बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल

पाँच दलीय सत्ता गठबन्धनका  शीर्ष  नेताहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटमा सहमतिको प्रयास गर्ने नेताहरूले बताएका छन्  ।

बैठक बिहान ८ बजे बस्ने भनिए पनि ढिलो गरी सुरु भएको हो । यसअघि ११ सदस्यीय कार्यदलले प्रतिनिधि सभा सदस्यका १६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटेको जनाएको थियो । कार्यदलले सहमति जुटेका र जुट्न बाँकी विषयलाई समेत समेटेर शीर्ष नेतालाई सुझाव दिएको छ । आगामी असोज २ गते समानुपातिक तर्फको मनोनयन गर्ने दिन नजिकिदै गर्दा सत्तारुढ दललाई सिट बाँडफाँट गर्न सकस परिरहेको छ ।

सहकारीको मल किसानलाई नदिएर व्यापारीलाई बेचेपछी सहकारी अध्यक्ष प्रहरीको खोरमा

बर्दिबास नगरपालिका-९, स्थिती पशुपति जन उपभोक्ता सहकारीले बढी मूल्य लिएर व्यापारीलाई अनधिकृत रूपमा मल बेच्ने गरेको खुलेको छ । किसानले मल नपाइरहेको बेला सहकारीले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेको हो ।

सहकारीका अध्यक्ष रामजतन महतोले भंगाहा नगरपालिकाका व्यापारी सन्जय साहलाई बेचेकाे मल लोड गर्दागर्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि घटना सार्वजनिक भएको हो । `शुक्रबार राति करिब ९ बजे मलखाद लोड गरेर भंगाहातर्फ जाँदै गर्दा स्थानीय युवाहरूले नियन्त्रण लिएका हुन्,´ विजय सिंहले भने ।

व्यापारी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । साहले प्रारम्भिक बयानमा उक्त सहकारीका सञ्चालक तथा अध्यक्ष महतोले आफूलाई मल बेचेको बताएका छन् । साहलाई उद्धृत गर्दै प्रहरीले भनेको छ, ‘हामीले साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ, उनले धेरै कुरा खुलाएका छन् ।´

किसानहरूलाई मल वितरण गर्दा वडाले कुपनसहितको आफ्नै मापदण्ड बनाए पनि त्यसलाई अध्यक्ष महतोले खुलेआम बेवास्ता गरिरहेको वडा अध्यक्ष घुरन महतोको गुनासो छ ।

`किसानहरूलाई राहत होस् भन्ने उद्देश्यले हामीले कुपनको व्यवस्थापन गरेका छौँ तर डिपोमा पुगेपछि किसानहरू निराश भएर फर्कन्छन्,´ वडा अध्यक्ष महतोले भने । शुक्रबार राति मल वितरक महतोले तीन वटा टेम्पुमा राखेर मल भंगाहा पुर्‍याएको आरोप स्थानीयको छ । नगरपालिकाले किसानलाई मल वितरण गर्न हरेक वडामा एक सहकारीलाई जिम्मा दिएको हुन्छ ।

दाङ – २ बाटै चुनाव लड्ने महराको उद्‍घोष

आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीका बिषयमा मौन रहँदै आएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफू दाङ –२ बाटै निर्वाचन लड्ने उद्घोष गर्नु भएको छ । उनले आफू प्रतिनिधिसभा निर्वाचनमा लड्ने र आफ्नै चुनावी क्षेत्रबाट लड्ने समेत बताउनुभयो । महरा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाटै निर्वाचित हुनु भएको थियो। ‘म चुनाव लड्छु, त्यो पनि आफ्नै क्षेत्रबाट लड्छु,’ नागरिकसंगको भेटमा उपाध्यक्ष महराले भन्नुभयो ‘हुन त, अन्य क्षेत्रबाट पनि साथीहरुले मेरो उम्मेदवारीको अपेक्षा गर्नुभएको छ, तर म आफ्नो क्षेत्र छोडेर अन्त जान्नँ। ’ उनले आफ्नो क्षेत्रका मतदाताहरुले उम्मेदवार बनोस् भन्ने चाहिरहेको भन्दै आम मतदाताको चाहनालाई आफूले नकार्न नसक्ने समेत जानकारी दिनुभयो ।

‘मलाई मतदाता साथीहरुले चाँडै उम्मेदवारी घोषणा गर्नुस् भनेर भनिरहनु भएको छ,’ उनले भने ‘मतदाताहरुले यसै निर्वाचन क्षेत्रबाट उठ्नका लागि गरेको चिन्तनको कदर गर्दै म आफ्नै क्षेत्रबाट चुनाव लड्छु। ’ माओवादी केन्द्रले आईतबारै महराको नाम यसै क्षेत्रबाट उम्मेदवार सिफारीस गरिसकेको छ।

महराले आफू यसै निर्वाचन क्षेत्रबाट चुनाव लड्नका लागि आफ्नो नाम पहिलो नम्बरमै सिफारीस गर्न समेत माओवादी क्षेत्र नम्बर २ समन्वय समितिलाई भन्नु भएको थियो । ‘म यसै क्षेत्रबाट चुनाव लड्ने हुँ, सिफारीसका लागि बोलाईएको बैठकमा मेरो नाम एक नम्बरमा सिफारीस गर्नु भनेर भन्ने छु,’ नाम सिफारीस हुनु अघि नागरिकसंग उनले भनेका थिए ‘मेरो नाम पहिलो नम्बरमा सिफारीस हुन्छ।’ दाङ २ माओवादी केन्द्रले पाउने निर्णय गठबन्धनका बिचमा भैसकेको भन्दै उनले थपे, ‘मेरो क्षेत्र दाङ २ मा माओवादी केन्द्रले नै टिकट पाउने निर्णय भैसकेको छ, यहाँको उम्मेदवार म नै हो।

यस अघिसम्म महराले आफू चुनाव लड्ने वा नलड्ने बारेमा केहि बोलेका थिएनन्। ‘म अहिलेको भन्दा पनि पछिको परिस्थती आँकलन गरेर खुलेको थिएन,’ महराले भने, ‘पार्टीको निर्णयलाई मानेर अघि बढ्नु पर्छ, फलतः पार्टीको आधिकारीक मनासाय नबन्दै खुल्नु पनि उचित हुँदैन।’महरा दाङ २ बाट निर्वाचन लड्ने भए महरा र एमाले महासचिव शंकर पोख्रेलका बिचमा चुनावी प्रतिष्पर्धा हुने छ।

एमालेले पोख्रेलको नाम यो क्षेत्रबाट सिफारीस गरिसकेको छ। साथै महासचिव पोख्रेलले आफू दाङ २ बाटै निर्वाचन लड्ने निर्णयमा पुगिसकेका छन्। उनले आइतबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा आफू दाङ २ बाट चुनाव लड्नका लागि नभई चुनाव जित्नका लागि उम्मेदवार बन्ने बताएका छन्।