गढवा गाउँपालिकाद्वारा कृषकहरुलाई कृषि सामाग्रीहरु वितरण 

गढवा, २५ बैशाख । दाङको गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि बिकाश साखा अन्तर्गत सञ्चालित बागवानी विकाश कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा कार्यक्रम साना कृषि सामाग्रीहरु बुधबार वितरण गरेको छ।

बिभिन्न कृषि समूह,सहकारी र फर्महरुलाई इलेक्ट्रिक स्प्रेयर ट्याङ्की, प्लास्टिक टनेल, प्लास्टिक मल्चिङ, थोपा सिँचाइ सामाग्रीहरु वितरण गरेको कृषि विकास शाखा प्रमुख कर्ताराम यादवले जानकारी दिनु भयो।

हजारी र सिकेचर ५० प्रतिशत अनुदान र अन्य ७५ प्रतिशत अनुदानमा ४५ समूह, सहकारी र फर्म गरी ८० जनालाई वितरण गर्ने कार्यक्रम रहेको कृषि शाखाले जानकारी दिएको छ ।

कृषि सामाग्रीहरु वितरण गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कृषकहरु संग आवश्यकता अनुसारको कृषि सामाग्रीहरु माग गर्न अनुरोध गर्नु भयो ।तपाईहरुको कृषि पेसालाई कसरी सहज हुन्छ, के के कृषि सामाग्रीहरु चाहिन्छ कृषि शाखालाई भन्नुस् त्यसको व्यवस्थापन पालिकाले गर्छ तर कृषिमा आत्मनिर्भर हुने हिसावको कृषि पेसा अंगाल्नुपर्ने बताउनुभयो। खेती योग्य जमिन उत्पादनमा कमी हुनु, बालीनाली राम्रो नहुनु माटोको खराबी भएको बताउदै माटो परीक्षणका लागि छिट्टै व्यवस्थापन गर्ने र पालिका भरीको माटो परीक्षण गराई आवश्यकता अनुसारको औषधी वितरण गर्ने बताउनु भयो।

कृषि सामाग्रीहरु वितरण कार्यक्रमको सहजिकरण कृषि विकास शाखाका प्रमुख कर्ताराम यादवले गर्नु भएको थियो ।

 

राप्ती उपत्यकामा जग्गा फुकुवा तथा राजधानी विकासका लागि जग्गा एकिकरणको बारेमा छलफल

गढवा, २६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री, स्थानीय सरकारका प्रमुखहरु र क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य सरोकार वाला निकायहरुको उपस्थितिमा राप्ती उपत्यकामा रोक्का रहेका जग्गा फुकुवा तथा राजधानी विकासका लागि जग्गा एकिकरणको बारेमा छलफल कार्यक्रम मंगलवार लुम्बिनी प्रदेश सरकारको सभालयमा सम्पन्न भएको छ ।

छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकारको मुख्य लक्ष्य राजधानीको विकाश र व्यवस्थापन गर्ने रहेको बताउनुभयो। तपाईहरुको जग्गा तपाईँ हरुको सम्पती प्रदेश सरकारको काम बनाउने मात्र भएको बताउदै ल्याण्ड पुलिङमा सर्वाधिकार जग्गाधनीको भएको मुख्यमन्त्री चौधरीले बताउनु भयो ।

जग्गा एकीकरण आयोजनाको हाल सम्मको गतिविधि प्रस्तुत गर्दै लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छबीराज पोख्रेलले हाल सम्म भएको गतिविधि बारेमा जानकारी गराउनु भएको थियो।

 

जग्गा फुकुवा तथा राजधानी ब्यवस्थापनको लागि जारी नागरिक जवदवाव तथा संघर्ष समिति, शान्तिपूर्ण रिले अनसन कार्यक्रमका तर्फ बाट बोल्ने वक्ताहरुले कयौ घर परिवारको घरमा दिर्घ रोगी बिरामीहरु रहेको र जग्गा फुकुवा नहुंदा मर्ने अवस्था आईपरेको बताउदै जग्गा फुकुवा गर्न माग गरे ।राज्य संग अधिकार माग्न आएको बताउदै बैकमा ऋण भएको र ऋण भुक्तानी नगर्दा जग्गा लिलाममा हुने अवस्था भएको बताउदै यथासिघ्र जग्गा फुकुवा गर्नु पर्ने बताउनु भयो । एक साता पछी पुनः छलफल गर्ने भन्दै बैठक सकिएको छ

गढवा लमही सडकखण्डमा स्कुल बस र अटो दुर्घटना, तिन जना घाइते

लमही, २६ बैशाख । लमही नगरपालिका -४ चैलाही स्थित स्कुल बस र अटो एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन । घाइते हुनेमा गढवा गाउँपालिका- ६ गढवा बजार निवासी ७२ वर्षिय वन बाताबरण संरक्षण समन्वय समिति गढवाका पुर्व अध्यक्ष उमाकान्त पन्त रहनु भएको छ ।

त्यस्तै गढवा गाउँपालिका -६ मधपुर निवासी वर्ष ४० कि रवि विश्वकर्मा, सोही ठाउँ निवासी ७२ वर्षिया जुठी वली पनि घाइते हुनु भएको छ । विश्वकर्माको अवस्था सामान्य छ भने वली र पन्तको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घाइते तीनै जना अटोमा लमही तर्फ आउँदै हुनुहुन्थ्यो ।

आज बिहान ९:३० बजेको समयमा गढवाबाट लमही तर्फ आउँदै गरेको रा १ ह २१५४ नम्बरको अटोलाई सोही दिशाबाट लमही तर्फ आउँदै गरेको प्रिन्स बोर्डिङ स्कुलको बा १ क ९०१० नम्बरको बसले ठक्कर दिंदा अटोमा सवार यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेहरु लाई लमही अस्पतालमा उपचार भैरहेको छ भने उमाकान्त पन्त लाई थप उपचारका लागि नेपालगज रिफर गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

ठक्कर दिने बस र चालकलाई लमही ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बसलाई अटोले ओभरटेक गर्न खोज्दा बसले ठक्कर दिएको प्रहरीले बताएको छ ।