‘राजु बन गया जेन्टलम्यान’ (१९९२):- पुँजीवादले जन्माएकाे महत्वाकाँक्षी युवाकाे कथा

सिनेमा चर्चा

प्रभाष

मेरो प्रिय नायक शाहरुख़ खानका मलाई मन पर्ने फिल्महरु मध्ये एक हाे, ‘राजु बन गया जेन्टलम्यान’ (१९९२) जुन उनकाे करिअरकाे प्रारम्भिक कालकाे फिल्म हाे। याे त्याे समयकाे फिल्म हाे जतिबेला शाहरुख़ खान स्टार बनिसकेका थिएनन्। उनी एक स्ट्रगलर नै थिए र केही बन्न बम्बईमा ‘हात-पा‌उ मारिरहेका’ थिए। ‘राजु बन गया जेन्टलम्यान’ शाहरुख़ खानकाे करिअरकाे पहिलो क्लासिक फिल्म हाे, पहिलो अर्थपूर्ण फिल्म हाे।

‘राजु बन गया जेन्टलम्यान’ एक उत्साही मध्यमवर्गीय नाैजवानकाे सपना र यथार्थ, सङ्घर्ष र सफलता, मित्रता र प्रेम, जीत र हारकाे कथा हाे। सारमा, याे उनकाे जीवनकाे उतारचढावकाे कथा हाे। याे तत्कालीन आर्थिक परिवेशमा उनले तय गरेकाे यात्राकाे कथा हाे जुन यात्रा पुँजीवाद-उदारवादकाे बाटाे हुँदै र बाटाेमा अवराेधककाे रुपमा देखा पर्ने नैतिक मूल्य-मान्यताहरुका बारहरुलाई भत्काउँदै र कुल्चिन्दै अघि बढ्छ। याे यात्रामा उनकाे जीत पनि हुन्छ अनि हार पनि। उनकाे उन्नति पनि हुन्छ अनि अवनति पनि। यी दुवै पाटाेलाई यस फिल्ममा राम्राेसँग चित्रण गरिएकाे छ।

एक मध्यमवर्गीय परिवारकाे महत्वाकांक्षी नाैजवान आफ्नाे सपनाहरूकाे पखेटा फिँजाउँदै दार्जिलिङकाे सानाे हिल स्टेशनबाट बम्बईकाे ठूलाे महानगरमा सङ्घर्ष गर्न आइपुग्छन् र बम्बईकाे चालमा बसेर आफ्नाे महत्वाकांक्षा पूरा गर्न सङ्घर्ष गर्न थाल्छन्। उनी आफ्नाे लक्ष्यतर्फ क्रमशः अघि बढ्न थाल्छन्। लक्ष्यतर्फ अघि बढ्ने क्रममा उनी आवश्यक पर्दा नैतिक मूल्यहरूलाई पनि ताेड्न हिच्किचाउँदैनन्।

उनी आफ्नाे उद्देश्यमा सफल पनि हुँदै जान्छन्, तर जति-जति उनी सफल हुँदै जान्छन्, उति-उति उनका पुराना सम्बन्धहरू भने टुट्दै जान्छन्। उनी सफलताकाे यात्रामा अघि बढ्दै जान्छन्, तर उनका साथका मान्छेहरू भने छुट्दै जान्छन्। उनी सफलताकाे शिखरमा त पुग्छन् तर आफ्नाे मान्छेहरूका माया, प्रेम, आत्मीयता र साथबाट उनी बन्चित हुन्छन्।

सफलता, सम्पत्ति र प्रसिद्धीकाे चमकले मानिसलाई ‘अन्धा’ बनाइदिन्छ, उनकाे साेचविचार गर्ने, सही-गलत छुट्याउने शक्तिमाथि ग्रहण लगाइदिन्छ। फलत: उनी पथभ्रष्ट बन्न पुग्छन्। उनी आत्मिक रुपमा मानवीय संवेदनाविहीन र खाेक्राे बन्न पुग्छन्। असामाजिक र यान्त्रिक बन्न पुग्छन् उनी।

