सिनेमा चर्चा: ‘आई एम’ समाजकाे मूलधारदेखि अलग रहेका पात्रहरूका कथा

प्रभास, २८ कार्तिक, २०७८

‘आई एम’ मा तपाईं यस्ता पात्रहरूलाई देख्नुहुनेछ, जसलाई यस अघि तपाईंले मूलधारका सिनेमाहरूमा शायदै देख्नुभएकाे थियाे।

समाजकाे मूलधारदेखि अलग, भिन्न प्रकृतिका, उपेक्षित, अल्पसंख्यक, हाम्राे परम्परागत साेचभित्र नअटाएका, सतहबाट हेर्दा नदेखिने तथा समाज र राज्यले सम्बाेधन गर्न नसकेका पात्रहरू।

समाजकाे मूलधारले स्वीकार गर्न नसकेका पात्रहरू।

अलगपनका कारण समाजका मूलधारबाट उपेक्षित र अपमानित भएका पात्रहरू।

समाजमा सम्मानपूर्वक शीर ठाडाे पारेर बाँच्न नपाइरहेका पात्रहरू।

याे सिनेमाले यस्ता पात्रहरुका कथाहरू भन्छ, जसका कथाहरूलाई यस अघिका मूलधारका सिनेमाहरूले ‘एक्सप्लाेर’ गरेका थिएनन्। त्यस्ता पात्रहरूसँग हामीलाई साक्षात्कार गराउँछ। तिनीहरूका कथाव्यथाहरूलाई देखाउँछ, तिनीहरूका संसार र अनि तिनीहरूका अन्तर्मनकाे यात्रा गराउँछ।

यसमा एक यस्ती युवती आफिया (नन्दिता दास) छे जाे पतिले धाेका दिएपछि पतिलाई छाेडेर कुनै पुरुषकाे सहाराबिना पुरुषबाट वीर्यदानमात्र लिएर एकल आमा बन्न खाेजिरहेकी छे। उनलाई पुरुषदेखि घृणा छ। र उ पुरुषकाे सहाराबिना एक्लै आमा बनेर बच्चा पाल्ने आँट र तैयारी गरिरहेकी छे । चाहे कसैले उसलाई सपाेर्ट गरून् वा नगरुन् । चाहे अरूले जेसुकै भनुन् उनलाई मतलब छैन। उनलाई कस‌ैकाे परवाह छैन, समाजकाे पनि परवाह छैन। उनी सबैसँग विद्राेह गरेर कुमारी आमा बन्ने बाटाेमा निस्केकी छिन्।

उनकाे मिल्ने साथी छे, मेघा (जुही चावला) जाे उनकाे कदमकाे विपक्षमा उभिन्छे । मेघा उहीँ पितृसत्ताले कन्डिसनिङ गरेर उनकाे दिमागमा छापिदिएकाे परम्परागत संकुचित साेचदेखि बाहिर निस्कन सकेकाे देखिँदैन। त्यसैले उनलाई बाउबिना आमा (महिला) ले एक्लै बच्चा हुर्काउने कुरा त के, कुनै महिलालाई पुरुषले आफ्नाे वीर्यदान गर्ने कुरासमेत प‌ूर्णतया: गलत लाग्छ। त्यसैले उनी आफियाकाे एकल आमा बन्ने निर्णयलाई सपाेर्ट त गर्दिनन् नै, उनकाे भाईसँग वीर्यदानका लागि कुरा गर्ने आफियाकाे प्रस्तावलाई पनि वेवास्ता गर्छिन्।

