोवाला भेटें — उसले १५०० रुपैयाँ माग्यो ७ किलोमिटरका लागि। म यति धेरै कसरी दिन सक्छु गोजिमा १००० मात्रै छ । सबै बिबरण सुनाए तर पनि अटो चालकले मानेनन।

अन्तिम आशामा, म लमहीकै पौडेल होटेल गएँ। त्यहाँका साहुजीले मेरो कुरा सुने, गहिरो सहानुभूति देखाउँदै भने —

“कोठा खाली छ, सुत्नुस्। पैसा? बिहान हेरौंला।”

बिहान जब तिर्न खोजें — उहाँ मुस्काउँदै भन्नुभयो,

“पैसा मलाई होइन, अर्को संकटमा परेका मान्छेलाई दिनुहोला ।”

लिन मान्दै मान्नुभएन।

त्यो रात जीवनको एक अध्याय बन्यो — जहाँ मलाई किताबले नभइ, मानिसहरूले शिक्षा दिए।

प्रहरी बिटमा झोला पाउँदा त्यो भन्दा ठूलो सन्तोष त्यहाँका सुरक्षाकर्मीहरूको आत्मीय व्यवहारले भयो। अनि विद्यालय फर्किएँ — शारीरिक रूपमा ठीक, तर मानसिक रूपमा परिवर्तन भएको मान्छे। मनमा एउटै अनुहार घुमिरह्यो — होटेलका त्यही भद्र, सच्चा मान्छे।

त्यसपछि, विद्यालय सकिएपछि म १००० रुपैयाँ लिएर उहाँलाई भेट्न गएँ।

उहाँ हाँस्नुभयो —

“पैसा चाहिएको थियो, सहयोग गरें। लिनु पर्ने भन्ने छैन।”

र फेरि थप्नुभयो —

“यात्रुहरूलाई खाना मात्र होइन, साथ पनि दिन सक्छौं। तिमी इमान्दार छौ, तिमीलाई सघाउन पाउनु मेरो लागि सौभाग्य हो।”

त्यसपछि हामी धेरैबेर कुरा गर्यौ छोटो समयमै धेरै आत्मियता बढ्यो हाम्रो त्यही आत्मीयता सँगै एक तस्बिर खिच्यौं।

त्यो तस्बिर म आज पनि हेरिरहन्छु। त्यो फोटोमा अनुहारभन्दा गहिरो कुराहरू छन् — विश्वास, करुणा, दया, मानवता।

त्यो दिन मैले बुझेँ —

देवता केवल मन्दिरमा होइनन्। कहिलेकाहीँ, हाइवेका होटलमा पनि भेटिन्छन् — सादा लुगा, गम्भीर स्वर, र असल हृदय लिएर।

यदि तपाईं कहिल्यै कुनै अप्ठ्यारोमा पर्नुभयो भने, याद गर्नुहोस् न आत्तिनुहोस — तपाईं एक्लो हुनुहुन्न। तपाईंको समस्यामा कहीँ न कहीँ, कुनै न कुनै देवदूत पर्खिरहेको छ।

तर यदि तपाईं सक्षम हुनुहुन्छ भने, आफैँ त्यो देवदूत बन्न सक्नुहुन्छ। किनकि असल आत्मा कहिल्यै मर्दैनन — तिनीहरू अरूको भित्र बाँचिरहन्छन्।

जन्मदिनमा विद्यार्थीलाई झोला र पोशाक वितरण

दाङ, १ श्रावण । माण्डवी माध्यमिक विद्यालयकाे पुर्व विद्यार्थी बालिका रसालीले आफ्नो जन्मदिन जेहन्दार तथा विपन्न विद्यार्थीलाई झोला तथा पोशाक वितरण गरेर मनाएकि छिन् ।

आज साउनेसक्रान्तीका दिन नयाँगाउँ स्थित माण्डवी माध्यमिक विद्यालयकाे प्राथनासभामा भएको उक्त कार्यक्रममा माण्डवी गापा अध्यक्ष नमराज अधिकारी र उपाध्यक्ष पुर्ण प्रसाद कालाथाेकिकाे हातबाट जेहन्दार तथा विपन्न विद्यार्थीलाई झोला तथा पोशाक वितरण गरिएको थियाे ।

जेहन्दार र विपन्न विद्यार्थी गरि १९ लाई पोशाक र झाेला शैक्षिक सहयाेग हाेस र आर्थिक अभावका कारणले भाईवहिनी कसैलाई विद्यालय र पठनपाठनमा समस्या नहाेस भन्ने उदेश्यका साथ छाेरीले विदेशबाट जन्मदिनमा सहयोग पठाएर नयाँ तरिकाले मनाएकाे विद्यार्थीकाे आमा कमला रसालीले जानकारी दिनुभयाे ।