तर, फेरि पनि उनलाई सही मार्गदर्शन प्रेमले नै गर्न सक्छ। प्रेमले नै उनलाई आत्मबाेध गराउन सक्छ। प्रेमले नै उनीभित्रकाे मानवतालाई जगाउन सक्छ। प्रेम, समभाव, समानुभूति, आत्मीयता र मानवता, यही ती चीजहरु हुन् जसले उनलाई सही बाटाेमा ल्याउन सक्छन्। यिनै अस्सली सम्पत्ति हुन्। जब यिनीहरुले झक्झकाएर मानिसलाई ब्युताउँछन्, उनलाई जागृत गर्छन्, तब उनले नजागि र आफुलाई नबदलिइ सुखै पाउँदैनन्।

दाेस्राे कुरा, ‘राजु बन गया जेन्टलम्यान’ ले ‘जेन्टलम्यान’ अर्थात् भलाद्मी हुनुकाे महत्वलाई पनि दर्शाउँछ। मानिस भलाद्मी हुनु जरुरी छ, चाहे उनले सम्पत्ति कमाउन् वा नकमाउन्, परवाह छैन। भलाद्मीपना नै सबैभन्दा ठूलाे सम्पत्ति हाे। भलाद्मी हुनु नै सबैभन्दा ठूलाे सफलता र उपलब्धि हाे। याे कुरालाई पनि यस फिल्मले राम्राेसँग दर्शाउँछ।

‘राजु बन गया जेन्टलम्यान’ मा सपना, सङ्घर्ष, प्रेम, मित्रता, मानवीयता, आत्मीयताजस्ता चीजहरुका सुन्दर संयाेजनमार्फत् एक अर्थपूर्ण कथा गढिएकाे छ। यस फिल्मका पात्रहरू पनि स्वभाविक लाग्छन्। राजुकाे सफलताकाे यात्रा काल्पनिक लागे पनि राजुकाे पात्र वास्तविक लाग्छ। यस्तो प्रतीत हुन्छ कि राजु हामी मध्येकै काेही एक हाे। हाम्राे समाज र सेराेफेराे भित्रकै काेही हाे। हाम्राे मित्र र आफन्तहरुमध्ये कै काेही हाे। हाम्राे परिचित हाे, हाम्रै छिमेकी हाे, हाम्रै साथी हाे अथवा आफु नै त्याे राजु पात्र हाे।

‘राजु बन गया जेन्टलम्यान’ ले शाहरुख़ खानकाे रियल लाइफ क्यारेक्टर र उनकाे स्ट्रगलसँग पनि सादृष्य राख्छ। ‘राजु बन गया जेन्टलम्यान’ ले शाहरुख़ खानकाे स्ट्रगलकाे समयकाे कथा बाेक्छ। गहिरिएर हेर्नुभयाे भने तपाईं याे फिल्मकाे पात्र राजु माथुरमा स्वयं शाहरुख़ खानलाई देख्नुहुनेछ।

‘राजु बन गया जेन्टलम्यान’ काे शाहरुख़ खानकाे पात्र राजु माथुर पनि मध्यमवर्गीय परिवारबाट आएका हुन्, रियल लाइफका शाहरुख़ खान जस्तै। उनी दार्जिलिङका पहाडी इलाकाबाट आएका हुन् भने शाहरुख़ खान दिल्लीका मैदानी इलाकाबाट। दुवैकाे सङ्घर्षकाे थलाे पनि एकै हाे, बम्बई (अहिलेकाे मुम्बई)। दुवैजना आफ्नाे सपनाकाे पेटाराे बाेकेर बम्बई आउँछन् र केही बन्नका लागि जद्दाेजहद गर्छन्। दुवैजनाले आफ्नाे काममा, आफ्नाे क्षेत्रमा उल्लेखनीय सफलता पाउँछन्, दुवैले सफलताकाे शिखर चुम्छन्, सफलताकाे आकाश छुन्छन्।

तर याे क्रममा आफुलाई बिर्सन पुग्छन्, आफ्नाे ओरिजिनालिटी (originality) लाई बिर्सन पुग्छन्। आफ्नाहरुलाई बिर्सन पुग्छन्। सफलताकाे धुनमा एकाेहाेराे दाैडिन्दा आफ्नाे जिन्दगी नै बाँच्न बिर्सिन्छन्। पहिलाे कुरा (आफ्नाे originality लाई बिर्सिने, आफ्ना मान्छेहरुलाई बिर्सिने) रियल लाइफ शाहरुख़ खानकाे हकमा लागू नभएकाे हुन सक्छ, तर दाेस्राे कुरा भने दुवै शाहरुख़काे हकमा लागु भएकाेमा दुई मत नहाेला। शाहरुख़ खान आफैले धेरैपटक आफ्ना अन्तर्वार्ताहरुमा स्टार भएपछि आफुले चाहे जस्तो जीवन जिउन नपाएकाे कुरा बताएका छन्। त्यसैले, याे फिल्ममा शाहरुख़ खानकाे जीवनकाे प्रतिछाँया देखिन्छ। उनीद्वारा अभिनित राजुकाे पात्रमा शाहरुख़ खानकै प्रतिबिम्ब देखिन्छ भलै त्याे पात्र राज कपूरकाे फिल्म ‘श्री ४२०’ (१९५५) काे पात्र राजुबाट प्रेरित भएकाे नै किन नहाेस्।

सन् १९९० काे दशककाे प्रारम्भसँगै भारतमा उदारवादी आर्थिक नीति लागु गरियाे। जसकाे फलस्वरुप भारतकाे ‘डेमाेग्राफी’ मा मध्यमवर्गकाे घनत्व बढ्दै गयाे। यस्ताे परिस्थितिमा फिल्महरू पनि मध्यमवर्ग लक्षित हुँदै गए। ‘राजु बन गया जेन्टलम्यान’ पनि त्यही परिस्थितिकाे उपज थियाे। यस फिल्मले सहरी मध्यमवर्गीय युवाका इच्छा-आकाँक्षा, आवश्यकता, समस्या, सङ्घर्ष, उपलब्धि र गुमाएका कुराहरु, सबै थाेकलाई सम्बाेधन गर्ने काेशिश गरेकाे थियाे।

मध्यमवर्गीय युवाकाे महत्वाकांक्षाकाे फैलिँदो पखेटा र आफ्नाे महत्वाकांक्षालाई पूरा गर्न आफ्नाे ‘आत्मा’ लाई क्रमश: आफै नै कुल्चिन्दै जाने आम मध्यमवर्गीय मानिसकाे चरित्रलाई शाहरुख़ खानकाे चरित्र मार्फत् पहिलाेपटक अज़िज़ मिर्ज़ाले यही फिल्ममा देखाए, जुन चरित्रले पछि गएर उनकाे अर्को फिल्म ‘येस बाेस’ (१९९७) मा विस्तार पायाे। (‘यस बाेस’ मा पनि प्रमुख चरित्र शाहरुख़ खानले नै निभाएका थिए।) तसर्थ, याे फिल्म मध्यमवर्गीय पात्र, जीवनशैली र सँस्कृतिकाे दर्पण पनि हाे।

