‘रफ बुक’ (२०१६): हरेक शिक्षक र अभिभावकले हेर्नैपर्ने फिल्म

सिनेमा चर्चा

प्रभाष

हिन्दी फिल्म इँडष्ट्रीमा साना फिल्महरुकाे एउटा छुट्टै धार छ, जसमा कम बजेटका उत्कृष्ट फिल्महरु बन्ने गर्छन् तर बिग बजेटका बिग प्राेडक्सन हाउस र बिग स्टारहरूका फिल्महरूका हाइप र मान्छेहरु पनि तिनीहरुकै पछाडि कुद्ने हुनाले यी साना फिल्महरु उत्कृष्ट हुनका बावजूद पनि छायाँमा पर्ने गर्छन्। यी फिल्महरुले आवश्यक मात्रामा दर्शक नै पाउँदैनन्। औलामै गन्न सकिने मानिसहरुले मात्र यी फिल्महरु हेर्छन्। यसरी प्रशंसा-सरहना र प्रचारप्रसारकाे अभावमा यी उत्कृष्ट फिल्महरुले दम ताेड्ने गर्छन् अनि विस्मृतिकाे कुनै कुनातिर विलुप्त हुन बाध्य हुन्छन्।

हिन्दी फिल्म इंडष्ट्रीकाे राम्रा फिल्महरुकाे यस्ताे हविगत देख्दा मलाई अत्यन्त दु:ख लागेर आउँछ। फिल्म हेर्ने बहुसंख्यक दर्शकले राम्राे र नराम्राे छुट्याउन नसक्दा र उड्ने र गुड्ने अर्थात् बकवास इंटरटेनिङ स्टारबेस्ड फिल्महरु मात्र हेर्न जाने प्रवृत्तिले गर्दा कति साना बजेटका उत्कृष्ट फिल्महरु, फिल्ममेकरहरु तथा कलाकारहरु पछि परिरहेका छन्। याे अत्यन्त दु:खलाग्दाे पाटाे हाे।

‘रफ बुक’ काे पाेष्टर

आज म यस्तै एउटा सानाे बजेटकाे, कुनै नामी स्टार नभएकाे, कुनै ठूलाे प्राेडक्सन हाउसकाे छाप नलागेकाे तर यी सबका बावजूद पनि कन्टेन्ट, क्राफ्ट, न्यारेशन, एक्टिङ, डाइरेक्शन सबै दृष्टिकोणले उत्कृष्ट फिल्मकाे चर्चा गर्दैछु। फिल्म हाे, ‘रफ बुक’।

‘रफ बुक’ एक शैक्षिक फिल्म हाे। याे फिल्म शिक्षणसँग सम्बन्धित छ। शिक्षकले विधार्थीहरुलाई कसरी पढाउनुपर्छ अथवा कसरी सिकाउनुपर्छ भन्ने कुराबारे फिल्मले आफ्नाे अवधारणा प्रस्तुत गरेकाे छ।

फिल्मकाे प्रमुख पात्र साइन्सका एक लेडी टिचर हुन्, जाे आफ्नाे निष्ठा र कर्तव्यकाे निर्वाहमा ढृढ छिन्। आफ्नाे व्यक्तिगत जीवन र पेशागत जीवनका बारेमा उनका केही निश्चित मूल्य-मान्यताहरु छन् जसकाे पालना गर्ने क्रममा उनी कहिल्यै पनि, कसैसँग पनि, कुनै हालतमा पनि सम्झाैता गर्दिनन्।

साइन्सका यी लेडी टिचरले कसरी आफ्ना सहकर्मीहरुसँग मिलेर पढाउने शैलीमा बदलाव ल्याइ पढाइमा कमजाेर र पढ्न/सिक्न पनि खासै मन नगर्ने, लाे ग्रेड/सेक्सनका स्टुडेन्टहरुका सिकाइप्रक्रियालाई ट्रयाकमा ल्याउँछिन् र उनीहरुकाे पढाइ र करिअरलाई सही दिशानिर्दैश गर्छिन्, यही ‘रफ बुक’ काे कथा हाे।

‘रफ बुक’ ले हाम्राे शिक्षणप्रणालीका अपर्याप्तता र कमजाेरीहरु अनि ती अपर्याप्ततालाई पुर्न र कमजाेरीहरुलाई सुधार्न हामी के कस्ता प्रयासहरु गर्न सक्छाैं, यसबारे बताएकाे छ। यहाँ म मलाई फिल्ममा मनपरेका कुराहरुका बारेमा संक्षेपमा चर्चा गर्दैछु।