पितृसत्ताले आफ्नाे साँचाेमा ढालेकाे पक्का महिलाजस्ता लाग्ने मेघाकाे व्यथा भने अर्कै छ। काश्मिरी ब्राह्मण परिवारकी मेघा र उनकाे परिवारले मुसलमानहरूकाे लखेटाइमा परेर घरबार छाेडी कश्मिरदेखि दिल्ली भाग्नुपरेकाे थियाे । उ मुसलमानहरूलाई आफुहरुमाथि भएकाे ज्यादतीकाे जिम्मेवार ठहर्‍याउँछे। मुसलमानहरूलाई घृणा गर्छे। काश्मिरकाे भए तापनि उनलाई काश्मिरप्रति कुनै लगाव छैन, न त त्यहाँका मानिसहरूप्रति उनमा कुनै आत्मीयता नै छ। उ आफ्नाे कश्मिरकाे प्राेपर्टी बेचेर जतिसक्दाे चाँडाे त्याे नर्कसँगकाे सम्बन्धलाई चुँडालेर सँधैकाे लागि त्याे नर्कलाई छाेडेर भाग्न चाहन्छे।

मेघाकी बाल्यकालकी साथी छिन् रुबिना (मनिषा काेइराला) । जाे सपरिवार उनकाे घरकाे हेरचाह गर्छिन् । रुबिना एक काश्मिरी मुसलमान युवती हुन् जसकाे भाइले आतंकवादी दललाई छाेडेर आत्मसमर्पण गरेकाे सात वर्ष बितिसक्दा पनि प्रशासनले अझै पनि उनीहरूमाथि शंका गरेर निगरानी गर्ने र उनीहरूकाे घरमा छापा मार्ने कार्य गरिरहन्छ। याे देखेर रुबिना आजित भएकी छे। सात वर्ष बितिसक्दा पनि प्रशासनले उनीहरूलाई त्याे घाऊलाई बिर्सन नदिएकाे, उनकाे भाइलाई समाजमा अझैसम्म पुनर्स्थापित हुने वातावरण नदिएकाे र याे सब ज्यादती राज्यद्वारा उनीहरू मुसलमान भएकाे कारण नै उनीहरूमाथि भइरहेकाे ठान्छे। त्यसैले, राज्यप्रति उसमा अपनत्वभाव छैन।

अब आउँछन् पुरुष पात्रहरू। यस सिनेमाकाे तेस्राे र चाैथाे कडीमा दुईजना समलिंगी पुरुष पात्रका कथा छन्। एक हुन् अभिमन्यु (संजय सुरी) जाे सानैदेखि आफ्नाे कान्छाबाउकाे याैनशाेषणमा परेकाे थियाे। उसकाे ईच्छा पूरा गरिदिएबापत ऊ कान्छाबाउबाट आफ्नाे फर्माइस पूरा गर्थ्याे। फलत: आज ऊ समलिङ्गी र एक धूर्त मान्छे बनेकाे छ।

अर्काे पुरुष पात्र छ, जय गाैडा (राहुल बाेस) जसकाे राम्राे करिअर छ, जाे राम्राे खानदानकाे हाे तर ऊ पुरुषलाई देखेर आफैलाई थाम्न सक्दैन र आफ्नाे याे असंयमताकाे मूल्य उसले नराम्ररी चुकाउँछ। जयकाे कथाले समलिङ्गी पुरुषले भाेग्नु परिरहेकाे अफ्ठ्यारा र अपमानका साथै साउथ इंडियनले भाेग्नु परिरहेकाे विभेदलाई समेत दर्शाउँछ।

यसरी ‘आई एम’ले एकातिर कुमारी आमा बन्न चाहने महिलाकाे ईच्छा, आँट र मनाेभावनालाई दर्शाउँछ भने अर्काेतिर त्यसकाे विपरीत र विराेधी मानसिकतालाई। एकातिर काश्मिरबाट लखेटिएकाे हिन्दु महिलाकाे पीडा, क्षाेभ र मनाेभावनालाई दर्शाउँछ भने अर्काेतिर काश्मिरमा राज्यआतंककाे छायाँमुनि बाँचिरहेकी एक काश्मिरी मुसलमान महिलाकाे दु:ख, व्यथा र मनाेभावनालाई दर्शाउँछ। यी दुवै महिला पात्र उत्पीडित छन्, दुवै अन्यायमा परेका छन्।