माथि नै भनियाे, शाहरुख़ खान जब हिन्दी सिनेमामा उदाए तब भारतमा उदारवादकाे युग सुरु भएकाे थियाे। भारतीय अर्थव्यवस्था विश्वबजारका लागि खुलिरहेका थिए र अब मध्यमवर्ग भारत देशकाे केन्द्रतर्फ सर्दै गइरहेकाे थियाे। शाहरुख़ खानले पर्दामा यही मध्यमवर्गकाे प्रतिनिधित्व गरे। उनी यही मध्यमवर्गकाे हिराे भए। वास्तवमा शाहरुख़ खान यही मध्यमवर्गले बनाएका ‘नायक’ हुन्। उनी मध्यमवर्गका नायक हुन्। ‘राजु बन गया जेन्टलम्यान’ ले शाहरुख़ खानकाे यही मध्यमवर्गीय कनेक्सनतर्फ सँकेत गर्दछ। (यसबारे लेख्न बसे छुट्टै लेख तयार हुनेछ। त्यसैले, यसबारे पछि कुनै दिन लेखाैला।)

संगीतकार जतिन-ललित अज़िज़ मिर्ज़ा-शाहरुख़ खानकाे जाेडीकाे अभिन्न अंग बन्न थालेकाे पनि यही फिल्मदेखि नै हाे। ‘राजु बन गया जेन्टलम्यान’ (१९९२) उनीहरूले सहकार्य गरेकाे पहिलाे फिल्म थियाे। जतिन-ललितद्वारा सिर्जित यस फिल्मकाे संगीत सुमधुर छ। ‘लवेरिया हुआ’, ‘तू मेरे साथ साथ आसमाँ से आगे चल’, ‘सीने में दिल है’, ‘थाम थाम थाम’ लगायतका गीतहरू सुनेर आज पनि संगीतप्रेमीहरु मन्त्रमुग्ध हुने गर्छन्। जतीन-लतीतद्वारा संगीतबद्ध यस फिल्मकाे सँगीत बलिउडकाे ‘one of the bests’ भित्र पर्छ।

‘राजु बन गया जेन्टलम्यान’ काे basic plot राज कपूरकाे फिल्म ‘श्री ४२०’ (१९५५) संग ठ्याक्कै मिल्छ। साथै, यस फिल्मकाे मुख्य पात्रकाे नाम पनि राज कपूरकाे पात्रकाे नामबाट नै प्रेरित भएर ‘राजु’ राखिएकाे महसुस हुन्छ। यस पात्रका गुणहरु पनि ‘श्री ४२०’ काे राज कपूरकाे पात्र राजुसँग मिल्छन्। तसर्थ, ‘राजु बन गया जेन्टलम्यान’ लाई अज़िज़ मिर्ज़ा र शाहरुख़ खानकाे तर्फबाट राज कपूरलाई दिइएकाे ‘ट्रिब्यूट’ (श्रद्धाञ्जली) काे रूपमा पनि लिन सकिन्छ।

खासमा, राज कपूरले सुरु गरेकाे समाजवादी फिल्महरुकाे जुन धारा वा सिने-परम्परा थियाे, त्यही धारा वा सिने-परम्परालाई मिर्ज़ा बन्धुहरु (सइद अख़्तर मिर्ज़ा र अज़िज़ मिर्ज़ा) तथा कुन्दन शाहकाे समुहले अघि बढाएकाे पाइन्छ। त्यसैले, उनीहरु नै राज कपूरकाे समाजवादी सिने-परम्पराका सक्कली उत्तराधिकारीहरु हुन्। शाहरुख़ खान यही समाजवादी धाराका उत्पादन हुन् जाे पछि पुँजीवाद, इंटरटेन्मेन्ट इंडष्ट्री, मल्टिनेशनल कंपनीहरु, इंडियन सेक्युलर-लिबरल धाराका सिनेमाहरु र इंडियन सिने कल्चरकाे सबभन्दा विश्वासिलाे अनुहार (Poster Boy) बन्न पुगे। तर उनीभित्र, उनकाे विचार, चरित्र र आचरणमा त्यही मिर्ज़ा बन्धुहरु र कुन्दन शाहकाे समुहकाे समाजवादी स्कुलिङकाे प्रभाव रहिरह्याे।

पछि गएर (सन् १९९७ मा) अज़िज़ मिर्ज़ाले यही स्टारकास्ट (शाहरुख़ खान र जुही चावला) लाई लिएर ‘येस बाेस’ नामक अर्को फिल्मकाे निर्दैशन गरे र यस फिल्म ‘राजु बन गया जेन्टलम्यान’ काे थिम र क्यारेक्टरलाई अझ ‘एक्सप्लाेर’ गरे जसकाे उल्लेख मैले माथि नै गरिसकेकाे छु।

शाहरुख़ खानलाई मन पराउने पुरानाे (१९८० र १९९० काे) पुस्तालाई त ‘राजु बन गया जेन्टलम्यान’ र शाहरुख़ खानकाे करिअरमा यस फिल्मकाे महत्वका बारेमा थाहा छँदैछ तर नयाँ पुस्ता-न्यू मिलेनियम (२००० पछि का) जेनेरेशनलाई याे फिल्मकाे बारेमा थाहा नहुन सक्छ। यदि तपाईं न्यू मिलेनियम जेनेरशनकाे सदस्य हुनुुहुन्छ, शाहरुख़ खानलाई मन पराउनुहुन्छ तर उनकाे याे फिल्मकाे बारेमा सुन्नुभएकाे छैन, याे फिल्म हेर्नुभएकाे छैन भने याे फिल्म अवश्य हेर्नुहाेस्। यदि तपाईं शाहरुख़ खानलाई मन पराउनुहुँदैन भने पनि क्वालिटी सिनेमाका लागि याे फिल्म हेर्नुहाेस्। याे फिल्मले क्वालिटी सिनेमाकाे तपाईंकाे भाेक वा तलतललाई केही हदसम्म मेटाउन सक्छ।

यसका साथै १९९० काे दशकमा उदारवादले भारतीय समाजकाे मध्यवर्गीय युवाहरुमाथि पारेकाे प्रभावलाई महसुस गर्न पनि याे फिल्म हेर्नुपर्छ। भर्खरै अपनाएकाे उदारवादले त्यसबेलाका युवाहरुलाई कसरी उद्देलित गरेकाे थियाे, उनीहरुलाई के कस्ताे सपना देखाएकाे थियाे, उनीहरुमा के कस्ताे महत्वाकांक्षा जगाएकाे थियाे अनि त्यसले युवाहरुमा के कस्ताे न‌ैतिक संकट उत्पन्न गरेकाे थियाे, इत्यादि कुराहरुलाई चियाउन याे फिल्म एउटा गजबकाे आँखीझ्याल हुन सक्छ।

उदारवादकाे लाख अवगुण हाेलान् तर १९९० काे दशकमा त्यसले युवाहरुलाई सपना देख्न सक्षम चाहिँ बनाएकाे थियाे। आफ्नाे व्यक्तित्व, पृष्ठभूमि, घरपरिवार र संसारकाे सानाे परिधि वा पर्खालदेखि बाहिर निस्केर खुला आकाशमा उडान भर्न उनीहरुलाई पर्याप्त मनाेबल-आत्मबल वा आत्मविश्वास प्रदान गरेकाे थियाे। त्यही आत्मविश्वासले नै त हाे, पुँजीवादकाे इंजिनलाई घिस्याएर यहाँसम्म ल्याइपुर्‍याएकाे। भारतीय समाजकाे आजकाे समृद्धि १९९० काे दशकमा अपनाइएकाे त्यही पुँजीवाद-उदारवादकाे देन हाे। त्यही पुँजीवाद-उदारवादले सिर्जना गरेकाे उमङ्ग, तरङ्ग र तरक्कीका साथसाथै त्यसले निम्त्याएको नैतिक सँकट वा प्रश्नकाे दृष्यचित्रण हाे ‘राजु बन गया जेन्टलम्यान’।

@Prabhas733

मा प्रकाशित