भारतका १७ सय हलहरूमा फिल्म ‘प्रेम गीत ३’ लाग्ने

असोज ७ गते देखि नेपाल, भारत र अन्य देशहरूमा एकैसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेम गीत ३’ भारतमा मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुने भएको छ ।

हिन्दी भाषामा डबिङ भएको यो फिल्म नेपालमा पनि हिन्दी र नेपाली दुबै भाषमा एकै दिन रिलिज हुनेछ । हालसम्म भारतमा फिल्मको ट्रेलर १७ सयभन्दा धेरै हलमा बजिरहेको छ ।

फिल्म निर्माण टीमका अनुसार ट्रेलर बजेका सबै हलहरूमा फिल्म रिलिज हुनेछ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की र प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

क्रिस्टिनाले यही फिल्मबाट डेब्यू गरेकी हुन् । हाल फिल्म निर्माण पक्ष यो फिल्मको प्रचारका लागि भारत र नेपालका विभिन्न शहरमा दुई टोली बनाएर प्रचार–प्रसार गरिरहेको छ । भारतमा गायक पवनदीप पनि फिल्मको प्रचारमा हिँडिरहेका छन् । उनले यो फिल्मको हिन्दी भाषाको गीत गाएका छन् । उनी भारतीय गायक हुन् । हिन्दी भाषामा डब भएर भारतमा रिलिज हुने यो पहिलो नेपाली फिल्म हो ।

विषालु च्याउ खाँदा दाङमा एकै परिवारका पाँच जना बिरामी

दाङको तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् ।

गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिरामी हुनेहरूमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी रहेका प्रहरीले जनाएको छ । च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई अस्पताल लगिएको थियो । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको छ ।

१० वर्षमा नेपाललाई विकासको गतिमा अघि बढाउन सम्भव छ : प्रचण्ड

नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको छ ।

बाग्मती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आइतवार काठमाण्डौमा भएको युवा उद्यमशीलता सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले लामो सङ्घर्षका साथ राजनीतिक परिवर्तनमा लाग्दै जीवनको उत्तरार्धतिर आइसकेकाले स्मरण गर्दै भन्नुभयो, ‘अब बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्ने मेरो अठोट हो । उद्योगमैत्री ऐन कानुन बनाउने, विदेशमा रहेका युवाका आर्जित सीप र पुँजीलाई नेपालमा लगानी गर्नसक्ने बनाउने सोच छ ।’अध्यक्ष दाहालले आजको स्थिति हेर्दा १० वर्षमा देशलाई विकासको गतिमा अघि बढाउन सम्भव छ भन्नुभयो ।

त्यसका लागि युवाको जागरुकता आवश्यक भएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, ‘हाम्रो भरोसा तपाईँ युवा नै हो, तपाईँहरू भविष्य होइन वर्तमान हो । अठोट गर्नुभयो भने देशलाई नयाँ र आर्थिक रूपले गतिशील बनाउन सक्नुहुन्छ ।’ नेपाललाई आत्मनिर्भर अर्थतन्त्रका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएको पनि उहाँले बताउनुभयो । उहाँले प्राकृतिक स्रोत–साधनको प्रचुर सम्भावना रहेको तर राजनीतिक वातावरण र उनीहरूको दृढ इच्छाशक्ति, सही भिजन, योजना र कार्यक्रमको अभाव रहेको बताउनुभयो ।

भौगोलिक अवस्थाका आधारमा नेपालमा डिजिटल पूर्वाधार विकासको सम्भावना अधिक रहेकाले त्यो अवसर र सम्भावना नगुमाउन अध्यक्ष दाहालले युवालाई आह्वान गर्नुभयो । उहाँले अहिले पनि सबैभन्दा विकास गर्न सकिने महत्त्वपूर्ण क्षेत्र भनेको कृषि नै भएको बताउँदै कृषिमा आत्मनिर्भर र कृषिमा आधारित उद्योग स्थापनाको आवश्यकता औँल्याउनुभयो । उहाँले विगतमा खाद्यान्न निर्यात गर्ने हाम्रो देश अहिले आर्थिक स्थितिमा पछाडि जानु चुनौतीपूर्ण अवस्था हो भन्नुभयो । उहाँले जलविद्युत्, पर्यटन तथा जडीबुटी र खनिजको विकास गर्ने कुरा हुँदाहुँदै पनि कृषिमा आधारित उद्योग दिगो र दीर्घकालीन हुने बताउनुभयो ।

दुई नम्बरी धन्दाबाट सम्पत्ति कमाउने प्रवृत्ति समाजमा रहने र त्यो प्रवृत्ति हावी हुने खतरा रहेको जिकिर गर्दै अध्यक्ष दाहालले सम्पत्ति कसरी कमाउने र कसरी खर्च गर्ने कुरा महत्त्वको नभएको तर समाजलाई कसरी अघि बढाउने भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले युवालाई कुनै उद्योग स्थापना गरेर छिट्टै पैसा कमाउने सपना नदेख्न आग्रह गर्नुभयो । पैसा कमाउनका लागि धैर्यता लिन सुझाव दिनुभयो । ‘काम ढिलो होस् तर दीर्घ होस्, रातारात धनी हुनुपर्छ भनेर सुरु गरेको व्यवसाय तत्काल त्याग्नु हुन्न’, उहाँले युवालाई सुझावात्मकरूपमा भन्नुभयो ।

अध्यक्ष दाहालले आफ्नो बाल्यकाल स्मरण गर्दै खान नपुगेर कास्कीबाट चितवन झरेको मान्छे दुई पटक प्रधानमन्त्री नै भइसकेको भनी युवालाई उत्प्रेरणा जगाउनुभयो । उहाँले आफूले युद्धको नेतृत्व लिँदै द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न तथा समावेशी संविधान निर्माणका लागिसमेत नेतृत्वदायी भूमिका लिन पाएको सुनाउनुभयो । राम्रो योजनाका साथ काम गर्नसके सफल हुने पनि उहाँले बताउनुभयो ।