प्रविधि पछ्याउँदै किसान

गणतन्त्र नेपाल समाचारदाता

त्रिवेणी गाउँपालिका–१ काभ्राका ५० वर्षीय किसान बुद्धिबहादुर खड्काले ५ वर्षअघिसम्म खेतबारीमा कम्पोष्ट मल प्रयोग गर्न र जोत्न २ हल गोरु पालेका थिए । घाँस र चरनक्षेत्रको समस्या भएको भन्दै गोरु बेचेर ८० हजार रुपैयाँमा मिनी ट्रेलर किने । अहिले उनको खेतबारी जोत्ने काम मिनी ट्रेलरले गरिरहेको छ । ‘जोत्न पनि सजिलो, खर्च पनि कम,’ उनले भने, ‘वर्षभरि गोरु पाल्नु पनि परेन, एकै जनाले पनि दिनभरिमा ७ रोपनीसम्म जग्गा जोत्न सकिन्छ ।’ बन्गाडकुपिण्डे नगरपालिका–७ का धनबहादर घर्तीले पनि २ वर्षयता मिनी ट्रेलरबाटै बाली लगाउन थालेका छन् ।

जिल्लामा पछिल्लो समय खेतीमा प्रविधि र विभिन्न नयाँ मेसिन प्रयोग गर्ने क्रम बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालय, स्थानीय तह र विभिन्न गैरसरकारी संघसंस्थाहरूले किसानलाई अनुदानमा आधुनिक उपकरण र औजारहरू वितरण गर्न थालेपछि किसानले पनि प्रविधिलाई पछ्याइरहेका हुन् । खेत तथा पाखो जोत्न र धान, गहुँ भित्र्याउन मेसिनको प्रयोग गर्न थालेको कपुरकोटका किसान जंगवीर पुनले बताए । ‘गोरु नारेर खेत जोत्दा दुःख पनि धेरै, वर्षभरि गोरु पाल्दा पनि खेती लगाउने बेला मात्र काम लाग्ने,’ उनले भने, ‘मजदुरसमेत पाइन छाडेपछि छिटो छरितोका लागि पनि प्रविधिमा जोड दिएका छौं ।’

प्रविधिको प्रयोग गर्दा उत्पादन पनि बढिरहेको शारदा नगरपालिका–१ का किसान हर्कबहादुर खत्रीले बताए । ‘हलोले जोत्दाभन्दा झन्डै २/३ फिट तलसम्म पनि मिनी ट्रेलरले जोत्न मिल्छ,’ उनले भने, ‘कुटो, कोदालो, हलोको प्रयोग गर्दा एक रोपनी खेत जोत्न पनि कम्तीमा ३/४ जना मान्छे चाहिन्थ्यो, भन्नेबित्तिकै मान्छे नपाइने समस्याले पनि हामीलाई प्रविधिमैत्री बनाएको छ ।’ उनका अनुसार गाउँमा मिनी ट्रेलरको प्रयोग गर्न थालेपछि अहिले गोरु पाल्ने किसानको संख्या शून्य छ । उनले समयको मागअनुसार र पैसाको बचतका लागि पनि मिनी ट्रेलरको महत्त्व बढेको उनको भनाइ छ । उनका अनुसार कृषि औजार किन्न कृषि विकास कार्यालयले ५० देखि ७५ प्रतिशत अनुदान दिने गरेको छ ।

एक रोपनी खेत जोत्न बिहानभरि लाग्ने भएकाले १५ जनाको समूहमार्फत ७ लाख रुपैयाँमा ट्र्याक्टर किनेको र त्यही ट्र्याक्टरले खेतीयोग्य जग्गा जोत्दै आएको छत्रेस्वरी गाउँपालिका–६ का नन्दराम पुनले बताए । ‘ट्र्याक्टर प्रयोग गर्दा समय मात्र बचत भएको छैन, गोरु पाल्ने र घाँस खोजी ल्याउने समस्याबाट मुक्ति मिलेको छ,’ उनले भने, ‘खेतबारीमा प्रयोग गर्ने कम्पोष्ट र रासायनिक मल भने समूहमार्फत नै किन्न थालेका छौं ।’ अहिले धान र गहुँका दाना झार्न पनि थ्रेसर मेसिन प्रयोग गरिरहेको उनले जानकारी दिए ।

चरन क्षेत्रको अभाव बढ्दै गएपछि र गोरु पाल्न धेरै दुःख हुने भएपछि किसानले अहिले विभिन्न कृषि यन्त्रको प्रयोग गर्न थालेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरतकुमार बस्नेतले बताए । उनका अनुसार यो वर्ष कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ३ सय विभिन्न कृषि यन्त्रहरू किसानलाई अनुदानमा वितरण गरिएको छ । उनले मिनी ट्रेलर, ट्याक्टर, थ्रेसरलगायत उपकरणमा ५० देखि ७५ प्रतिशत अनुदान दिइएको जानकारी दिए । ‘किसानले गोरु पाल्न छाडेर मेसिनको प्रयोग गर्दा लागत कमका भएको छ, काममा छरितोपन आएको छ,’ उनले भने, ‘आधुनिक मेसिनको प्रयोगले उत्पादन बढाएको छ, तर अधिकांश किसानले गोरु पाल्न छाडेपछि जिल्लाभरि कम्पोस्ट मलको अभाव भने चुलिएको छ ।’

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID