गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ: विकास र खर्चको प्रतिवेदन सार्वजनिक

गढवा,३२ असार । दाङ देउखुरीको गढवा गाउँपालिकाको सावैजनिक सुनुवाइ कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा बुधबार सम्पन्न भएको छ।

गाँउपालिकाले आर्थिक वर्ष २०८१/०८२ श्रावणदेखि असार महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्यालले पालिकाले आर्थिक वर्ष २०८१/०८२ वित्तीय प्रगति(आमदानी) प्रस्तुत गर्दै प्रदेश सरकार अनुदान रकमको ७१.0२प्रतिशत, समानीकरण तर्फ १०० प्रतिशत, ससर्त चालु अनुदान ५६.६७प्रतिसत, ससर्त पुँजीगत अनुदान ५७.८६ प्रतिशत विशेष अनुदान ६३.८ प्रतिशत सम्पुरक अनुदान ६१.५७ प्रिशत प्रगति भएको प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी वित्तीय प्रगति खर्चको चालु तर्फ ९०.६७ प्रतिशत पुँजीगततर्फ ७५.८७ प्रतिशत जम्मा ८४.३१ प्रतिशत खर्च भएको समष्टिगत रुपमा पालिकाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी खर्चतर्फ आर्थिक विकासतर्फ ८८.४५ प्रतिशत, कृषितर्फ ९०.७८प्रतिशत, उद्योगतर्फ ६४.७६ प्रतिशत पर्यटनतर्फ ९६.९४ प्रतिशत सहकारी ६३.६५ प्रतिशत जलस्रोत तथा सिचाईमा ८८.५८ प्रतिशत वन वातावरणमा ९७.५४ प्रतिशत पशुपन्छी विकास शाखा तर्फ ८६.५६ प्रतिशत भएको प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी कर्मचारीतर्फ ११५ जना कर्मचारी, ४४ जना जनप्रतिनिधि तथा १८२ शिक्षकहरु गरी ३४१ जनाको सम्पत्ति विवरण बुझाइएको प्रतिवेदनमा प्रस्तुत गर्नुभयो। त्यसैगरी २ लाख ६० हजार २५० घनमिटर नदिजन्य पदार्थको घाटगद्दीगरी १ लख ६३ हजार घनमिटर बिक्री गरिएको ल ९७ हजार २५० घनमिटर बाकी रहेको प्रस्तुत गर्नु भयो।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो तथा सुझाव राख्दै संघ संस्था,राजनितीक दलका प्रतिनिधी तथा सेवाग्राही नागरिकहरुले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने, विकाश निर्माणका कामहरु, पालिकाको विभिन्न शाखाबाट दिने सेवाहरु, नदीजन्य पदार्थको चोरी तस्करी रोक्ने बारेमा सुझबुझका साथ सार्थक र उपलब्धि मुलक भए नभएको वारे मुल्यांकन गरी सेवा प्रवाह गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले गढवा गाउँपालिका वडा नम्बर १ देखि ८ सम्मका सबै वडामा भएका कार्यक्रमहरुको प्रगति र सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो । साथै पालिकाको बिभिन्न शाखामा भएको प्रगतीको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा स्थानिय समुदायले गाउँपालिकाका काम कारवाही र गुनासोको वारेमा प्रश्न राखेका थिए । अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा सम्वन्धित प्रश्नको उत्तर सम्वन्धित निकायबाट जनप्रतिनिधि तथा विषयगत प्रमुखवाट दिईएको थियो ।

गाउँपालिकाले श्रावण देखि असार महिनासम्म आर्थिक वर्ष २०८१/०८२ गरेको कामको वारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशसकिय अधिकृत कृष्ण प्रसाद पौड्याल, २ नम्बर वडाध्यक्ष भक्तु चौधरी, ३ नम्बर वडाध्यक्ष तुलसीराम अधिकारी,५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, त्यसैगरी कार्यपालिका सदस्यहरु, वडासदस्य, स्थानिय समाजसेवी, वुद्धिजीवि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सरोकारवाला, महिला समूह, टोल विकास संस्थाका अध्यक्ष, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय मुक्त कम्लहरी विकास सञ्चकी संयोजक ज्ञानु थापा, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, गढवा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रकी अध्यक्ष ओभा पाठक, राष्ट्रिय जनमोर्चाका गढवा गाउँपालिका अध्यक्ष कपिलदेव खनाल,चेतनशिल महिला समाज केन्द्रकी सकुन्तला डिसी, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा, व्यवसायी तथा शिक्षाप्रेमी चित्र बहादुर रावत क्षेत्री,शिक्षक कमला पौडेल,समाजसेवी सिताराम यादव, स्थानीय युवा दिपक चौधरी लगायतकाले सल्लाह सुझाव तथा आउनेदिनमा के कस्ता कार्यक्रम र कसरी अघि बढ्ने बारे बिचार राख्नु भएको थियो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

गढवा गाउँपालिकाको आयोजना तथा आविष्कार मिडिया प्राइभेट लिमिटेड देउखुरीको सहजिकरणमा सम्पन्न भएको हो। गढवा गाउँपालिकाको आयोजनामा सम्पन्न भएको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण आविष्कार मिडिया प्राइभेट लिमिटेड दाङका पुष्पा पौडेल, उमानाथ यादव, युगबोध राष्ट्रिय दैनिकका प्रतिनिधि तथा पत्रकार शिवराज पन्थी, गणतन्त्र नेपाल डटकमकाका कृष्ण पन्थीले गर्नुभएको थियो।

दाङको घोराहीमा मोटरसाइकल दुर्घटनामा परी गढवाका दुई जनाको मृत्यु

दाङ, ३० असार । दाङ, ३० असार । दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जना किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाउँपालिका- ८  मुसिनाक घर भई घोराही उपमहानगरपालिका-१७ भैँसाहीमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।

दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरिक्षक शाहका अनुसार रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ बजेतिर आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुवै जनाको शबलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

नागरिकलाई स्वास्थ्यमा पहुँच पुराउन नगर अस्पतालको आवश्यकता: सविन प्रियासन

दाङ, ३० असार ।स्वास्थ्य सेवा हरेक नागरिकको नैसर्गिक अधिकार हो । संविधानले प्रत्याभूत गरेको यो अधिकार सुनिश्चित गर्न राज्यले नीति, कार्यक्रम र योजना तर्जुमा गर्दै आएको छ । तर त्यो व्यवहारमा नागरिकले अनुभूति गर्ने गरी लागू नहुञ्जेलसम्म संविधानको व्यवस्था मात्रै पर्याप्त हुँदैन । स्वास्थ्य सेवा पहुँच योग्य, गुणस्तरीय र सर्वसुलभ हुनुपर्छ । घोराही उपमहानगरपालिका नेपालकै सबै भन्दा ठूलो उपमहानगर हो । यहाँका जनसंख्या घनत्व, भूगोल, शहरीकरणको गति र जनस्वास्थ्यको अवस्था हेर्दा घोराहीमा सरकारी अस्पतालको अपरिहार्यता अब बहसको विषय होइन, कार्यान्वयनको विषय हो । घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको सन्दर्भमा कतिपयले यो क्षेत्रको स्वास्थ्य सेवा पर्याप्त छ भन्ने भ्रम पालेका छन् । तर यो अर्ध–सरकारी शैक्षिक संस्था हो । यसका आफ्ना प्रशासनिक, कानुनी र आर्थिक सीमाहरु छन् । प्रतिष्ठान विशेषज्ञ सेवा र एमबिबिएस पढाईमा केन्द्रित छ, तर सर्वसाधारणका लागि आवश्यक प्रारम्भिक, आधारभूत तथा सुलभ सेवामा पहुँच दिन यसले सक्दैन । राज्यले दिने कतिपय निःशुल्क औषधी, प्रसूति सेवा, बालस्वास्थ्य, वृद्ध सेवा, विपन्न उपचार कोष जस्ता कार्यक्रमहरु प्रतिष्ठानमा सहजरुपमा लागू नहुनु यसको स्पष्ट प्रमाण हो । यसैले घोराहीमा एउटा पूर्ण सरकारी अस्पतालको आवश्यकता अत्यावश्यक बन्दै गएको छ ।

यस सन्दर्भमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित भकारेमा निर्माणधीन नगर अस्पतालको भवन अब अन्तिम चरणमा पुगेको छ । निकै पहिले नै निर्माण भइसकेर सेवा दिनुपर्ने यो संरचना ढिलै भए पनि अब पूर्णतातर्फ अग्रसर हुनु स्वागतयोग्य छ । तर भवन निर्माण मात्रै अस्पताल हुँदैन । भवनको ढोका खुल्नु र अस्पताल सञ्चालन हुनुबीचको खाडललाई मेट्न पालिकाले सक्रियता देखाउन आवश्यक छ । अस्पताल सञ्चालनका लागि जनशक्ति, उपकरण, औषधी, बजेट, सेवा मोडेल र व्यवस्थापन नीति स्पष्ट हुनुपर्छ । यसका लागि पालिकाले अझ बढी दवाव, निगरानी र पहल गर्नुपर्ने देखिन्छ ।

नगर अस्पताल सञ्चालन भएपछि यसलाई ‘रिफरल बेस’ को रुपमा विकास गर्न सकिन्छ । आधारभूत जाँच, परीक्षण, साना शल्यक्रिया, मातृशिशु स्वास्थ्य सेवा, आकस्मिक सेवा, वृद्धवृद्धा मैत्री सेवा जस्ता कार्यक्रम नगर अस्पतालबाट सहजै सञ्चालन गर्न सकिन्छ । यसले राप्ती प्रतिष्ठानमा पर्ने सेवाको चापलाई कम गर्नसक्छ भने नागरिकले सहजै गुणस्तरीय सेवा नजिकबाट प्राप्त गर्न सक्छन् । यस्तो नगर अस्पतालको सञ्चालन र विस्तारका लागि प्रदेश र संघीय सरकारसँग समेत समन्वय गर्नुपर्छ । जनताको करबाट संकलन भएको रकम जनस्वास्थ्यमा खर्चिनु सबैभन्दा प्राथमिकतामा पर्नुपर्ने विषय हो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको अवस्थामा घोराही नगर अस्पताललाई नमूना अस्पताल बनाउने दीर्घकालीन योजना बनाउनुपर्ने हुन्छ ।

यसका साथै, नगर अस्पतालको सेवा सबै वर्ग, क्षेत्र र हैसियत भएका नागरिकका लागि सुलभ होस् भन्ने सुनिश्चित गर्नुपर्छ । गरीब, असहाय, अपांग, वृद्धवृद्धा, एकल महिला र विपन्न वर्गका लागि छुट्टै विनियोजन आवश्यक हुन्छ । अस्पतालको व्यवस्थापन जनउत्तरदायी, पारदर्शी र गुणस्तरीय हुनुपर्छ । कर्मचारीको मनोबल उच्च राख्ने वातावरण बनाउनुपर्छ । घोराहीजस्तो रणनीतिक, प्रशासनिक र शहरी विकासको केन्द्रमा सरकारी अस्पतालको अभाव लाजमर्दो विषय हो । नगर अस्पतालको निर्माण अन्तिम चरणमा पुगिसकेको अवस्थामा यसलाई यथाशीघ्र सञ्चालनमा ल्याउनु, आवश्यक पूर्वाधार तयार गर्नु, दक्ष जनशक्ति नियुक्त गर्नु, सेवा संरचना परिभाषित गर्नु र बजेट सुनिश्चित गर्नु घोराही उपमहानगरपालिकाको प्रमुख जिम्मेवारी हो । संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सेवाको अधिकारलाई व्यवहारमा उतार्न घोराहीको नगर अस्पताल एउटा महत्वपूर्ण पाइला बन्न सक्छ । यसले ‘स्वस्थ नगर–समृद्ध नगर’ को यात्रामा घोराहीलाई उदाहरणीय बनाउनेछ ।