दार्शनिक सुकरात र उनका जीवनाेपयाेगी कुरा

पुरानो एथेन्स सहरमा सुकरात नामका एक जना विद्वान् बस्थे। उनले जीवन र जगतका कुरालाई सरल तरिकाले बुझाउँथे। त्यसैले सहरका सबैले उनलाई गुरु मान्थे।

एक पटकको कुरो हो। साँझपख सुकरात बजारबाट एक्लै घर फर्किँदै थिए। त्यतिबेलै सहरको एकजना मान्छे पछाडिबाट हतारिँदै हतारिँदै उनको छेउमा आयो।

“सुकरात गुरु!” उसले भन्यो,

“तपाईंका एक जना साथीको बारेमा एकदमै चाखलाग्दो कुरा थाहा पाएको छु।”

सुकरातले उसलाई हेरे, मुस्कुराए तर केही बोलेनन्। उनी एकछिन शान्त रहे, अनि उसको आँखामा हेर्दै भने,

“तिमी थाकेका छौ, आऊ, हामी यहाँ छायामा बसौँ।”

दुवैजना बसे। त्यो मान्छे अझै बेचैन थियो।

“गुरु, यो त तपाईंलाई छक्क पार्ने कुरा हो! भनूँ?”

उसले जोड ग-यो।

तर सुकरातले शान्त स्वरमा भने,

“मैले एउटा नियम मान्दै आएको छु। यदि त्यो कुराले ‘तीनवटा फिल्टर’ पार गर्छ भने मात्र तिमीले त्यो कुरा मलाई सुनाउला र म सुनम्ला।”

त्यो मान्छे अलमलमा प-यो। “कस्तो तीनवटा फिल्टर हो गुरु?”
“पहिलो फिल्टर चैँ के भने त्यो कुरा तिमीले आफैँ देखेको वा सुनेको हो कि होइन?

अनि तिमीले के निष्कर्ष निकालेका छौ? मतलब त्यो सुनेको कुरा पक्का सत्य हो त?”

त्यो मान्छे केहीबेर चुप लाग्यो।

“सुन्या कुरो हो। साँच्चै हो कि होइन त म पक्का भन्न सक्दिनँ। मैले त्यो पत्ता लगाउन मतलब नै राखिनँ।”

सुकरातले टाउको हल्लाए।

“दोस्रो फिल्टर के भने त्यो कुरा कसैलाई केही काम लाग्नेवाला मतलब कोही न कोहीलाई उपयोगी छ कि नाइँ? मेरो वा अरू कसैको भलो हुने खालको क्या!”

“छैन। काम त कसैलाई लाग्दैन!” त्यो मान्छे खिसिक्क हाँस्यो।
“र अन्तिम फिल्टर के भने त्यो कुरा कसैलाई काम नलागे पनि, सुन्न मात्र भए पनि प्रिय वा मन प्रशन्न बनाउने खालको छ त?अथवा तिमीले मेरो साथीको कुरा भन्दै थियौ!

त्यसले मेरो साथीको इज्जत बढाउँछ त वा मलाई खुसी ल्याउँछ त्यो कुराले?”

“कताबाट त्यस्तो होस्! बरु उल्टै होला।तपाईँलाई बरु रिस उठ्ला!” त्यो मान्छेले जवाफ दियो।

त्यसपछि सुकरात बसेको ठामबाट जुरुक्कै उठे र मुस्कुराउँदै भने,

“एउटा कुरा जुन न सत्य छ, न उपयोगी छ, न त कसैलाई खुसी बनाउने नै! त्यस्तो कुरा किन सुन्नु? मलाई नसुनाउने मात्र होइन त्यस्ता अनावश्यक कुरा तिमीले पनि मनमा नराख। बिर्सी हाल।”

सुकरातका यो कुरा सुनेर त्यो मान्छे लज्जित भयो। उसले आँखा झुकायो र केही नबोली फर्कियो।

*** ****
आज हामीसँग प्रविधिले गर्दा निकै ब्यस्त जीवन शैली हुँदाहुँदै पनि कुरा गर्न र लेख्न पढ्नलाई प्रशस्त फुर्सदको समय पनि छ।

हात हातमा मोबाइल छ र विश्वका जुनसुकै कुनासँग हाम्रो पहुँच छ। हामी लेख्छौँ, पढ्छौँ, कमेन्ट गर्छौँ; मानौँ, सबै कुरा हामीलाई थाहा छ।

तर ती कुराहरू साँच्चै साँचो हुन्छन् त? ती सबै कुरा उपयोगी हुन्छन्? अनि हामीले बोले लेखेका कुरामा दया वा माया हुन्छ वा ती कुराको प्रभावले कसैको अनुहार र मनमा खुसी ल्याउँछ?

यी प्रश्न अहिलेको डिजिटल युगमा हामी हरेकले सोच्नुपर्ने कुरा हुन्। किनभने ऐले हामीलाई लेख्न र बोल्न अचम्मै सजिलो भएको छ, प्रविधिले गर्दा।

ख्याल राख्नुपर्ने पहिलो कुरा हो सत्यता।

कुनै पनि कुरा अरूलाई भन्नुअघि वा सामाजिक सञ्जालमा पोस्ट गर्नुअघि त्यो कुरा कत्तिको साँचो छ भनेर जाँच्नुपर्छ। कुनै पनि सूचनालाई आँखा चिम्लेर विश्वास गर्नु वा फैलाउनुअघि त्यसको स्रोत र सत्यता पत्ता लगाउनु एकदमै जरुरी छ।

दोस्रो कुरा हो उपयोगिता।
हामीले भन्न लागेको कुरा कसैका लागि उपयोगी छ त? यसले कत्तिको राम्रो प्रभाव पार्छ? यदि हाम्रो शब्दले कसैको जीवनमा सुधार ल्याउँदैन वा कुनै अर्थपूर्ण सहयोग पुर्‍याउँदैन भने त्यसलाई बोलेर के फाइदा?

सामाजिक सञ्जालमा हामी अनावश्यक कमेन्ट र झगडामा अल्झिरहेका हुन्छौँ जसले समय र ऊर्जा (इनर्जी) को बर्बादीबाहेक केही गर्दैन।

अन्तिम र सबै मान्छेको मनसँग जोडिएको तेस्रो कुरा हो हामीले बोल्न लागेको कुरामा दया, माया वा सद्भाव छ?

यसले कसैलाई चोट पुर्‍याउँदैन वा कसैको चित्त दुखाउँदैन भन्ने लाग्छ? आजभोलि साइबरबुलिङ र घृणायुक्त कमेन्टले समाजमा नकारात्मकता बढाइरहेका छन्।

यसरी सुकरातको यो ‘तीन फिल्टर’ विधि त्यो बेलाको नीति कथा मात्र होइन यो अहिलेको डिजिटल युगमा हामी हरेक सचेत नागरिकका लागि एउटा महत्त्वपूर्ण सिद्धान्त पनि हो।

जब हामी कुनै पनि जानकारी सेयर गर्छौँ, कमेन्ट गर्छौँ वा आफ्नो विचार व्यक्त गर्छौँ त्यतिबेला यी तीनवटा फिल्टरलाई आफ्नो मनमा राख्न सकेमा हामी सबैलाई धेरै ठुलो कुरो केही नभए पनि नराम्रो चैँ हुँदैन, राम्रो नै हुन्छ।

साभार: सामाजिक सञ्जाल

 

ज्ञानज्योतिको टोलीद्वारा वर्षाको लागि खाद्यान्न, शैक्षिक सामग्र सहयोग

दाङ, ८‌ साउन । घोराही बनाऔं अभियानको अगुवाईमा विद्यालयमा पुनः पाइला राखेकी ९ वर्षिया वर्षा पुन मगरलाई ज्ञानज्योति एजुकेशनल एकेडेमीको टोलीले उनी बस्ने ठाउँमै पुगेर खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ ।

बिहीबार विहान ९ बजेतिर घोराही–७ पर्सास्थित ग्लोबल एकेडेमीमा अध्ययनका लागि जान तयार भएकी वर्षालाई ज्ञानज्योतिको टोलीले उनी बस्ने फुपु, फुवाजुको घरमै पुगेर दुईबोरा चाम, आलुलगायतका खाने कुरा र कापीहरु सहयोग गरेको हो । ज्ञानज्योतिमा सामाजिक कार्य गर्नका लागि विद्यार्थीहरुले स्वतस्फूर्त तरिकाले मुठिदानबाट चामललगायतका सामाग्री संकलन गर्ने र यस प्रकारको संकलित सामाग्री आवश्यक पर्ने ठाउँमा सहयोग गर्दै आएको विद्यालयका प्रिन्सीपील लक्ष्मीप्रसाद बुढा मगरले जानकारी दिनुभयो । उहाँले ज्ञानज्योतिको तर्पmबाट पनि दुःख पाएका विद्यार्थीहरुलाई पढाउने कार्यक्रम भएको, हाल एकजनालाई पढाई रहेको र थप दुईजना विद्यार्थीलाई आफुहरुले निशुःल्क पढाउन सक्ने भएकाले घोराही ब नाऔं अभियानलाई यसको संयोजन गर्नका लागि अनुरोध गर्नुभयो । ज्ञानज्योतिमा विद्यार्थीहरुलाई दक्ष र क्षमतावान, सिपयुक्त बनाउनका लागि तालिका बनाएर सिर्जनशील कार्यहरु गरिरहेको समेत प्रिन्सीपल बुढाको भनाइँ छ ।

घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा वर्षालाई खाद्यान्न सहयोग वितरण गरिएको थियो । सो अबसरमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर घर्ती मगर, विद्यालयका संस्थापक शेयर सदस्य भिमबहादुर केसी, शिक्षक नवीन आचार्यलगायतको सहभागिता थियो ।

गढवामा – ५ जमुनीबासमा मोटरसाइकल दुर्घटना, दुई युवा गम्भीर घाइते

गढवा, ८ श्रावण। गढवा गाउँपालिका–५ जमुनीबासस्थित कोइलाबास हुलाकी सडकखण्डमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवक गम्भीर घाइते भएका छन्।

ईलाका प्रहरी कार्यालय गढवाका अनुसार बिहीबार बिहान २ बजेर १५ मिनेटतिर भे २ प ८१५६ नम्बरको मोटरसाइकल जमुनीबास पुलबाट अनियन्त्रित भई तल खस्दा मोटरसाइकलमा सवार दुवै जना घाइते भएका हुन्। दुर्घटनामा परेका दुबै जना राजपुर गाउँपालिका–२ बेला निवासी २८ वर्षीय जीवन विक र सोही ठाउँका २८ वर्षीय खुमबहादुर खड्का रहेका छन्।

दुर्घटनापछि दुवैको टाउको र छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचार लमही र घोराहीका अस्पतालमा गरिएको भए पनि थप उपचारका लागि बुटवल रिफर गरिएको एम्बुलेन्स चालक ट्रेड युनियन संघ दाङका अध्यक्ष देविराज चौधरिले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार रातको समयमा सांस्कृतिक कार्यक्रम (नाच) हेरेर फर्किने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।