३० दिनभित्र रोक्का जग्गा फुकुवा गर्ने सहमतिपछि आन्दाेलन स्थगित

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको रोक्का जग्गा फुकुवाको माग गर्दै सञ्चालन गरेको रिले अनसन स्थगित भएको छ ।

लुम्बिनी प्रदेश सरकार र आन्दोलनरत पक्षबीच बिहीबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले अवको ३० दिनभित्र रोक्का जग्गा फुकुवा गर्ने सहमतिमा हालका लागि अनसन स्थगित गरिएको नागरिक जनदवाव तथा संघर्ष समितिका प्रवक्ता मिनराज अधिकारीले जानकारी दिएका छन् । गत वैशाख १७ गतेदेखि नागरिकस्तरबाट नागरिक जनदवाब तथा संघर्ष समिति गठन गरी नागरिककै अगुवाईमा आन्दाेलन घाेषणा गरी वैशाख १९ गतेदेखि दवाबमुलक आन्दाेलनस्वरूप पहिलाे चरणमा रिले अनसनकाे गरेपछि दसाैं दिनका दिन सरकारले वार्तामा बोलाएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीकाे अध्यक्षतामा बसेकाे क्याबिनेट बैठकले जग्गा फुकुवाका लागि विनाविभागिय मन्त्री धनबहादुर मास्कीकाे संयोजकत्वमा  जग्गा फुकुवाकाे लागि पहल तथा सिफारिस समिति समिति गठन गरेकाे हाे।

समितिसँग बढीमा ३० दिनकाे समयभित्र जग्गा फुकुवा गर्ने सहमति भएको प्रवक्ता अधिकारीले गणतन्त्रनेपाललाइ जानकारी दिएका छन् । हालका लागि रिले अनशन स्थगन मात्र गरिएकाे आन्दाेलन फिर्ता नभएको अधिकारीले बताएका छन् । समितिले अध्ययन तथा प्रतिवेदन तयारीका लागि ३० दिनकाे समय माग गरेअनुरुप साे अवधिसम्म अनसन मात्र स्थगन गरिएकाे हाे।

तत्कालीन प्रदेश ५ सरकारले राप्ती गाउँपालिका पुरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ गरी कुल १४ वडालाई २०७७ असोज २० गते स्थायी राजधानी स्थल घाेषणा गरेकाे थियाे ।  स्थायी राजधानी घाेषणा हुनुपुर्व नै २०७७ असोज १६ देखि हालसम्म गरी (३२ महिना देखि) सो क्षेत्रको जग्गा तत्कालीन मन्त्रिपरिषदले रोक्का गरेको थियो।

लामाे समयसम्म जग्गा राेक्का हुँदा आम सर्वसाधारणकाे दैनिकी, शिक्षा, स्वास्थ्य, एवम् उद्याेगी, व्यावसायीहरूकाे व्यापार व्यवसायीमा समस्या परेकाे छ भने अंशबन्डा, किनबेच तथा बैंक एवम् वित्तिय संस्थाहरूबाट ऋण लिन समस्या भएको छ ।

राजधानी स्थलका १४ वटा वडाका कृषक, उद्याेगी, व्यावसायीलगायत आम सर्वसाधारणहरुलाई परेकाे असरलाई मध्य नजर गर्दै लामाे समयदेखि विभिन्न चरणमा, विभिन्न संघ संस्था राजनैतिक दलहरुबाट लिखित तथा माैखिक ध्यानाकर्षण गराउँदासमेत प्रदेश सरकारले जग्गा फुकुवामा बेवास्ता गरेपश्चात् २०८० वैशाख १७ गतेदेखि नागरिकस्तरबाट नागरिक जनदवाब तथा संघर्ष समिति गठन गरी आन्दोलन सुरू भएको थियो ।

 

दाङको गढवामा देखियो डर लाग्दो रोग, सहयोगको लागि सबैमा अपिल

गढवा, २८ बैशाख । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले गर्दा उपचारत छन् । ५७ बर्षिय पिडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही ठाउँमा समेत औषधी उपचारका लागि जानु भयो तर नत रोग पत्ता लाग्यो नत सञ्चो नै भयो।

हल्लु नारायण चौधरी आफै घरमुली भएकोले आर्थिक समस्या परेको बताउनुभयो। हल्लु नारायण चौधरीको एक छोरा र दुई छोरी श्रीमती रहेका छन्। दुई छोरीको बिहे भैसकेको छ भने छोराको पनि बिहे भैसकेको छ तर आयस्रोत भने केही नभएको पिडितका छोरा प्रदिप चौधरीले बताउनुभयो। अचम्मको रोगले छोएपछी चौधरी परिवार यतिबेला बिक्षिप्त बनेको छ।

औषधी उपचारको लागि विभिन्न अस्पातलमा पुर्याउदा पनि केही सुधार नभएको र झन बढ्दै गएको परिवारिक स्रोतले बतायो। विभिन्न ठाउँमा उपचार हेरचाह गरेरै भएको पैसा जती खर्च गरी सकियो आफन्तले पनि सक्दो सहयोग गरे । अब त न पैसा छ न उपचार गर्ने थप रकम नै । गरीब हुनु पनि पिडा नै रहेछ । मलिन अनुहारमा हल्लु नारायण चौधरीका छोरा प्रदिप चौधरीले भने। विभिन्न ठाउँमा पुग्दा डाक्टरले दिएको आश्वासनको पोको थापेर मनभरी गाँठो पार्दै सबैबाट सहयोग पाउने आशामा रहेको बताउनुभयो। समाजमा हरेक सुख दुखमा मेरा बुवा पनि हिंड्ने गर्नुहुन्थ्यो आज आँफैलाई परेको बज्रपातबाट पीडित छु कस्लाई र को सँग सहयोग मागुँ ।

भन्दै सहयोगको याचना गरी रहेको छु चौधरीले भन्नुभयो । यद्दपी सहयोग गरिदिन सबैमा अपिल पनि गर्नुभएको छ । सहयोगका लागि एनआईसि एसिया बैंक गढवा शाखाको प्रदिप चौधरी (PRADIP CHAUDHARY) (बिरामीका छोरा) नाममा खाता नम्बर – ३५२५७५२५०८१५४००१ रहेको छ । सम्पर्क नम्बर- ९८०९५३३१२२, ९८२२८८३०५३ रहेको छ ।

गढवाको चैनपुरमा एक महिने एड्भान्स कटाई सिलाई तालिम सम्पन्न 

गढवा, २७ बैशाख । गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित एक महिने कटाई सिलाई तालिम सम्बन्धी थप एड्भान्सको तालिमको बुधबार गढवाको वडा नम्बर ५ चयनपुरमा समापन गरिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा तथा इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओलीको बिशिस्ट आतिथ्यमा समापन गरिएको हो ।

एक महिने एड्भान्स तालिमको समापन कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले कटाई सिलाई तालिम सिकेर व्यावसायिक रुपमा स्थापित नहुंदा सम्म तालिमको मुख्य उद्देश्य पुरा नहुने बताउनु भयो। तालिम सिक्नुको मतवल व्यवहारमा लागु गर्नु भएको बताउदै उपाध्यक्ष चौधरीले सके व्यक्तिगत नसके सामुहिक रुपमा व्यवसाय गर्नु पर्ने बताउनु भयो ।

त्यसैगरी समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले कटाई सिलाई तालिम आजको आवश्यकता भएको तर तालिम पश्चात कुनै पनि ब्यक्ति अथवा समूहले तालिमलाई व्यवहारमा उतार्न नसक्दा तालिमको प्रतिफल शुन्य देखिएको बताउनुभयो। तालिम सिकेर घरको कपडा कटाई सिलाई गर्नु पनि ठुलो उपलब्धि भएको बताउदै व्यवसायीक रुपमा काम गर्न चाहे वडा बाट पनि सबै खाले सहयोग हुने बताउनु भयो।

कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर ४ र ५ का गरी कुल २० जना महिलाहरु एड्भान्स तालिममा सहभागी भएका हुन्।

समापन कार्यक्रममा गढवा गाउँपालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, प्रमिला महतरा क्षेत्री, राजकुमारी यादव, उद्यम विकास सहजकर्ता बिनु भुजेल, लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण उद्यम विकास सहजकर्ता मिना चौधरीले गर्नु भएको थियो ।