माण्डवी गापा ३ दारिमचाैर प्यूठान स्थायी घर भएकी पुर्व विद्यार्थी बालिका रसाली माण्डवी माविबाट कम्प्युटर ईन्जिनियरिङ अध्ययन पश्चात् हाल अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि Wright State University मा अध्ययन गर्दैछिन । सहयोगी उनलाई उज्वल भविष्यकाे शुभकामना ।

शिक्षामा हस्तक्षेप कि नेतृत्वको प्रतिशोध? राजपुरमा बिवादास्पद सरुवा प्रकरण

राजपुर। दाङ जिल्लाको राजपुर गाउँपालिकामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलानमा तथा पुनर्तथ्याङ्क संकलनका नाममा भइरहेको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै स्थानीय विद्यालय व्यवस्थापन समितिहरू गाउँपालिकालाई स्पष्ट रूपमा संयुक्त हस्ताक्षरित विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छन्।

विद्यालय व्यवस्थापन समितिहरूले राजपुर गाउँपालिकाको शिक्षक दरबन्दी मिलान प्रक्रिया सामुदायिक सहभागिता र पारदर्शी र न्यायोचित नभएको गम्भीर आरोप लगाएका छन्। उनीहरूले वि.व्य.स सँग कुनैपनि सहमति र सहकार्य नगरी वि.व्य.सको हक अधिकार खोस्दै मनोमानी ढङ्गले दरबन्दी मिलान तथा पुनर्वितरणका नाममा पालिकाबाट जारी सूचनापछि शिक्षक सरुवाको नाममा सुरु भएको गतिविधिलाई ‘शिक्षामा राजनीतिक हस्तक्षेप’ को संज्ञा दिँदै अविलम्ब रोक्न माग गरेका छन्।

प्रमुख प्रशासनिक अधिकृत, गाउँपालिका अध्यक्ष, र सम्बन्धित निकायलाई सम्बोधन गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले संयुक्त रूपमा हस्ताक्षर गरिएको पत्रमार्फत स्पष्ट रूपमा भनेका छन् – “राजपुर गाउँपालिका शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण कार्यविधि २०८१ अनुसार हाल राजपुर गा.पा को कार्यालयले दरबन्दी मिलान तथा पुनर्वितरण प्रक्रियाको लागि मिति २०८२/०३/१८ गतेको १५ दिने प्रकाशित सुचनाको आधारमा प्राप्त जानकारी अनुसार शिक्षकको दरबन्दी मिलान तथा पुनर्वितरण कार्य अगाडि बढाएको जानकारी प्राप्त भयो।

हाम्रा अग्रज पुर्खा तथा अभिभावकहरुले स्रोत संकलन गरी मिहिनेत, पसिना बगाएर स्थापना गरेको विद्यालय सामुदायिक विद्यालय हो। सामुदायिक विद्यालय समुदायको हो। वि‌द्यालयको अपनत्व समुदायले लिनुपर्छ। समुदायले नै जिम्मेवारी लिनुपर्छ। समुदायले नै रेखदेख गर्नुपर्छ। समुदायले हाम्रो हो भनी मान्नुपर्छ। यो खालको अपनत्व लिनुपर्छ। त्यसैले राज्यले समुदायलाई अधिकार प्रत्यायोजन गरी सामुदायिक विद्यालयको अवधारणा ल्याएको यहाँहरुलाई सर्ववितितै छ। सामुदायका सम्पूर्ण अभिभावकहरुको प्रतिनिधित्व गर्ने अभिभावकका जनभावना र आवाज बोल्ने निकाय नै विद्यालय व्यवस्थापन समिति हो। जसको मूख्य कार्य शिक्षा नियमावली २०५९ (संसोधन सहित) को परिच्छेद ६ नियम २५ को उपनियम १ मा भएको व्यवस्था अनुसार वि‌द्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्ने हो । वि‌द्यालयको प्रधानाध्यापक छनोट गर्ने अनि दक्ष तथा विषयगत शिक्षक रोज्न पाउने र छनोट समेत गर्ने मूख्य अधिकार वि.व्य.स हो।

हाल राजपुर गा.पा बाट बि.व्य.स सँग कुनैपनि सहमति र सहकार्य नगरी वि.व्य.सको हक अधिकार खोस्दै मनोमानी ढङ्गले दरबन्दी मिलान तथा पुनर्वितरणका नाममा शिक्षक सरुवा गर्न लागेको कार्यप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।

तत्काल दरबन्दि मिलान तथा पुनर्वितरणका नाममा गर्न लागेको शिक्षक सरुवा कार्य रोक्का गरी शिक्षकलाई डर त्रास बिना उच्च मनोवलका साथ कक्षाकोठामा पठनपाठन कार्य गर्ने वातावरण साथै वि.व्य.स र विद्यालय प्रशासनलाई खाता रोक्का तथा विभागिय कारवाहि गर्ने धम्कीपूर्ण भाष्य कार्यविधि र प्रकाशित सुचनामा जानकारी आएकोले वि.व्य.स र विद्यालय प्रशासनलाई उच्च मनोवलका साथ वि‌द्यालय सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्ने वातावरण मिलाइदिन हुन हार्दिक अनुरोध गरिएको छ। ”

यसैबीच अखिल नेपाल शिक्षक संगठन, दाङले समेत प्रेस विज्ञप्ति निकाल्दै पालिकाको गैरजिम्मेवार रवैयाको घोर विरोध जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “ राजपुर गाउँपालिकामा कार्यरत शिक्षकको एकपक्षीय सरुवाप्रति आक्रोश व्यक्त गर्दै अखिल नेपाल शिक्षक संगठन दाङले कडा विरोध जनाएको छ । संगठनले शिक्षालाई वैज्ञानिक, जनमुखी, निःशुल्क र सर्वसुलभ बनाउने अभियानमा कटिबद्ध रहँदै शिक्षकको पेशागत स्वतन्त्रता, सुरक्षा र सम्मानका पक्षमा कुनै पनि अन्याय, दमन वा दबाबका विरुद्ध संघर्ष गर्ने अठोट दोहोर्‍याएको छ ।

केही दिन अगाडी राजपुरकाे सुनपत्री नाकामा विद्यालय जानका लागि पोशाक लागाउने क्रममा बिच्छीले टोकेर एक छात्राको दुःखद निधन भएपछि जनज्योति माध्यमिक विद्यालय, राजपुर–२ मटेरियाका निम्न माध्यमिक स्वयंसेवक शिक्षक श्रवण कुमार यादवले उक्त घटनाबारे समाचार प्रकाशन गर्दै सामाजिक सञ्जालमार्फत स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए । यही विषयलाई लिएर गाउँपालिका अध्यक्षको निर्देशनमा केही जनप्रतिनिधि र कर्मचारीको प्रतिशोधपूर्ण सोचका आधारमा शिक्षक यादवलाई कुनै औपचारिक प्रक्रिया बिना, एकपक्षीय निर्णय गर्दै श्री शिव शक्ति मावि, भौवा नाकामा काज सरुवा गरिएको संगठनको आरोप छ ।

संगठनका अनुसार शिक्षक यादवमाथिको काज सरुवा पूर्वाग्रही, असंवैधानिक र शिक्षकको पेशागत गरिमामाथिको अपमान हो । यो कार्यले अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र शिक्षकको आत्मबलमाथि प्रहार गरेको भन्दै संगठनले तत्काल उक्त सरुवा निर्णय खारेज गर्न माग गरेको छ ।

अखिल नेपाल शिक्षक संगठन दाङका प्रतिनिधिहरूले भने, “शिक्षकको आलोचना सहन नसकेर गरिएको यो निर्णयले शिक्षालाई नै राजनीतिक पावर गेमको हतियार बनाएको छ । शिक्षकको आवाज थुन्ने प्रवृत्तिले विद्यालयको वातावरणमा प्रतिकूल असर पर्नेछ ।”

संगठनले श्रवण कुमार यादवलाई पुनः पुरानै कार्यक्षेत्रमा राख्न माग गर्दै, माग पुरा नभएमा चरणबद्ध आन्दोलनको चेतावनी समेत दिएको छ । साथै नेपाल शिक्षक महासंघको स्थानीय कार्यसमिति र जिल्ला समितिलाई घटनालाई गम्भीर रूपमा लिएर आवश्यक पहल र धारणा सार्वजनिक गर्न आग्रह गरिएको छ ।

संगठनले शिक्षक सरुवा निष्पक्ष, पारदर्शी र प्रक्रियामूलक हुनुपर्नेमा जोड दिँदै स्थानीय सरकारको पछिल्लो कार्यशैलीलाई शिक्षकमाथिको अन्यायपूर्ण दमनको संज्ञा दिएको छ ।

स्थानीय सरकार र सरोकारवाला निकायले संवेदनशीलतापूर्वक पुनर्विचार नगरे स्थिति थप जटिल हुन सक्ने संकेत संगठनले दिएको छ ।