पहिलाे कुरा, यस फिल्मले ‘कन्सेप्सनल लर्निङ’ काे महत्वलाई दर्शाएकाे छ। कुनै पनि बिषय तबमात्र हामी राम्राेसँग सिक्न सक्छाैं जब हामी त्यसलाई अभ्यासमा ल्याउँछाैं, व्यवहारमा लागू गर्छाैं वा व्यवहारमा प्रयाेग गरेर हेर्छाैं। यसले विधार्थीहरुलाई एक्सप्लाेर गर्ने र ग्राे गर्ने अर्थात प्रयाेग गर्ने, अनुभव हासिल गर्ने र ज्ञानकाे दायरालाई बढाउँदै लैजाने अर्थात् दिमागलाई अनुभवबाट परिपक्व बनाउँदै लैजाने अवसरहरु अधिक मात्रामा उपलब्ध गराउँछ।

दाेस्राे कुरा, सिकाइलाई कक्षाकाेठाभित्र मात्र सीमित गर्नुहुँदैन। सिकाइ तबमात्र प्रभावकारी हुन्छ, जब हामी बाहिर प्रकृतिमा, दैनिक जीवनमा गरिने कार्यव्यवहारसँग यसलाई जाेडेर सिकाउँछाैं।

तेस्राे कुरा, शिक्षक भनेकाे त्याे हाेइन जाे मात्र तलबकाे लागि काम गर्छ। शिक्षक भनेकाे वास्तवमा ‘राेल-माेडेल’ हाे जसले न केवल विधार्थीहरुकाे भविष्यनिर्माणकाे लागि मार्गदर्शन गर्छ, अपितु उनीहरुलाई ‘लाइफस्कील’ (जीवन जिउने कला) पनि सिकाउँछ। दुनियाँलाई यस्तै शिक्षकहरुकाे अति खाँचाे छ।

 

चाैथाे कुरा, हामी अक्सर शैक्षिक सँस्थाहरु (स्कुल-कलेजहरु) ले विधार्थीहरुलाई उनीहरुकाे प्राप्तांककाे आधारमा ए, बी, सी, डि…गरेर सेक्सनहरुमा वर्गिकरण गरेकाे देख्छाैं। बिडम्बना त के छ भने जुन शैक्षिक सँस्थाहरुले यसरी विधार्थीहरुलाई वर्गिकरण गर्ने शिक्षाप्रणालीलाई अपनाइरहेका हुन्छन्, तिनीहरु नै फेरि सबैकाे लागि ‘फेयर एजुकेशन’ काे मन्त्र जपिरहेका हुन्छन्। के याे वर्गिकरण फेयर छ त ? कति फेयर छ त?

पाँचाै कुरा, यस फिल्मले शैक्षिक सँस्थाहरुमा काेचिङ क्लासहरुकाे नाममा चलिरहेको व्यापारीकरणमाथि पनि प्रकाश पारेकाे छ। शिक्षकले पढाएका कुराहरु विधार्थीहरुले के कति बुझे वा बुझेनन्, के कति सिके वा सिकेनन्, त्यसलाई निरन्तर मूल्यांकन गर्दै, कमजाेर विधार्थीहरुकाे बेसिक्सलाई बलियाे बनाउनतर्फ नलागेर क्लासकाे सिलेबस सिध्याउनतर्फ मात्र लाग्ने र क्लासमा नबुझेका कुराहरु बुझाउन फेरि उनीहरुलाई पैसा तिरेर काेचिङ पढ्न बाध्य बनाउने शिक्षक तथा शैक्षिक सँस्थाका व्यवहारलाई फिल्ममा आलाेचना गरिएकाे छ। शिक्षकहरुले चाहेमा अभिभावकहरुकाे पैसा दुहुने काेचिङकाे गलत कन्सेप्टलाई हटाउन सकिने र काेचिङकाे नाममा गरिने शिक्षाकाे व्यापारीकरणलाई पूर्ण रुपमा निर्मूल गर्न सकिने कुरा फिल्मले बताएकाे छ। आज शिक्षा व्यापार भएकाे छ। शैक्षिक सँस्थाहरु व्यापारिक स्थल, त्यसका सँचालकहरु शिक्षाका काराेबारी र शिक्षकहरु खुद्रा बिक्रेता वा वेतनधारी सेल्सम्यानहरुजस्ता भएका छन्। शिक्षा व्यापार हाेइन, बरु याे एक पुनित कर्म हाे। शिक्षामाथि व्यापारीकरण गर्नुहुँदैन।

 

फिल्ममा तनिष्ठा चटर्जी लेडी साइन्स टिचरकाे भूमिकामा एकदमै विश्वासनीय लाग्छिन्। फिल्म हेर्दा कुनै पनि काेणबाट उनी टिचर हाेइनन् भन्न सकिन्दैन। एक टिचरकाे रुपमा फिल्ममा उनले आफ्नै पर्सनालिटी क्रिएट गरेकी छिन् जसलाई फिल्म हेरिरहन्दा कहीं पनि अवास्तविक लाग्दैन।

