बलिउड र आलोचनात्मक सिनेमा

विचार

प्रभाष

कुनै जमाना थियाे जहाँ भारतमा आलोचनात्मक सिनेमाहरु बन्ने गर्थे। भारतमा आलोचनात्मक सिनेमाहरुकाे लामाे परम्परा छ। कुनै जमानामा गाेविन्द निहलानी, श्याम बेनेगल, मृणाल सेन, गाैतम घाेष, प्रकाश झा जस्ता निर्दैशकहरु सत्ता र सरकारकाे विराेध गरेर सिनेमाहरु बनाउँथे र ती सिनेमाहरु बनाए बापत सत्ता र सरकारले उनीहरुलाई अहिलेकाे भाजपाइ सत्ता वा सरकारले गरेजस्ताे दमन वा उपेक्षा गर्दैनथ्याे। बरु उल्टै उनीहरुलाई पुरस्कृत गर्थ्याें। उनीहरुलाई पुरस्कृत गरेर सत्ता/सरकारले उनीहरुलाई अझ धेरै त्यस्ता आलोचनात्मक सिनेमाहरु बनाउन प्राेत्साहित गर्थ्याें। त्यतिमात्र हैन, सरकारले त्यस्ता सिनेमाहरु बनाउन इंडेपेन्डेन्ट फिल्ममेकरहरुलाई फण्ड पनि उपलब्ध गराउथ्याे। त्यस्ता फिल्ममेकरहरुलाई सहयाेग गर्न (फण्ड उपलब्ध गराउन) सरकारले ‘नेशनल फिल्म डेभलपमेन्ट काेअपरेशन’ (NFDC) नामक निकाय नै स्थापना गरेकाे थियाे जसमार्फत् सरकार यस्ता फिल्ममेकरहरुलाई फंड उपलब्ध गराउथ्याे।

तर अहिले त्याे आलोचनात्मक सिनेमाकाे परम्परा मर्‍याे। त्याे आलोचनात्मक सिनेमाकाे परम्परा मरेकाे लगभग दस बर्ष जति भयाे। भाजपा र नरेन्द्र माेदी सत्तामा विराजमान भएसँगै असहिष्णु भाजपाइ सत्ताले विराेध र आलाेचनाका सबै हातलाई बाँध्ने र मुखलाई थुन्ने काम गर्‍याे। बलिउडमा अचानक आलाेचना गायब भयाे र स्तुतिकाे बाढी आउन थाल्याे। जाे पनि सत्ता र सरकारकाे स्तुतिगान गाउदै सिनेमाहरु बनाउन थाले। कसैले केही बाेलेनन्। कसैले केही बाेल्न सकेनन्। कसैले केही बाेल्न पाएनन् या भनाैं कसैलाई केही बाेल्नै दिइएन। बाेल्याे कि सँघी-भाजपाइका हुँडार सेनामेनाहरुले झम्टिन थालिहाले।

आमिर खान जस्ताे बलिउडमा ठूलै रेपुटेशन भएकाे व्यक्तिले त ‘भारतमा असहिष्णुता बढ्याे’ भन्दा सँघी-भाजपाइ हुँडार सेनाहरु उनीमाथि हुरुरु खनिए र भर्चुअल्ली उनकाे मब लिन्चिङ गरिदिए। उनलाई देशद्राेही, गद्दार र पाकिस्तानप्रेमी मुल्ला घाेषित गरे र उनलाई देश छाेडेर पाकिस्तान जान उर्दी जारी गरे। अर्को सुपरस्टार शाहरुख खानकाे छाेरा प्राविधिक कारणवश जब लागुपद्धार्थ बाेकेकाे केसमा नार्काेटिक्स डिपार्टमेन्टकाे छानबिनमा परे, तब उनलाई पनि सँघी-भाजपाइ साइबर सेनाले सक्दाे लान्छना लगाए र सकेसम्म बदनाम गर्ने काेशिश गरे। उनकाे फिल्म बाइकट गरेर ‘मन्नत बिकाइदिने’ उद्धाेष गरे।

अब बलिउडकाे बिगेस्ट स्टार, सुपरस्टार भनिएका अभिनेताहरुमाथि नै यस्ताे व्यवहार गरिएपछि, यसरी अन्यायपूर्ण प्रहार गरिएपछि अनि सत्ताले पनि उनीहरुलाई सुरक्षाकाे प्रत्याभूति नगरेपछि, उनीहरुलाई आश्वस्त नपारेपछि अरु मझाैला र साना स्टारहरुले त सत्ताधारीलाई रुष्ट बनाउने कुरै भएन। यस्तो माहाैलमा आलोचनात्मक सिनेमा मर्नै नै भयाे।

अहिले वैचारिक रुपमा हेर्ने हाे भने हिन्दी सिनेमाकाे अवस्था अत्यन्त अफसोसजनक छ। यहाँ कोही पनि राज्यसत्तामाथि औला ठड्याउन चाहन्दैन। काेही पनि सरकारमाथि प्रश्न तेर्साउन चाहन्दैन। (प्रश्न तेर्साए असहिष्णु भाजपा सरकारकाे काेपभाजनमा परिहाल्छन्। भाेलिपल्टै ED ले घर र अफिसमा raid हान्छ। त्यसैले सबैजना डराएका छन्।) अधिकाँश कलाकार तथा सिनेकर्मी त भाजपा सरकारकाे जुत्ता चाट्नमै व्यस्त छन्। आलोचनात्मक सिनेमा एकाधले बनाइरहेका छन्, त्याे पनि अत्यन्त जाेगिएर। ‘सेल्फ सेन्सर’ गरेर। ‘यस्ताे देखाए सरकारकाे काेपभाजनमा परिएला कि? त्यस्ताे देखाए सत्ताधारीहरु रिसाउने पाे हुन् कि?’ भनेर डराउदै, डराउदै। ‘माेही माग्ने तर ढुँग्राे लुकाउने’ उखानलाई चरितार्थ गर्दै।

उदाहरणकाे लागि ‘जवान’ लाई लिऊ।, ‘जवान’ लाई सत्ता/सरकारकाे आलोचना गरिएकाे सिनेमा भनिन्छ तर ‘जवान’ सिङ्गो फिल्ममा एकपटक पनि ‘सरकार’ शब्द उच्चारण गरिएकाे छैन। ‘जवान’ मा देखाइएअनुसार किसान आत्महत्या गरेर मर्छ। त्यसमा क्रूरतापूर्वक ऋण असुल्न खाेज्ने बैंक र त्यसका कर्मचारीहरु दाेषी छन्। अस्पतालमा बिरामी अक्सिजन सिलिन्डर नपाएर मर्छ। त्यसका लागि एकजना भ्रष्ट नेता, एकजना व्यक्ति र अमूर्त ‘सिस्टम’ दाेषी छ। तर सिस्टमलाई सँचालन र नियन्त्रण गर्ने वास्तविक शक्ति भारतीय राज्यसत्ता नै परिदृष्यबाट गायब छ अर्थात् ‘जवान’ ले पातहरुलाई मात्र देखाएकाे छ तर सिङ्गाे रुखलाई (जाे समस्याकाे मुख्य कारक हाे) गायब बनाएकाे छ।

यसरी, ‘पातमात्र देख्ने तर रुख नदेख्ने’ राेगबाट ग्रस्त छन् आजकलका बलिउड सिनेकर्मीहरु र उनीहरुका आलोचनात्मक सिनेमाहरु जाे मुद्दामाथि बाेल्न त खाेज्छन् तर सतही रुपमा मात्रै। सतही कुरा गरेर आफ्नाे स्टेटमेन्टबाट गाँठी कुरालाई नै चतुर्‍याइँका साथ लुकाउँछन्। ‘जवान’ ले त्यही गरेकाे छ। यस्ताे लाग्छ, उनीहरु बताउनभन्दा पनि धेरै दबाउन चाहन्छन्। सुनाउनभन्दा पनि धेरै लुकाउन चाहन्छन्।

हिन्दी सिनेमाका सिनेकर्मीहरु हलिउड सिनेमाहरुबाट बहुतै प्रभावित हुन्छन्, सिनेमाका प्लटहरु हलिउडका सिनेमाहरुबाटै उडाउछन् र आफ्नो सिनेमा रच्छन् तर हलिउडका ती सिनेमाहरुमा राज्यसत्ताकाे आलोचना गरिएको जुन पाटाे हुन्छ नि, उनीहरु त्याे पाटाेलाई आफ्नो सिनेमाबाट काटेर फ्याँक्छन्। आज कोही पनि गोविन्द निहलानी वा श्याम बेनेगल बन्न चाहन्दैनन्।

वास्तवमा जहाँ सिनेमा मुनाफा कमाउने उद्देश्य लिएर बनाइन्छ, त्यहाँ मुद्दाहरु पनि फगत सिनेमाका ‘मसाला’ बन्छन् अथवा मुद्दाहरुलाई सिनेमामा मसालाकाे रुपमा प्रयाेग गरिन्छ। मसाला हालेपछि बन्ने भनेकाे मसाला फिल्म नै हाे, गम्भीर-सार्थक सिनेमा त बन्दैन।

अनि आजकल आर्थिक लाभ सत्तालाई प्रसन्न पारेर नै हुने गर्छ। सत्ताधारीलाई प्रसन्न पारेर नै हुने गर्छ। यहाँ सत्ताधारी भनेकाे राजनीतिक सत्ताधारी मात्र भनेकाे हाेइन। सामाजिक सत्ताधारी पनि भनेकाे हाे अनि सामाजिक सत्ताधारी भनेकाे त्याे बहुसंख्यक जातिय, भाषिक, धार्मिक, साँस्कृतिक, आर्थिक र लैङ्गिक वर्ग हाे, जसकाे समाजमा वैचारिक र भाैतिक वर्चस्व वा आधिपत्य हुन्छ। जसकाे दृष्य-अदृष्य कन्ट्याक्टहरु बढी हुन्छन् जुन कन्ट्याक्टहरु शक्तिकेन्द्रसँग जाेडिएका हुन्छन्। यी वर्चस्वधारीकाे सत्तालाई रुष्ट बनाएर पनि कसैले मुनाफा कमाउन सक्छ हाेला त? सक्दैन नि। के समाजकाे बहुसँख्यक सत्ताधारीलाई रुष्ट बनाएर कसैले मुनाफा कमाउन सक्छ? सक्दैन नि।

त्यसैले, हिन्दी सिनेमा र सिनेकर्मीहरु बहुसंख्यक सत्ताधारीलाई रिझाएर पैसा कमाउन लागिपरेकाे छ। यस कामलाई शाहरुख खानजस्ताे बलिउडकाे किङ भनिने बलिउडकाे बिगेस्ट स्टारले फ्रन्टबाट लिड गरिरहेकाे छ र यसमा कुनै आश्चर्य पनि छैन।

सीधा कुरा के हाे भने आलोचनात्मक सिनेमा उसैले बनाउन सक्छ जसले सत्ताबाट केही पाउने आशा राख्दैन। जसकाे सरकारसँग कुनै लेनादेना हुँदैन। जाे हावा जता चल्छ उतै बग्दैन। जाे भीडकाे पछि लाग्दैन, आफ्नो एउटा स्ट्यान्ड लिएर अघि बढ्छ। आफ्नाे पछाडि भीड आओस् वा काेही पनि नआओस्, मतलब गर्दैन। उसकाे फिल्म हेर्न भीड नजुटेपनि, मान्छेहरु नआइदिए पनि ऊ विचलित हुँदैन। किनभने ऊ आफ्नाे विचारधारामा अडिग हुन्छ। अनि उसलाई पैसासँग खासै मतलब हुँदैन। उसलाई पैसाले भन्दा रचनाले सन्तुष्टि दिन्छ।

बजारले जे खाेज्छ, त्यही डेलिवर गर्ने सिनेकर्मी व्यापारी हाे। बजारलाई आफ्नाे साेचअनुसारकाे प्राेडक्ट दिएर बजारकाे साेच र स्वाद बदल्न खाेज्ने सिनेकर्मी साँचाे सिनेकर्मी हाे। भीडकाे पछि कुद्ने सिनेकर्मी मुनाफाखाेर हाे। भीडलाई आफ्नाे पछि कुदाउने सिनेकर्मी साँचाे सिनेकर्मी हाे।

अनि फेरि उहीँ कुरा, आलोचनात्मक सिनेमा उसैले बनाउन सक्छ जाे सत्ताका विरुद्ध, बहुसंख्यक सत्ताधारी-वर्चस्वधारीकाे विरुद्ध खडा हुन सक्छ। उनीहरुसँग दुश्मनी माेल्न सक्छ। उनीहरुलाई बागी-विद्राेही तेवर देखाउन सक्छ। उसैले सिनेमामा वास्तविकतालाई देखाउन सक्छ। आफ्नाे समयको सत्यलाई देखाउन सक्छ। तर अब दुई-अढाई घण्टे बलिउडी सिनेमाहरुबाट त्याे सम्भव देखिन्दैन। डकुमेन्ट्री वा लघु-सिनेमा हाे भने छुट्टै कुरा। ती माध्यमहरुमा समाजकाे समसामयिक सत्यलाई देखाउन सक्लान् तर अहिलेकाे समयमा यस्ताे सिनेकर्मी नै कहाँ छ जसले रिस्क माेलेर बहुसंख्यक सत्ताधारी-बर्चस्वधारीहरुलाई रुष्ट बनाएर उनीहरुकाे छातीमा आलाेचनारुपि भाला राेप्ने आँट गरून्? म त देख्दिन।

तर मलाई बलिउडमा यस्ताे सिनेकर्मीकाे प्रतीक्षा छ। म बलिउडमा यस्ताे कुनै नायक, अवतार वा मुक्तिदाताकाे प्रतीक्षा गरिरहेकाे छु जसरी बलिउडका पलायनवादी सिनेमाका दर्शकहरु बलिउडका पलायनवादी सिनेमाहरुमा जस्तै वास्तविक जीवनमा पनि कुनै नायक, अवतार वा मुक्तिदाताकाे प्रतीक्षा गर्छन् र सँगठित भएर सङ्घर्ष गर्ने सामाजिक-वर्गीय जिम्मेवारीबाट पलायन हुन्छन्।

मा प्रकाशित