बाल्यकालमा याैनशाेषणकाे शिकार भएकाे पुरुषदेखि लिएर समलिङ्गी भएकै कारण पुलिसकाे दुर्वव्यहार झेल्नुपरेकाे पुरुषसम्मकाे व्यथालाई यस सिनेमाले महसुस गराउँछ।

यस सिनेमाका पात्रहरूका परिवेश, पृष्ठभूमि र उत्पीडनका प्रकृतिहरु फरक फरक छन् तर सबै उत्पीडित छन्। त्यसैले, उनीहरूबीच उत्पीडनकाे नाता छ। सबै सभ्य समाजमा सीमान्तमा परेका-पारिएका पात्रहरू हुन् । ‘आई एम’ ले देखाउँछ, यी र यस्ता असंख्याैँ पात्रहरु जसलाई न त राज्यले, न त समाजले नै पहिचान गर्न र उनीहरूकाे हित र सम्मानपूर्वक बाँच्ने पाउने हककाे संरक्षण गर्न सकेका छन्। राज्य र समाज दुवै उनीहरूलाई सम्बाेधन गर्नबाट चुकेका छन्। फलत: यस्ता पात्रहरू उत्पीडित र अपमानित भएर बाँच्न विवश छन्।

खासमा, ‘आई एम’ ले समाजकाे मूलधारदेखि अलग-थलग रहेका, समाजदेखि उपेक्षित, किनाराकृत र अलग-अलग सन्दर्भमा समाजभित्र अल्पसंख्यक रहेका वा अल्पसंख्यक भएर बाँचिरहेका पात्रहरुसँग हामीलाई साक्षात्कार गराउँछ, उनीहरुका कथाव्यथाहरुलाई देखाउँछ, उनीहरूका संसार र  अन्तर्मनकाे यात्रा गराउँछ।

‘आई एम’ ले समाजकाे मूलधारभन्दा अलग र भिन्न रहेका अल्पसंख्यक पात्रहरूलाई हेर्ने हाम्राे संकीर्ण मानसिकतामाथि प्रहार गर्छ र हामीलाई समाजकाे ऐना देखाउने प्रयत्न गर्छ। चाहे ऐनामा देखिएकाे प्रतिबिम्ब हामीलाई राम्राे लागाेस् वा नराम्राे, समाजकाे यथार्थ चित्र यही हाे।

‘आई एम’ का घटना तथा पात्रहरू पनि वास्तविक जीवनबाट प्रेरित छन्। मेघाकाे कथा संजय सुरीकाे आफ्नै जीवनकाे अनुभवहरूबाट प्रेरित छ। याे अनुभव र विचार संजय सुरीकाे मात्र नभएर काश्मिरबाट विस्थापित लाखौं काश्मिरी हिन्दु पण्डितहरूकाे हाेभन्दा अतिशयाेक्ति हुँदैन। अभिमन्युकाे कथा फेसन डिजाइनर गणेश नल्लरी र समलिङ्गी अधिकारका अभियन्ता हरिश अय्यरकाे व्यक्तिगत अनुभवहरूमाथि आधारित छ। अरू पनि थुप्रै व्यक्तिहरूका अनुभव यससँग मिल्दाजुल्दा हाेलान्। जय गाैडाकाे कथा एक अनलाईन पाेर्टलमा उपलब्ध कथा तथा शाेध सामग्रीमाथि आधारित छ।

‘आई एम’ विविध कारणले एक उल्लेखनीय सिनेमा हाे। घटनाभन्दा पनि चरित्रप्रधान सिनेमा हाे । ‘आई एम’ लाई ओनिरले निर्देशन गरेका हुन् जाे स्वयं एक समलिङ्गी हुन् र जसले यसअघि समलिङ्गी पात्रलाई नै केन्द्रमा राखेर ‘माई ब्रदर निखिल’ (२००५) नामक सिनेमा पनि बनाइसकेका छन्।

ओनिरले उत्कृष्ट कलाकारहरूकाे भीड यस सिनेमामा जम्मा पारेका छन्। उनकाे अघिल्लाे सिनेमाका प्रिय कलाकारहरू संजय सुरी, जुही चावला र पूरव काेहली यसमा पनि दाेहाेरिएका छन् नै, बलिउडकाे ट्यालेन्ट हाउस मनिषा काेइराला, नन्दिता दास, भेट्रान एक्ट्रेस शेरनाज पटेलदेखि लिएर बलिउडकाे हिडेन जेम भनिने राहुल बाेस र साउथकाे खुंखार भिलेन अभिमन्यु सिँहसम्मकाे अभिनय यस सिनेमामा हेर्न पाइन्छ। साउथकाे भन्दा एउटा कुरा झल्याँस्स सम्झेँ, फिल्ममा नर्थ इंडियनले साउथ इंडियनलाई गर्ने हेपाहा व्यवहारकाे झलक पनि देख्न पाइन्छ। साथै पुलिसकाे क्रुर, भ्रष्ट र भक्षक प्रवृत्तिकाे झलक पनि।

‘आई एम’ हार्ड हिटिङ छ, रियलिस्टिक छ र ट्रयाजिक पनि छ। यसलाई हेरेपश्चात् मनभित्र एकप्रकारकाे उकुसमुकुस हुन्छ,  जसले लामाे समयसम्म मनलाई डिस्टर्ब गरिरहन्छ। मनलाई विक्षिप्त बनाईदिन्छ। स्ट्रक्चरकाे हिसाबले याे एक अन्थाेलाेजी (Anthology) सिनेमा हाे भने नेचरकाे हिसाबले एक्सपेरिमेन्टल (experimental) र मल्टीडाईमेन्सनल (multi-dimensional) – मल्टिप्लेक्स (multiplex) सिनेमा हाे।

ओनिरले बर्लिन, जर्मनीमा हुँदाखेरि लघु सिनेमाका लागि एउटा आइडिया डेभ्लप गरेका थिए। पछि गएर उनले चारवटा लघु सिनेमा बनाउने निर्णय गरे किनभने थुप्रै आइडियाहरू उनकाे दिमागमा तैरिरहेका थिए जसलाई एउटै सिनेमामा फिट गर्न गाह्राे थियाे। ‘अभिमन्यु’ नामक पात्रकाे कथा खासमा पूर्ण आकारकाे कथानक चलचित्र (full length feature film) का लागि तयार पारिएकाे थियाे जुन फिल्मबाट करिश्मा कपुरले आफ्नाे कमब्याक गर्न लागेकी थिईन्। तर, पछि भनेजस्ताे भएन। करिश्माले फिल्म छाेडिन्। करिश्माले फिल्म छाेडेपछि ओनिरले फिल्मकाे मुख्य पात्रलाई महिलाबाट पुरुषमा रुपान्तरण गरे र फिचर फिल्म (feature film) लाई सर्ट फिल्म (short film) मा। त्यस्तै, आफियावाला कथा ओनिरले खासमा एनजीओहरूमा व्याप्त भ्रष्टाचारलाई उजागर गर्ने उद्धेश्यले लेखेका थिए तर पछि ‘बात नबनेपछि’ उनले त्याे कथालाई ‘वीर्यदान लिएर एकल आमा बन्न चाहने युवती’ माथि केन्द्रित गराए।

यस सिनेमाका चार लघु कथाहरूलाई चार फरक-फरक लाेकेसनमा खिचिएकाे थियाे। जुन पात्र जहाँकाे हाे, त्यहीकाे स्थानीय परिवेशमा याे सिनेमालाई खिचिएकाे थियाे। त्यस हिसाबले उनले आफियाकाे कथा काेलकाता, बंगालमा, मेघा र रुबिनाकाे कथा श्रीनगर (पछि करणनगरमा लाेकेशन सारिएकाे), काश्मिरमा, अभिमन्युकाे कथा बेङ्लाेर, कर्णाटकमा र जय गाैडाकाे कथा मुम्बई, महाराष्ट्रमा खिचिएकाे थियाे। श्रीनगरमा शूटिङ गरिरहँदा उनीहरूमाथि ढुंगामुढा भएपछि लाेकेसन बदलेर करणनगरमा बाँकी शुटिङ गरिएकाे थियाे। पछि एडिसनल फुटेजका लागि ओनिर आफै डकुमेन्ट्री फिल्ममेकरकाे भेषमा पुन: श्रीनगर गएर एडिसनल फुटेज खिचेर ल्याएका थिए। यस सिनेमामा स्थानीय लाेकालिटी अनुरूपका भाषाहरू प्रयाेग गरिएकाे थियाे । जसअनुसार यस सिनेमामा हिन्दी, बाँग्ला, काश्मिरी, कन्नडा, मराठी र अँग्रेजी भाषाकाे प्रयाेग गरिएकाे थियाे।

‘आई एम’ मास फन्डिङद्वारा निर्माण गरिएकाे थियाे। फेसबुक र ट्विटरजस्ता साेसल नेटवर्किङ साइटकाे मदत लिएर ‘आई एम’ काे निर्माणकाे लागि रकम संकलन गरिएकाे थियाे। विश्वभरिका पैंतालीस शहरका चार सयभन्दा बढी मानिसहरूले ‘आई एम’ काे निर्माणका लागि आर्थिक सहयाेग गरेका थिए।

ओनिरले यस सिनेमाकाे निर्माणका लागि आर्थिक सहयाेग गर्ने सबैकाे नाम सिनेमाकाे क्रेडिटमा उल्लेख गरेका थिए। श्याम बेनेगलकाे सिनेमा ‘मन्थन’ (१९७६) पछि क्राउड फन्डिङबाट निर्माण गरिएकाे सिनेमा ‘आई एम’ नै पहिलाे हुनुपर्छ। राेचक कुरा, दुवै सिनेमाले नेशनल अवार्ड जितेका थिए।

अधिकांश कलाकारहरूले यस सिनेमामा निशुल्क अभिनय गरे। मनिषा काेइराला, जुही चावला, अनुराग कश्यप, पूरव काेहली आदिले यस सिनेमामा काम गरेकाे पारिश्रमिक लिएनन्। जुही र पूरवले त आर्थिक सहयाेगसमेत गरेका थिए।  मनिष मल्हाेत्रा, मनिष अराेरा, अकी नरुलाजस्ता फेसन डिजाइनरहरूले यस सिनेमाका लागि सित्तैमा कपडाहरू उपलब्ध गराएका थिए।

‘आई एम’ हेर्दाखेरि यस्ताे लाग्छ कि याे सिनेमा थिएटरहरूका लागि नभएर फिल्म फेस्टिबलहरूकै लागि बनाइएकाे हाे । याे सिनेमा मासकाे लागि बनाइएकाे नै हाेइन। ‘आई एम’ लाई विभिन्न फिल्म फेस्टिबलहरूमा प्रदर्शन गरियाे र त्यहाँ याे सिनेमाले अवार्डहरू पनि पायाे।

याे सिनेमालाई हेर्नु जाे कस‌ैकाे वशकाे कुरा हाेइन। हार्डकाेर फर्मुला फिल्मका दर्शकहरूले ‘आई एम’ लाई हेर्ने बारे नसाेच्दा पनि हुन्छ। तर, गम्भीर सिनेमाहरू हेर्ने चस्का लागेका दर्शकहरूले याे सिनेमालाई एकपटक ट्राई गर्न सक्छन्। याे सिनेमा मन पर्ने वा नपर्ने कुरा चैं सिनेमा हेर्ने दर्शकहरूमाथि नै छाेडिदिएकाे छु। सिनेमा युट्युबमा उपलब्ध छ।

@Prabhas733

मा प्रकाशित