गढवा -७ चम्बोलाताल उद्यमी महिला समूहद्वारा टोल सरसफाई कार्यक्रम सम्पन्न

गढवा,१० जेठ। गढवा गाउँपालिका वडा नम्बर ७ झारभैरामा भिटा परियोजना अन्तर्गत गठन भएको चम्बोलाताल उद्यमी महिला समूहको ३ दिने आधारशिला तालिम सम्पन्न भएपछि गाउँघरमा टोल सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।
चम्बोलाताल उद्यमी महिला समूहकी अध्यक्ष सरिता चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समूहका सदस्यहरू, स्थानीय महिला तथा समुदायका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। समूहमा २५ जना सदस्य आबद्ध रहेका छन् भने सरसफाई कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको बताइएको छ।
कार्यक्रममा सहभागीहरूले टोल तथा सार्वजनिक स्थानको सरसफाई गर्दै वातावरण स्वच्छ राख्ने सन्देश दिएका छन् । आधारशिला तालिमपछि महिलाहरूमा सामूहिक कामप्रति उत्साह बढेको र सामाजिक उत्तरदायित्वबोध समेत विकास भएको  बताएका छन्।

सरसफाई कार्यक्रममा बोल्दै समूहकी अध्यक्ष सरिता चौधरीले तालिमले महिलाहरूलाई आत्मविश्वासी र संगठित बनाएको बताउनुभयो।  “हामी महिलाहरू अब केवल घरभित्र सीमित छैनौं, गाउँ समाजको विकास र सरसफाई अभियानमा पनि सक्रिय रूपमा लागेका छौं। आगामी दिनमा यस्ता सामाजिक तथा उद्यमशीलतामूलक कार्यक्रमलाई निरन्तरता दिनेछौं।” अध्यक्ष चौधरीले भन्नु भयो।
भिटा परियोजनामार्फत महिलाहरूलाई उद्यमशीलता, नेतृत्व विकास तथा सामाजिक गतिविधिमा सक्रिय बनाउन सहयोग पुगिरहेको ७ नम्बर वडा कि सामुदायिक सहजकर्ता जया विश्वकर्माले बताउनुभयो।

एस वाई कन्सल्ट्यान्ट र सइल युनिभर्सिटी कोरियाबीच प्राज्ञिक विकासमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

एस वाई कन्सल्ट्यान्ट र दक्षिण कोरियाको सउल सिटीमा अवस्थित सइल युनिभर्सिटीबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। मिति २०८२ मंसिर १५ गते, काठमाडौंमा आयोजित एक विशेष समारोहमा दुबै देशका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो। सम्झौतापत्रमा सइल युनिभर्सिटीका तर्फबाट डा. चोई सुंग रो तथा एस वाई कन्सल्ट्यान्टका तर्फबाट अध्यक्ष राजीव भण्डारीले हस्ताक्षर गर्नुभएको हो।

सम्झौता अनुसार दुबै संस्थाले-शैक्षिक कार्यक्रमहरूको संयुक्त सञ्चालन, संयुक्त उपाधि (Joint Degree) सहितका प्राज्ञिक कार्यक्रम विकास, संस्थागत विकास तथा शैक्षिक प्रवर्द्धन, प्राज्ञिक रूपमा दक्ष जनशक्तिको आदान–प्रदान, विद्यार्थीहरूको अन्तरविश्वविद्यालयीय प्राज्ञिक तथा अतिरिक्त गतिविधिमा सहकार्य जस्ता बहुआयामिक क्षेत्रमा काम गर्ने सहमति गरेका छन्।

चार वर्षअघि स्थापना भई काठमाडौंमा संचालनमा आएको एस वाई कन्सल्ट्यान्ट नेपाल सरकार, बागमती प्रदेश हेटौंडास्थित सामाजिक विकास मन्त्रालयमा दर्ता भएको शैक्षिक संस्था हो। विशेषगरी दक्षिण कोरियामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई सफलतापूर्वक मार्गदर्शन तथा सहजीकरण गर्दै आएको यो कन्सल्ट्यान्टले विगत चार वर्षमा २५ सयभन्दा बढी विद्यार्थीको भविष्य सुनिश्चित गर्न सहयोग गरिसकेको छ।

त्यसैगरी, दक्षिण कोरियाको सउल सिटीमा अवस्थित सइल युनिभर्सिटी विगत ५० वर्षदेखि उच्च शिक्षा क्षेत्रमा उत्कृष्टता सहित संचालित प्रतिष्ठित शैक्षिक संस्था हो।

गढवा–६ बालाखुट्टीमा श्रीमद्भागवत धनधाञ्याचल सप्ताह तथा श्रृंगारिक महाआरती हुने

गढवा, २५असोज । गढवा गाउँपालिका–६ बालाखुट्टी चौरस्थित देवी मन्दिर परिसरमा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म श्रीमद्भागवत धनधाञ्याचल सप्ताह तथा श्रृंगारिक महाआरती आयोजना हुने भएको छ। सो कार्यक्रम अन्तर्गत राधा–कृष्ण मन्दिर स्थापना, धार्मिक पार्क र धर्मशाला निर्माणका लागि सहयोग संकलन अभियान समेत सञ्चालन गरिने बताइएको छ।

कार्यक्रमको तयारीका विषयमा शुक्रबार बालाखुट्टीमा गाउँ समाजका अगुवा, समाजसेवी, बुद्धिजीवी र आस्थावान भक्तजनहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

छलफल कार्यक्रम बालाखुट्टी दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूले श्रीमद्भागवत धनधाञ्याचल सप्ताह तथा श्रृंगारिक महाआरतीलाई भव्य र अनुशासित रूपमा सम्पन्न गर्न आवश्यक तयारी, प्रचार–प्रसार, व्यवस्थापन र सहयोग जुटाउने रणनीतिबारे सुझाव दिनु भएको थियो।

छलफलबाट कार्यक्रम सञ्चालनका लागि विभिन्न उपसमितिहरू गठन पनि गरिएको छ। आर्थिक व्यवस्थापनका लागि बिन्ती राम यादवको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति र व्यवस्थापन तथा सहयोगका लागि जोगीलाल भण्डारीको संयोजकत्वमा ४ सदस्यीय स्वयम्सेवक समिति गठन गरिएको छ, जसमा आवश्यकताअनुसार थप सदस्यहरू समावेश गरिनेछ।

बालाखुट्टी दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यादवले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीकका रूपमा हुने यो सप्ताहिक कार्यक्रमले स्थानीय समुदायमा श्रद्धा, सहकार्य र आध्यात्मिक चेतना बढाउने विश्वास व्यक्त गर्नुभयो।