युवा दिवसमा रास्वपा गढवाको रक्तदान अभियान, २३ जनाले दिए रगत

आलोक भावुक

गढवा, २८ श्रावण । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गढवा गाउँपालिका कमिटीको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर २ महदेवामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

देशभर रगतको अभाव देखिँदै गएको अवस्थामा युवाहरूलाई सामाजिक सेवामा जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका युवाहरू तथा स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदाताहरूको स्वास्थ्य परीक्षण गरी रक्तदान गराइएको आयोजकले जनाएको छ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी गढवा गाउँपालिका कमिटीका सभापति मुबारक अलीले अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नगरी युवाहरूको सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

“रगतको अभावका कारण कसैले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो। कठिन परिस्थितिमा राज्यलाई मात्र जिम्मेवार ठानेर बस्ने होइन, नागरिक र विशेषगरी युवाहरूले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ। युवाशक्ति परिवर्तनको वाहक मात्र होइन, समाज र देश निर्माणको प्रमुख शक्ति पनि हो। त्यसैले एक पिन्ट रगतले कसैको जीवन बचाउन सक्छ भन्ने सन्देशसहित हामीले यो अभियान सञ्चालन गरेका हौँ,” सभापति अलीले भन्नुभयो।

उहाँले युवाहरूलाई राजनीतिक गतिविधिसँग मात्र सीमित नराखी सामाजिक सेवा, मानवीय सहयोग र समुदायप्रतिको जिम्मेवारीमा पनि सक्रिय बनाउनुपर्ने बताउनुभयो। रक्तदानजस्ता अभियानले युवामा सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उहाँको भनाइ छ।

रक्तदान कार्यक्रममा सहभागीहरूले पनि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जीवन बचाउने काममा सहभागी हुन पाउनु सकारात्मक भएको बताएका थिए। आयोजकका अनुसार आगामी दिनमा पनि सामाजिक सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइनेछ।

रक्तदान कार्यक्रमले युवाहरूको सामाजिक सक्रियता र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई उजागर गरेको आयोजकको भनाइ छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID