एक पत्रकारको कोभिड डायरी – मृत्युको छायासँगको साक्षात्कार

कोभिड-१९ जित्नेहरुकाे कथा-१

अजवी पौड्याल

बन्द कोठाभित्र मुर्दा शान्ति छ । वरपर विल्डिङ बनाइरहेको आवाजले बेलाबेला झस्काउँछ, मलाई । ड्याङडुङ र घ्यार्रघुर्रको चर्को कम्पनले भित्रैसम्म झस्काउँछ ।

आइसोलेसन सेन्टरको झ्यालबाहिर परेवाका जोडीहरु पिरती साटिरहेका छन् । घरी सिसामा ट्वाक ट्वाक ठुँग्दै मलाई बोलाउँछन् त घरी ग्रिलभित्रै पसेर दादागिरी देखाउँछन् ।

म असहाय बनेर उनीहरुलाई हेरिरहेकी छु । टिफिनमा रहेको रोटीको केही टुक्रा लगेर झ्याल बाहिर राखिदिएँ । रोटी खोस्नको लागि काग र परेवाको तानातान हुन्छ । उनीहरुको यो हर्कतले मलाईभित्र सम्म खुसी लाग्यो । मुस्कुराउँदै बिस्कुटका थप केही टुक्रा राखिदिएँ । करिब १२ दिनदेखि उनीहरु मेरा हाँस्ने, बोल्ने र मुस्कुराउने साथी भएका छन् ।

कोठा छाडेर बहिर निस्कन पाएकी छैन । शरीरमा कोरोना भाइरसको लोडको सिटि भ्यालु १७ देखाएको छ । बाहिर असारे झरी दर्किरहेको छ ।

यो झरीसँगै दर्किरहेको छ मनभित्र जिन्दगी जीउने तिव्र जिजीविषा ।

००० ०००

झरी मनपर्ने मौसम हो मेरो । सिमसिम पानीको लहरमा धेरै पटक छाता बिना दौडिएकी छु म । रेनकोट नओढी कैयौं किलोमिटरको यात्रा स्कुटरमा एक्लै गरेकी छु मैले ।

बलेँसीमा तपतप चुहिएको पानीमा हात थाप्दै खुसीले उफ्रिरहन्थेँ । वेतोडको बतासको झोक्कसँगै दर्कने झरीले कुनै रोमान्टिक दृष्यको याद गराउँछ म मा । झरीलाई म स्वतन्त्रताको प्रतिकको रुपमा अपनाउँछु, जिन्दगीमा ।

आज पुनः यो झरीसँगै एकछिन बहकिन मन लाग्यो । वल्लो घरको कौसी र पल्लो घरको बार्दली गर्दै यता उता उडिरहेका परेवा सँगै उड्न मन लाग्यो । मनमा डर हटेको छैन । कोभिडलाई मैले शरीरबाट निकाल्छु या कोभिडले नै मलाई जिन्दगीवाट हटाउँछ यसै भन्ने स्थिति छैन ।

तै पनि झ्यालबाट सिरसिरभित्र छिर्ने बताससँगै थोरै सास फेर्ने जमर्को गरिरहेकी छु । परेवा र गौँथलीको चिरविरसँगै जिन्दगी बाँच्ने आशा सुसेली रहेकी छु । पहिलोपटक चराहरुको स्वतन्त्रता देखेर जलन भइरहेको थियो मलाई । आफन्त र माया गर्नेहरुको अनुहार सम्झेर झिनो खुसी समेट्ने कोसिसमा थिएँ ।

००० ०००

‘गुड इभिनिङ एभ्रिवान । प्लीज अपडेट योर भाइटल ।’ मोवाइलमा रहेको ह्वाट्सअप ग्रुपमा म्यासेजको टोन बज्यो । यतिखेर दिउँसोको ५ बज्यो ।

आइसोलेसनमा रहनुभएका मेडिकल टिमले हाम्रो स्वास्थ्यको जानकारी माग्नुभएको थियो । बेलाबेला आफ्नो शरीरको व्लडप्रेसर, तापक्रम, मुटुको चाल र अक्सिजन लेभल चेक गरेर म्यासेज गर्नुपर्दथ्यो हामीले ।

घरिघरि आउने यस्तो ह्वासट्अप म्यासेजले पुर्नताजगी दिन्थ्यो हामीलाई । हामीलाई खबर सोध्ने कोही त छ ? अफ्ठ्यारो परिहाले सजिलै उपचार पाइन्छ भन्ने भरोसाले पनि जिन्दगी बाँच्ने रहर लाग्थ्यो ।

००० ०००

मेडिकल इन्चार्ज डाक्टर रबिन बस्नेत, डाक्टर नेहाल अशरफसँगै अन्य ६ जना नर्सहरुको टिमको निगरानीमा थिएँ म । थोरै तल माथि भए टिममा म्यासेज पठाएर खबर गर्न सक्थेँ । डाइरेक्ट फोन गरेर सोधपुछ गर्न पनि सकिन्थ्यो । यसर्थमा आइसोलेसनमा सुरक्षित ठानिरहेकी थिएँ म ।

ससाना कुराहरु पनि सोधिरहन्थेँ । सोधेको भन्दा धेरै बुझाएर बताउनुहुन्थ्यो डाक्टर रबिन । दुई चार घण्टामा मुसुक्क मुस्काउँदै ढोकामा उभिन आउने डाक्टर र नर्सलाई देख्दा नै आधा कमजोरी हटेको महसुस हुन्थ्यो ।

खाए नखाएको, गाह्रो साह्रो सोधिदिने कोही हुँदा जिन्दगीको कति भरोसा लाग्ने रहेछ महसुस गर्दै थिएँ म । आइसोलेशनको पारिवारिक वातावरणमा भिज्दै थिएँ म । एउटा कोठाभित्र आफुलाई बन्द बनाएर कोभिड १९ सँग जुधिरहेकी थिएँ ।

कोरोना भाइरस बिरुद्धको पहिलो चरणको खोप लगाउने क्रममा बाध्यताबश छुटेकी थिएँ म । एक त खोप लगाएपछि ज्वरो आउँछ भनेर फैलिएको त्रास । अर्को काठमाडौं बाहिर गएकाले खोप लगाउन ध्यान पुगेन मेरो ।

हुन त सरकारले खोपको सजिलै व्यवस्था गर्ला भन्ने भरोसाले पनि हुनसक्छ । जे भएपनि आफ्नै गल्तिका कारण पहिलो चरणको खोप बाँड्दा लगाइन मैले ।

००० ०००

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्वन्धी रिटको सुनुवाई चल्दै गर्दा रिपोर्टिङका क्रममा अदालत परिसर पुगेकी थिएँ । अदालत परिसरमा भिडभाड थियो । इजलास सुन्न भेला भएका कानुन व्यवसायी र रिपोर्टिङको लागि अदालत पुगेका पत्रकारको संख्या उल्लेख्य थियो ।

हुन त सबैसँग सामाजिक दुरी कायम नै राखेकी थिएँ, मास्क पनि लगाएकै थिएँ, तर पनि खै किन किन त्यतिबेलै खुब डर लागेको थियो । स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा खाजा खान जाँदा पनि भिडभाड नै थियो । क्यान्टिनका कर्मचारीहरुले प्रायः मास्क बिना नै खाजा पुर्याइरहेका थिए ।

००० ०००

घर आएपछि पनि डर लागिरह्यो । यसै क्रममा सरकारले ६० देखि ६५ बर्षसम्म उमेर समुहलाई खोप बाँड्न शुरु गरेको थियो ।

यो पटक भने सुरुदेखि नै खोप लगाउने कोसिसमा थिएँ । सरकारले पत्रकारको लागि खोप दिने भनेर निर्णय नगरेकाले होला सजिलो तरिकाले खोप लगाउन पाएकी थिइन ।

वडाध्यक्षका आफन्त र आसेपासेलगायत मेयर उपमेयरका सबै उमेर समूहका आफन्तले निर्धक्क खोप लगाएको सुनिन्थ्यो तर चाकरी नगरिकन खोप लगाउन असम्भव बन्यो ।

पत्रकार महासंघको चुनावमा सरकार पक्षका पत्रकारको टिम विजयी नभएका कारण फरक पक्षको टिमलाई सरकारले सहयोग नगरेको गुनासो सुनेँ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीसँग निरन्तर कुराकानी गरिरहेकी थिएँ । उहाँहरुले कोसिस गरिरहेको जानकारी दिनुभएको थियो । मन्त्रीसँग कुरा गरिरहेको तर निर्णय नभएकाले पत्रकारहरुले सजिलै खोप नपाएको जानकारी दिनुभएको थियो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्रकारलाई खोप लगाउने व्यवस्था मिलाउनका लागि पत्राचार गरेको थियो । यहीँ पत्र देखाउँदै महासंघका महासचिवलाई खोप कहाँ पाइन्छ ? भन्ने आशयको म्यासेज गरेँ। उहाँले पत्रकारलाई खोप दिनको लागि मन्त्रीले रोक्नुभएको छ भन्नु भो ।

साथमा आफुहरुले मिलाउँदै गरेकाले ढुक्क भएर केही दिन पर्खन सुझाउनु भो । मिलेपछि तपाईंलाई फोन आउँछ भन्नुभएको थियो तर आज १५ दिन बढी भैसक्दा पनि फोन आएन । बरु फोनभन्दा छिटो कोभिड पोजेटिभ भएको म्यासेज आयो ।

गएको आइतबार सर्वोच्च अदालतले पत्रकारहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको रहेछ । अब चाहिँ खोप पाइन्छ कि ?!

००० ०००

अदालतबाट फर्केपछि जीउ भारी भैरहेको थियो । डरै डरमा केही दिन बित्यो । बिहान उठेर मर्निङवाक जाने क्रममा पनि हिँड्नै सकिन मैले । चार पाइला हिँड्नासाथ फतक्कै गल्थेँ । खाना देख्नै मन नलाग्ने । दुई दिनपछि घाँटी दुख्ने, खोकी लाग्ने र खसखस सुरु भो ।

राति ज्वरो आयो । ज्वरो आएपछि भने मलाई कोभिडको शंका लाग्यो । सम्पर्कमा भएका डाक्टरलाई फोन गरेर लक्षण सुनाएँ । कोहीले भिटामिन डीको कमीले नि यस्ता लक्षण हुने बताउनु भएको थियो । कोभिडमा स्वाद र गन्ध सुरुमै हराउँछ भन्ने सुनेकी थिएँ ।

मैले पटक पटक भिक्स र परफ्युमको बट्टा खोलेर गन्ध सुघिँरहेकी थिएँ । ठिकठाक नै थियो । कोभिड हैन होला भन्नेमा थिएँ । बरु कोठामा घाम नपस्ने र म घर बाहिर खासै ननिस्कने भएकाले भिटामीन डी कमी देखियो होला भन्नेमा ढुक्क थिएँ ।

टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनलाई फोन गरेँ । उहाँले आत्मबल बलियो बनाउन, खानेकुरा मिलाएर खान र पिसिआर चेक गर्नको लागि सल्लाह दिनुभयो ।

दिउँसो टेकु अस्पताल पुगेर स्वाब दिएँ । कोरोना ओपीडीमा गएर चेक गरेँ । ज्वरो आइरहेको थियो । डाक्टरले सास फेर्न गाह्रो भए नभएको सोध्नुभयो । म निकै कन्फिडेन्ट भएर ठिक ठाक छ भनिरहेकी थिएँ ।

डाक्टरसँग भएको अक्सिमिटरमा दाइने हातको साइली औंला छिराएँ । डाक्टरले पुनः सोध्नुभयो छाती दुखेको छ छैन ? फरक फरक औँलाबाट अक्सिजन लेभल लिइरहनु भएको थियो ।

मलाई अलि शंका भयो, त्यतिबेलासम्म पसिनै पसिना भैसकेकी थिएँ म । किन र डाक्टर प्रश्न गरे मैंले । डाक्टरको जवाफ भने मेरो कल्पना बाहिरको थियो ‘तपाईंको अक्सिजन लेभल घटिसकेको छ । आधा घण्टामा आउनुस् यसरी नै कमी देखियो भने अक्सिजन लगाउनु पर्छ, भर्ना हुनको लागी मेन्टल्ली तयार हुनुहोला । छातीको एक्सरे गरेर आउनुस् ।’

अक्सिजन लेभल ९१ मा झरिसकेको रहेछ । यो लेभल ९४ भन्दा तल झरेमा खतराको सुचिमा राखिने रहेछ ।

अक्सिजन लेभल नै घट्यो भनेको सुन्दा छाँगाबाट खसेजस्तो भएँ । हतारिँदै अस्पता बाहिर निस्किरहेकी थिएँ । सँगै गएको साथी आश्मा बाहिर गाडीमै थिई ।

हतार हतार प्रकाश फर्मामा पुगेर अक्सिमिटर किनियो । गाडीमा बसेर पटक पटक अक्सिजन लेभल चेक गरें । छातीको एक्सरे पनि सामान्य नै देखाएको थियो । डबल मास्क र फेससिल्ड पनि लगाएको तथा डराएको हुँदा अक्सिजन लेभल घटेको रहेछ । करिब एक घण्टामा ठीकठाक भैहाल्यो । खुसी हुँदै घर फर्किएँ ।

डाक्टर पुनलाई भेटेर खुसी हुँदै घर आए पनि खोकी लाग्न, घाँटी दुख्न र खसखस हुन छाडेको थिएन । रिँगटा लाग्ने र शरीरमा कम्पन छुट्ने भैरहेको थियो ।

ल्याबले रातिसम्म पीसीआर रिपोर्ट मोबाइलमा आउँछ भनेको थियो । निद्रामै पनि हात मोबाइलमा पर्थ्यो । इनबक्समा न्यु म्यासेज छ कि भनेर चेक गरिरहेकी थिएँ । बिहान ११ बजेसम्म म्यासेज आएन ।

किचनमा बसेर सुप पिइरहेकी थिएँ । एक्कासी मोबाइलमा म्यासेज बज्यो । खोलुँ कि नखोलुँ भन्ने दोधारमा भएको बेला इनबक्स ओपन भैसकेछ । पीसीआर पोजिटिभ देखिएको थियो । सिटि भ्यालु १७ ।

एकैछिनमा आँखा धर्मरायो । जमिन भासिए जस्तै भयो । १२०० भोल्टको करेन्ट लागेजस्तो भो । कतिबेला वेडरुममा पुगेर पछारिएँ थाहा भएन । अव जिन्दगी यति नै रहेछ भन्ने लाग्यो । कति सपनाहरु बाँकी थिए, के के गर्छु भन्ने थियो । अल्पायुमै मर्न लेखेको रहेछ भनेर रुन आयो ।

४० बर्षे उमेरमा एक्सिडेन्ट भएर बित्नुभएको बाबालाई सम्झिएँ । बाबाकी प्यारी थिएँ, उमेरमैं म पनि बाबाकै बाटो समाउने भएँ भनेर आँशु झर्यो ।

केही दिन अघि दोलखाका सहकर्मी रविन्द्र गौतमको कोरोनाकै कारण मृत्यु भएको थियो । त्यो सम्झेर अझ डर लाग्यो । किर्तिपुर बस्दा माया गर्ने घरवेटी आन्टिले पनि कोभिडकै कारण ज्यान गुमाउनु भएको थियो । अझ उहाँको मृत्यु भैसकेपछि पनि २८ घण्टासम्म जल्न पाउनुभएको थिएन ।

किर्तिपुर आयुर्वेदिक अस्पतालबाट पशुपति आर्यघाटसम्म पुग्नको लागि उहाँको मृत शरीरमाथि भएको लापरबाही र ढिलासुस्तीको साक्षीसमेत थिएँ म । ओहो सम्झेर अति डर लागिरह्यो ।

कोभिड लागेर अकालमैं मरेकाहरुको चित्र दिमागमा आयो । एउटा हातमा पीसीआर पोजेटिभ रिपोर्ट र दिमागमा छोरीको फोटो आइरह्यो । सम्हालिन निकै गाह्रो भयो । बाचिन्छ भन्ने आशा त पटक्कै थिएन । अस्पतालमा अक्सिजन लेभल घटेको, खोकी ननस्टप र खसखस । अव जिन्दगी सकियो भनेर धेरै बेर रोएँ ।

दुई तीन दिनमा शरीर निकै कमजोर भैसकेको थियो । कपाल कोर्दा पनि हात दुखेर थचक्कै भुइँमा बसेँ म । हात खुट्टा पोलेर चप्पल लगाउनसमेत सकेकी थिइन ।

खोकी यति लाग्थ्यो कि खोक्नकै लागी जन्मिएकी हुँ जस्तो लाग्थ्यो । ज्वरो आउँदा शरीरमा कम्पन छुटेर थर्थर भैरहेकी थिएँ । डाक्टरले होम आइसोलेसनमा बस्नको लागि भन्नुभएको थियो । तर, दिउँसोको तीन बजे कमलपोखरी छेउमा रहेको कोभिड आइसोलेसन सेन्टर पुगिसकेकी थिएँ । आइसोलेसन पठाउनका लागि समाजसेवी रवि सिंहले सहयोग गर्नुभएको थियो ।

गाडीबाट ओर्लेर आइसोलेसन सेन्टर भित्र पस्दै गर्दा फेरि एकपटक हिम्मत डगमगायो । सकुशल घर फर्कन पाउँ भन्दै प्रार्थना गरिरहेँ । निकै कमजोर र थकित भएकी थिएँ । बाँच्ने रहरले यति सताउँदो रहेछ कि के भनौ ? टाउको दुखेर आँसु मात्रै आउने गर्थ्यो ।

घरपरिवार र बच्चाको मायाले वेचैन बनाउँथ्यो । पहिलो पटक मृत्युलाई नजिकबाट बुझेँ मैले । सानैमा बाबा गुमाएको भएर होला अरुको मृत्युले खासै फरक पार्दैनथ्यो मलाई । हरेकको अन्तिम गन्तव्य हो मृत्यु भनेर सामान्य तरिकाले बुझेकी थिएँ ।

तर जब आफ्नो अगाडि मृत्युको छायाँ देखिन्छ नि अनि थाहा हुने रहेछ यसको भयले कति डस्ने रहेछ भनेर ।

शारीरिक रुपमा अफ्ठ्यारो त भएकै थियो । यो भन्दा कमजोर थियो मेरो मानसिक हालत । घरमा कसैलाई भन्न सकेकी थिइन ।

आइसोलोसन आएको अर्को दिन मात्र फेमिली ग्रुपमा पीसीआर रिपोर्टको फोटो पठाएँ । विदेशमा हुने दाइले आत्तिदै फोन गर्नुभयो । एकछिन क्यामरा अफ गरेर आँसु झारे । केही भएको छैन दाइ, ठीक छु भन्दै झुट बोलेँ । खोकेको सुन्नुहुन्छ भनेर फोन आउनासाथ तातो पानी पिउने र एक मुठी ल्वाङ मुखमा राखेर बोल्थेँ । टाउको दुखेको छ भनेर साइलेन्स बसिदिन्थेँ ।

डाक्टर रविनले पटक पटक सोसल मिडिया नहेर्नको लागि सुझाब दिइरहनु भएको थियो । यसैले गर्दा फेसवुक ट्विटरका वाल हेर्न छाडेकी थिएँ । अफलाइन बसेर आफन्तसंग कुरा गर्थें । मलाई धेरै अफ्ठ्यारा लक्षण नदेखिएकाले आत्मबल बढाउनको लागि सल्लाह दिनुहुन्थ्यो । आत्मबलले कसरी काम गर्छ भनेर अनेक कथा र किस्सा सुनाउनुहुन्थ्यो । यो समयमा डाक्टरले गरेको आत्मिय सहयोग अविस्मरणीय छ मेरा लागि ।

००० ००००

फोन गर्नासाथ मामुले आँसु झारिहाल्नुहुन्थ्यो । परिवारलाई पीर नपार्नको लागि पनि म जबर्जस्ती दह्रो बन्दै थिएँ ।

दिनको दुई पटक बाफ लिने, औषधी खाने गरिरहेकी थिएँ । झोल र सुपको आइटम पेलेरै पिएकी छु । खाना देख्नै मन नलाग्ने हुने रहेछ । बीचमा आठ दस दिन गायव भएको गन्ध र स्वाद पनि फिर्ता आएको छ । अहिले विस्तारै कम हुँदै गएको छ ।

बेलाबेला टाउको दुखेर अत्तालिन्छु । खोकी पनि कम भएको छैन । पीसीआर पोजिटिभ नै छ । कमजोरीले आधा घण्टा पनि बस्न सकिदैँन । मोवाइल चलाउँदा पनि हात दुखेर अत्तालिन्छु । र, पनि अब चाहिँ बाँचिन्छ भन्ने आशा पलाएको छ ।

कोभिड लक्षण देखिएको शुरुवातमैं उपचार गरियो भने यसलाई जित्न सकिने रहेछ ।

तीन दिन लगाएर यो ब्लग लेख्न सक्ने बनेकी छु । यो अवधिमा रेगुलर सुप ल्याएर खुवाउने सहयोग गर्ने प्रिय मनहरुलाई हृदयदेखि नै आभारी छु । झन्झट नमानी हाम्रो आवश्यकता पूरा गरिदिने आइसोलेसन सेन्टरका सबै कर्मचारी र पदम भाइ, मुकेश सरप्रति सदैव ऋणी छु ।

अत्तालिएको मनलाई ढाडस दिने, सहयोग गर्ने, हौसला दिने मलाई आफ्नो सोच्ने सबैप्रति नमन ।

मा प्रकाशित