फिल्ममा तनिष्ठाले जीवन्त पारेकाे टिचरकाे क्यारेक्टर आइडियल लाग्छ। उनी स्टुडेन्टहरुलाई फरक तरिकाले अप्राेच गर्छिन्। उनकाे पढाउने शैली पनि फरक छ। उनी थ्याैरीलाई प्रयाक्टिकल्ली बुुझ्न र बुझाउन जाेड दिन्छिन् अर्थात् उनी कन्सेप्सनल लर्निङलाई अपनाउँछिन्।

 

उनी सिलेबस सकाउने र स्टुडेन्टहरुलाई बढी मार्क्स कसरी ल्याउने भन्नेमा केन्द्रित रहेर पढाउनेमा हाेइन, उनीहरुकाे बेसिक्सलाई सृढृढ गर्ने, उनीहरुलाई सिलेबसका कुराहरु बुझाउने साथसाथै उनीहरुलाई मानसिक रुपमा पनि एक्जाम, कम्पिटिशन र करिअरकाे लागि तयार पार्दै लैजानेतर्फ केन्द्रित रहेकाे पाइन्छ। उनकाे याे क्यारेक्टरले शिक्षक तथा अभिभावकहरुलाई अपिल गरेकाे छ। गम्भीर महत्वका कुराहरुप्रति उनीहरुकाे ध्यानाकर्षण गराएकाे छ।

यसमा कुनै शंका छैन कि तनिष्ठा चटर्जी एक प्रतिभावान अभिनेत्री हुन्। ‘लिहाफ’ का इस्मत चुगताई हुन् वा ‘राेड मुभी’ का राजस्थानी घुमन्ते महिला वा यस फिल्मकाे साइन्स टिचर नै किन नहाेऊन्, उनका हरेक फिल्म र चरित्रले उनकाे भर्सटाइल ट्यालेन्टकाे परिचय दिन्छ। तर, प्रतिभावान भएर पनि उनी जसरी मेनस्ट्रिम बलिउड सिनेमामा अंडररेटेट छन्, त्याे पटक्कै फेयर लाग्दैन।

तनिष्ठा चटर्जीका अतिरिक्त फिल्ममा सुहासिनी मुले, अमान एफ खान, कैजाद काेतवाल, जाेय सेनगुप्ता, जयती भाटिया, विनय जैन, फरिद कुर्रिम, दीपिका अमिन, राम कपूर आदि कलाकारहरुले पनि अभिनय गरेका छन्।

‘रफ बुक’ काे निर्दैशन अनन्त नारायण महादेवनले गरेका हुन्। उनले निर्देशन स्तरीय छ। उनले फिल्मकाे बिषयवस्तुमाथि पूर्णतया न्याय गरेकी छन्। यस्ताे उत्कृष्ट र अर्थपूर्ण फिल्म बनाएकाेमा अनन्त महादेवन बधाईका पात्र छन्।

बताइएअनुसार ‘रफ बुक’ अभिभावक, शिक्षक तथा विधार्थीहरुका अनुभवमाथि आधारित छ जसलाई एक लेडी साइन्स टिचर सन्ताेषी कुमारीकाे माध्यमबाट बताइएकाे छ।

 

‘रफ बुक’ यसकाे उत्कृष्ट कन्सेप्ट र न्यारेशनका कारण एकदमै रिफ्रेसिङ लाग्छ। फिल्मकाे ट्रिटमेन्ट रियलिस्टिक छ। पटकथा रिलिस्टिक तवरले अघि बढ्छ। नाे ननसेन्स, नाे मेलाेड्रामा, नाे ओभरएक्टिङ, नाे संग्स, नाे डान्स अराउन्ड ट्रिज। फिल्मकाे पटकथा सललल बगेकाे छ। जसमा कहीँ पनि कतै पनि अवराेध पुगेकाे फिल हुदैन। फिल्मकाे छायांकन सुन्दर छ। फिल्मकाे कुनै पनि दृष्य अनावश्यक लाग्दैन। तसर्थ, फिल्मकाे सम्पादन चुस्त छ। ब्याकग्राउण्ड म्युजिक पनि फिल्मकाे मुड अनुसार फर्फेक्ट लाग्छ।

‘रफ बुक’ लाई ‘इंडियन फिल्म फेस्टिबल अफ हाउसटन, २०१५ मा ‘बेस्ट फिचर फिल्म’ काे अवार्ड, सन फ्रान्सिस्काे ग्लाेबल मुभी फेस्टिबलमा ‘स्पेशल डाईरेक्टर्स अवार्ड’, साउथ एसियन फिल्म फेस्टिबल, वासिङ्टन डिसीमा ‘बेस्ट स्टाेरी अवार्ड’, राजस्थान इन्टरनेश्नल फिल्म फेस्टिबल, २०१६ मा ‘बेस्ट डाईरेक्टर अवार्ड’ बाट विभूषित गरिएकाे थियाे।

 

म सम्पूर्ण शिक्षक, विधार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा काम गर्ने सम्पूर्ण शिक्षाकर्मीहरुलाई याे फिल्म हेर्न सिफारिस गर्छु। याे फिल्म युट्युबमा उपलब्ध छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID