‘नमकीन’ (१९८२):- मानवीय सम्बन्धहरुकाे अनाैठाे कथा

सिनेमा चर्चा

प्रभाष

‘नमकीन’ मानवीय सम्बन्धहरूकाे अनाैठाे कथा हाे। चार जना महिला र एक पुरुष ‘नमकीन’ का प्रमुख पात्रहरू हुन् जाे एक अदृष्य भावनात्मक सम्बन्धकाे डाेरीले बाँधिएका हुन्छन्। ‘नमकीन’ ले उनीहरूका जीवन र सम्बन्धका तीता-मीठा, पिरा-नुनिला अनुभूतिहरूका कथा भन्छ। सधै जस्तै गुलज़ारकाे याे फिल्म पनि एक ‘इंटेन्स’ र ‘लेयर्ड’ ड्रामा हाे। ‘नमकीन’ मेराे औधी प्रिय सिनेमाहरूमध्ये एक हाे।

कुरा सुरु गराैं फिल्मका प्रमुख महिला पात्रहरूबाट। निम्की (शर्मिला टैगाेर) घरका प्रमुख आधारस्तम्भ हुन् जसले घरलाई बलियाे गरी थामेर राखेकी छिन्। उनी सबैकाे ख्याल राख्छिन्। सबैकाे लागि त्याग गर्छिन्।

मिठ्ठु (शबाना आज़मी) संवेदनशील छिन्। उनी बाेल्न सक्दिनन्। त्यसैले आफ्ना संवेदनाहरूलाई उनी कापीकाे पानामा उतार्छिन्। उनमा एक कवयित्रीकाे मन छ।

चिङ्की (किरण भाइरले) बिन्दास छिन्, छुच्ची छिन्। उनी चिप्लो घस्न जान्दिनन्। जे मनमा छ, त्याे सीधै भन्छिन्। उनी कुरा लुकाउँदिनन्। उनी ‘स्ट्रेट फरवर्ड’ छिन्। गेरुलाल (संजीव कुमार) कै शब्दमा, ‘तीनों बहनें एक लड़ी में पिरोई हुई हैं, आदत से खट्टी, मीठी और नमकीन।’

किरण भाइरले, शबाना आज़मी र शर्मिला टैगाेर

अनि, घरमा उनीहरूका आमा पनि छिन्, ‘ज्याेतिअम्मा’ (वहीदा रहमान)। आँखा र शरीरबाट कमजाेर, वृद्धावस्थामा मनाेभ्रंशबाट ग्रसित। उनकाे आफ्नै त्रासद अतीत छ। लाेग्नेकाे शाेषण र उपेक्षा भाेगेकाे अतीत।

उनी आफ्ना तीन बहिनी छाेरीहरूका बारेमा चिन्तित छिन्। छाेरीहरू जसमध्ये, जेठी निम्की विवाहकाे उमेर पार गरिसकेकी छिन्। माइली मिठ्ठु विवाहकाे उमेरकी भएकी छिन् अनि कान्छी चिङ्की विवाहकाे उमेरतर्फ बढिरहेकी छिन्। उनीहरूकै चिन्तामा ज्याेतिअम्मा सुक्दै गइरहेकी छिन्। फिल्ममा यी बुढीआमाकाे भयलाई पनि रेखाङ्कित गरिएकाे छ।

यस्तैमा एक दिन उनीहरूका जीवनमा एकजना पुरुष ट्रक ड्राइभर गेरुलाल (संजीव कुमार) काे प्रवेश हुन्छ। जाे उनीहरूकाे घरमा काेठा भाडामा लिएर बस्न आइपुग्छ।

गेरुलाल र ज्याेतिअम्मा

छिट्टै नै याे अन्जान पुरुष उनीहरूसँग घुलमिल हुन्छ र उनीहरूका घर र हृदय दुवैमा स्थान बनाउँछ। याे पुरुष ड्राइभरकाे प्रवेशपश्चात् उनीहरूकाे हृदय तरङ्गित हुन्छ। उनीहरूकाे जीवनमा उथलपुथल आउँछ।

अनि, जब निर्धारित समयपश्चात् याे ड्राइभर आफ्नाे गाडीकाे स्टेयरिङ माेडेर उनीहरूकाे जीवनदेखि ओझेल हुन्छ, तब उनीहरूकाे जीवनकाे स्टेयरिङ पनि माेडिन्छ। उनीहरूकाे जीवन बदलिन्छ। फिल्मले त्यसपछि त्यही बदलावकाे कथा भन्छ।

‘नमकीन’ ले महिला-पुरुष सम्बन्धकाे सूक्ष्मताका साथ छिन्द्रान्वेषण गर्छ। महिलाकाे जीवन, भाेगाइ र नियतिलाई दर्शाउँछ। र, उनीहरूकाे जीवनमा पुरुषकाे प्रवेशले पार्ने असरकाे बारेमा बताउँछ। वृद्धा ज्याेतिअम्मादेखि लिएर किशोरी चिङ्कीसम्मकाे नियति समान हुनुले सबै महिलाकाे नियति एकसमान हुने ‘युनिर्भसल ट्रुथ’ लाई दर्शाउँछ। विश्वव्यापी ऐतिहासिक-सार्वभाैमिक सत्य।

‘नमकीन’ का निर्दैशक गुलज़ार र कलाकारहरु

त्यत्राे आशा गर्दा पनि गेरुलाल उनीहरूकाे उद्दार गर्न चुक्छन्। असमर्थ हुन्छन्। यसले पुरुषहरू महिलाहरूकाे उद्दार गर्ने मामिलामा सदैव ‘नपुंसक’ साबित हुने गरेकाे तीताे सत्यतर्फ इंगित गर्छ। पहिलेदेखि लिएर अहिलेसम्म याे दुनियाँमा पुरुषहरू नै महिलाहरूकाे दुर्दशाकाे कारण बन्ने गरेका छन् (जसरी यहाँ किशनलाल प्रमुख चारजना महिला पात्रकाे दुर्दशाकाे कारण बनेका छन्) र महिलाहरूलाई उद्दार गर्न खाेजे पनि सदैव महिलाहरूकाे उद्दार गर्न असफल भएका छन् (जसरी यहाँ गेरुलाल ती महिला पात्रहरूकाे उद्दार गर्न असफल भएका छन्)। याे अर्काे ‘युनिभर्सल ट्रुथ’ हाे। अर्काे, विश्वव्यापी ऐतिहासिक-सार्वभौमिक सत्य। ‘नमकीन’ ले यस ‘युनिभर्सल ट्रुथ’ तर्फ पनि इंगित गर्छ।

मानिसकाे जीवन साेचेजस्ते कहिल्यै हुँदैन। जीवन विसँगतिपूर्ण हुन्छ। जीवनमा हामी साेच्छाैं एउटा, तर भइदिन्छ अर्काे। त्यही विसँगतिका कारण हामी जीवनबाट पलायनकाे बाटाे राेज्छाैं (जसरी ‘नमकीन’ का महिला पात्रहरुले राेजे) तर कहिलेकाहीँ त जीवनले हामीलाई पलायनकाे बाटाेसमेत छाेड्दैन (जसरी यहाँ निम्कीलाई जीवनले पलायनकाे बाटाे पनि छाेडेन) अनि, हामी आशाकाे त्यान्द्राे समातेर कसैकाे अनन्त प्रतीक्षामा जसाे-तसाे बाँचिरहन्छाैँ (जसरी ‘नमकीन’ का सबै पात्रले पलायनकाे बाटाे राेज्दा निम्की भने चिङ्की र गेरुलालकाे अनन्त प्रतीक्षामा बाँचिरहन बाध्य हुन्छिन्)।

निम्की उर्फ शर्मिला टैगाेर

यसरी, कहिलेकाँही बाँच्नुकाे कुनै सार हुँदैन तर पनि जीवनले पलायनकाे बाटाे नछाेडिदिदाँ हामी बाँचिरहन बाध्य हुन्छाैं तर, जीवनमा उज्यालोकाे सम्भावना कहिल्यै समाप्त हुँदैन, जसरी कालाे बादलमा चाँदीकाे घेरा हुन्छ। अनि विगततिर फर्केर दु:खमन गरिरहनुभन्दा अगाडिकाे बाटाेतर्फ लम्किनु नै श्रेयकर हुन्छ।

महिलाहरूकाे मनाेविज्ञानकाे चित्रण गर्नु ‘नमकीन’ काे अर्काे प्रमुख विशेषता हाे। यसमा एउटै परिवारका तर फरक-फरक उमेर समूहका महिलाहरूका इच्छा-आकाँक्षा, चाहना र मनाेदशाकाे चित्रण गरिएकाे छ जाे एक-अर्काका भन्दा भिन्न-भिन्नै छन्। यहाँ ज्याेतिअम्मा विरहकाे अविरल यात्री जस्ती लाग्छिन्। निम्की त्यागकी देवीजस्ती लाग्छिन्, मिठ्ठु पलायनकी राहीजस्ती, अनि चिङ्की चैँ विद्राेहका प्रतिमूर्तिजस्ती। ‘नमकीन’ यस्ता थाेरै सुन्दर फिल्ममध्ये पर्दछ, जसले महिलाहरूका अन्तर्मनकाे गहिराइमा पसेर यात्रा गराउँछ। वास्तवमा ‘नमकीन’ मा महिला चरित्रहरूको भव्य झाँकी छ।

‘नमकीन’ काे पाेष्टर

गुलज़ारकाे फिल्म ‘नमकीन’ लाई परिभाषित गर्न कठिन छ। गरिबी, सहारा, प्रेम र प्रतीक्षालाई एउटै कथाकाे डाेरीमा उनेर बनाइएकाे याे फिल्म समरेश बसुकाे कथा ‘अकल बसन्त’ माथि आधारित छ।

कलाकारहरूमा, शर्मिला टैगाेरले निम्कीकाे चरित्रलाई जीवन्त पारेकी छिन्। निम्कीकाे चरित्रकाे लागि शर्मिला टैगाेर पहिलाे राेजाइ थिइनन्। याे चरित्रलाई पहिले रेखाले निर्वाह गरिरहेकी थिइन्। तर निर्देशक गुलज़ारसँग कुनै कुरामा उनकाे गम्भीर मतभेद भएपछि उनी फिल्मबाट अलग्गिइन्। अपर्झटमा शर्मिला टैगाेरलाई फिल्मका लागि साइन गरियाे।

शर्मिला त्यस बेला फुर्सदमा थिइन्। पहिलेजस्ताे भ्याइ-नभ्याइ काम गरिरहेकी थिइनन्। उनले बिहे गरिसकेकी थिइन्। अनि, पहिलेजस्ताे जे जति अफर आउँछ, ती सबैलाई स्वीकारेर भ्याइ-नभ्याइ काम गर्न छाडेर स्तरीय फिल्महरू मात्र छानेर काम गर्ने निश्चय गरेकी थिइन्। त्यसैले, याे यस फिल्मका निर्माताहरुकाे साैभाग्य थियाे कि उनीहरूले शर्मिलाकाे डेट्स पाए।

‘नमकीन’ मा शर्मिला टैगार

शर्मिलाले निम्कीकाे चरित्रलाई यसरी निर्वाह गरिन् कि याे चरित्र यादगार बनिदियाे। उनले याे चरित्रभित्र प्राण भरिदिइन्। आज ‘नमकीन’ काे निम्कीकाे चरित्रलाई शर्मिलाकाे करिअरकाे एक यादगार चरित्र मानिन्छ। अनि, हिन्दी सिनेमाकाे इतिहासका सर्वाधिक यादगार चरित्रहरूमध्ये एक। निम्की बाेल्छिन् कम, उनी धेरैजसाे आफ्ना भावहरूलाई आँखाबाटै अभिव्यक्त गर्छिन्। उनी चुपचाप बसिरहन्दा पनि उनका आँखाहरु बाेलिरहेकै हुन्छन्। ‘नमकीन’ गुलज़ारसँग शर्मिलाकाे (‘खुशबू’ र ‘माैसम’ पछिकाे) तेस्राे फिल्म थियाे।

शबाना आज़मीले पनि मिठ्ठुकाे चरित्रलाई सहजतापूर्वक निर्वाह गरेकी छिन्। शबाना एक यस्ती प्रतिभावान् अभिनेत्री हुन् जाे जुनै पनि चरित्रलाई वास्तविकताकाे तहसम्म पुगेर निर्वाह गर्न सक्छिन्। मिठ्ठुकाे चरित्र निर्वाह गर्ने क्रममा उनी कतै चुकेकी छैनन्। मिठ्ठुकाे चरित्रजस्ताे देखिनुपर्थ्याे, उनी दुरुस्तै त्यस्तै देखिएकी छिन्।

सँजीव कुमारसँग शबाना आज़मी

वहीदा रहमान पनि एक अद्वितीय अभिनेत्री हुन्। यसमा कुनै सन्देह छैन, तर ज्याेतिअम्माकाे चरित्रमा भने मलाई वहीदा रहमान अनुपयुक्त लाग्याे। उनी त्यति वृद्धा देखिन्दिनन्, जति याे चरित्र देखिनुपर्ने हाे। न उनकाे अनुहारमा चाउरीहरु देखिन्छ, न उनकाे निधारमा बुढेसकालका धर्साहरु। याे चरित्र उनकाे प्रतिभालाई न्याय गर्ने ‘स्तर’ काे थिएन भन्ने मलाई महसुस भयाे।

संजीव कुमार त एक यस्ता अभिनेता थिए, जाे जब कुनै चरित्र निर्वाह गर्थे तब त्याे चरित्रमा पूर्णतया: समाहित हुन्थे। उनी गुलज़ारका एक प्रमुख अस्त्र थिए। गुलज़ारसँग उनकाे ‘केमिस्ट्री’ मिल्थ्याे। ‘आँधी’ देखि लिएर ‘नमकीन’ सम्मका फिल्महरूमा उनीहरुकाे केमिस्ट्रीले जादु छरेकाे हामी देख्न र अनुभूत गर्न सक्छाैं।

सँजीव कुमार

जे हाेस्, वहीदा रहमान, शर्मिला टैगाेर, शबाना आज़मी र संजीव कुमारजस्ता विलक्षण कलाकारहरुलाई एउटै फिल्ममा हेर्न पाउनु आफैमा कुनै जादु, कुनै आश्चर्य (संसारका सात आश्चर्य भन्छन् नि, हाे त्यस्तै) भन्दा कम त छैन।

‘नमकीन’ का कलाकारहरुका चर्चा किरण भाइरले (चिङ्की) काे चर्चा बिना अधुराे हुन्छ। मलाई ‘नमकीन’ का कलाकारहरूमध्ये, यी सानी अभिनेत्री किरणलाई विशेष रूपमा सरहना गर्न मन लाग्छ किनभने फिल्मका अन्य सबै कलाकार अनुभवी थिए, दिग्गज थिए, लामाे समयदेखि अभिनयमा सक्रिय थिए तर किरण भाइरले कलिलै थिइन्, नयाँ थिइन्, भर्खर अभिनयकाे कखरा सिक्दै थिइन्। तर पनि वहीदा रहमान, शर्मिला टेगाैर, शबाना आज़मी र संजीव कुमारजस्ता खारिएका कलाकारहरूका सामुन्ने उनले जुन पर्फमेन्स दिइन्, त्याे अद्वितीय थियाे।

शबाना आज़मीसँग किरण भाइरले

‘नमकीन’ मा उनकाे हरेक शट उत्कृष्ट लाग्छ, उनकाे हरेक डाइलग डेलिवेरीले मन छुन्छ। परिस्थितिअनुसार उनका अनुहारमा देखिने भावभंगिमाहरूले उनकाे चरित्रकाे मनाेदशालाई दर्शाइरहेकाे हुन्छ। उनकाे चरित्रलाई जीवन्त बनाइरहेकाे हुन्छ। उनकाे चालढाल, बडी ल्याङ्वेज सबथाेक अद्वितीय लाग्छ। फिल्म हेर्दा उनी भर्खर अभिनय सिक्दै गरेकी, कलिली, नयाँ कलाकार बिल्कुलै लाग्दिनन्। वहीदा, शर्मिला, शबाना, संजीवजस्ता दिग्गज कलाकारहरूका अगाडि यस्ताे अभिनय प्रदर्शन गर्न सक्नु आफैमा ठूलाे कुरा हाे।

फिल्मकाे लगभग अन्त्यतिर संजीव कुमारसँग उनकाे वान्-टू-वान् कंफ्रन्टेशनकाे दृष्य छ। याे दृष्यमा उनी यति आत्मविश्वासका साथ प्रस्तुत भएकी छिन् कि उनकाे भावभंगिमा र डाइलग डेलिवेरी देखेर ताज्जुब लाग्छ।

फिल्मकाे एउटा दृष्यमा शर्मिला टैगाेर र सँजीव कुमारसँग किरण भाइरले

संजीव कुमारसँगै आर.डी.बर्मन उर्फ पँचमकाे संगीत गुलज़ारका फिल्महरूका अभिन्न अंग हुन्। संजीव कुमारजस्तै पँचमसँग पनि उनकाे ‘ट्युनिङ’ मिल्छ। उनीहरूका मनका तारहरु मिल्छन् र त्यसबाट जुन संगीतकाे झंकार निस्किन्छ, त्यसले हरेककाे मनमस्तिष्कलाई झंकृत गरिदिन्छ। गुलज़ारसँग आर.डी.बर्मन (पँचम) काे सहकार्यले हरेकचाेटि जादु छर्दै आइरहेकाे छ। ‘नमकीन’ पनि यसकाे अपवाद छैन।

यस फिल्ममा पाँचवटा गीतहरु छन् र सबै गीत उत्कृष्ट बनेका छन्। आशा भाेसलेकाे स्वरमा ‘आके चली बाके चली’ गीतले तीन दिदीबहिनीकाे आपसी प्रेम र आत्मीयतालाई महसुस गराउँछ। याे गीतमा तपाईं उनीहरूले कुटिरहेकाे मसालाकाे सुगन्ध अनुभूत गर्न सक्नुहुन्छ। याे गीत बाँसुरी, मादल र ढाेलककाे प्रयाेगका कारण पनि सुमधुर, कर्णप्रिय र रमाइलाे लाग्छ।

‘आके चली बाँके चली’ गीतकाे एउटा दृष्यमा शर्मिला र शबाना

हंटिङ मेलाेडी ‘फिर से आयाे बदरा विदेशी’ ले मिठ्ठुकाे मनाेदशा र भावहरुलाई दर्शाउँछ भने किशाेर कुमारद्वारा गाइएकाे र खाली सडकमा छायांकन गरिएकाे ‘राह पे रहते है, यादाें पे बसर करते है’ ले गेरुलालकाे मनाेदशाका साथै उनकाे जीवनकाे दशालाई चित्रण गर्दछ।

‘राहाें पे रहते है’ गीतकाे एउटा दृष्यमा सँजीव कुमार

‘बड़ी देर से मेघा बरसा’ अर्काे विरहयुक्त गीत हाे जसलाई फिल्ममा ‘मुजरा गीत’ काे रूप दिइएकाे छ। अलका यागनिककाे स्वरमा ‘ऐसा लगा नज़र में सुरमा’ गीतले देहाती नाैटंकी गीतकाे माैलिक स्वाद दिन्छ। याे गीतमा किरण भाइरलेले गरेकाे नृत्य पनि उत्कृष्ट छ। यस नृत्यमार्फत् किरणले आफु उत्कृष्ट अभिनेत्रीमात्र नभएर उत्कृष्ट नृत्याङ्गना भएकाे कुरासमेत प्रमाणित गरेकी छिन्। यी सबै गीतका इंस्ट्रुमेंटेशन उत्कृष्ट छ।

फिल्मकाे छायांकन उत्कृष्ट छ। कुलुकाे प्राकृतिक सुन्दरतालाई जसरी कलात्मक ढंगले फिल्ममा कैद गरिएकाे छ त्यसकाे जति प्रशंसा गरे पनि कम हुन्छ। फिल्मकाे अडियाेग्राफी पनि उत्कृष्ट छ। अडियाेग्राफीकाे लागि याे फिल्मलाई नेशनल फिल्म अवार्डद्वारा पुरस्कृत गरिएकाे थियाे। फिल्मकाे सिनेमाटाेग्राफी पनि उत्कृष्ट छ। सम्पादन सटिक र चुस्त छ। ब्याकग्राउण्ड स्काेरलगायत फिल्मका अन्य प्राविधिक पक्षहरु पनि उच्चस्तरीय छन्। गुलज़ारकाे निर्देशनकाे बारेमा त भनिरहन नपर्ला।

निर्दैशक गुलज़ार

संक्षेपमा, ‘नमकीन’ सुदुर हिमाञ्चल, कुलुकाे एक दुर्गम पहाडी गाउँमा बस्ने एउटा गरिब परिवारका दिदीबहिनीहरू र एकजना आमा अनि उनीहरूकाे जीवनमा ठाेक्किन आइपुगेकाे एक ट्रक ड्राइभरकाे भावनात्मक सम्बन्धकाे उतारचढावकाे सुन्दर, संवेदनशील र मर्मभेदी कथा हाे। एक पुरुष ड्राइभरकाे आगमनपश्चात् उनीहरूकाे जीवनमा आएका उथलपुथलकाे कथा हाे ‘नमकीन’। फिल्मले दर्शाएका धेरै कुराहरूमध्ये एक ‘प्रेम, सहारा र प्रेरणा बिनाकाे मानवीय जीवनकाे हविगत’ पनि हाे सायद।

‘नमकीन’ लाई शब्दहरुमा बयान गर्न सकिन्दैन, यसलाई मात्र हृदयले अनुभूत गर्न सकिन्छ। याे हृदयले अनुभूत गर्नुपर्ने सिनेमा हाे। ‘नमकीन’ कथाभन्दा पनि बढी भावना हाे। संवेदना हाे। भावना, संवेग, संवेदना, समभाव, अनुभव र अनुभूतिहरूले भरिएकाे छ ‘नमकीन’। भावनाशील हुनु नै याे सिनेमाकाे एक प्रमुख विशेषता हाे।

‘नमकीन’ काे एउटा दृष्यमा गेरुलाल र मिठ्ठु

छुट्टै संसार, पात्र र जीवन-भाेगाइहरूकाे दर्शन गराउने याे फिल्म ‘नमकीन’ गुलज़ारकाे एक अविस्मरणीय सृजना हाे।

@Prabhas733
मा प्रकाशित