राहत सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज पाकिस्तान जाँदै

बाढी र पहिरो प्रभावित पाकिस्तानको लागि सहायता सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज कराचीका लागि उडेको छ ।

नेपाल एअरलाइन्सको चार्टर्ड जहाज कराचीका लागि उडेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उडानमा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा कर्मचारी, सञ्चारकर्मी र स्वास्थ्यकर्मी समेत गरी १३ सदस्यीय टोली सहभागी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छाडेर आजै काठमाण्डौ फर्किने मन्त्रालयले जनाएको छ । काठमाण्डौ–कराची एकतर्फी उडान समय पौने तीन घन्टा हाराहारीको रहेको नेपाल एअरलाइन्सका प्रवक्ता लम्सालले बताउनुभयो ।

अघिल्लो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले पाकिस्तानका लागि दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्रालयले निगमको वाइडबडी विमान चार्टर्ड गरेको हो ।

बितेको दुई महिनादेखिको वर्षाका कारण आएकाे बाढी पहिरोले पाकिस्तानमा १ हजार ४ सयभन्दा धेरैको ज्यान गइसकेको छ । झण्डै एक तिहाइ भुभाग डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पैसाका पछि नलाग्न इन्जिनियरहरुलाई सहरी विकास मन्त्री चौधरीको सुझाव

सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरुको नीजि जीवनभन्दा फराकिलो स्पेस भएको छ ।

राज्यले पनि तपाईँहरुमाथि ठुलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जवाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईंले इमानदारीपुर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईंको पछि लाग्नेछ ।’ इन्जिनियरले पैसा नखाइ कलम नै चलाउदैनन् भन्ने सुनिएको भन्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गर्दै भने, ‘जनतालाई पिर पर्ने काम नगर्नुस् ।

मन दुख्ने भाषा नबोल्नुस् । तपाईँ जहाँ जानुहुन्छ त्यहाँ रहेका आफु मुनिका कर्मचारीलाई पनि नहेप्नुस् । नथर्काउनुस् । राम्रो संस्कार देखाउनुस् । मेहनतमा विश्वास गर्नुस् । मेहनतले नै तपाईंहरु सचिव बन्न सक्नुहुनेछ ।’ ठुला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र पोष्टिङ भएकै ठाउँमा गएर काममा खटिन समेत मन्त्री चौधरीले निर्देशन दिएका छन् । इन्जिनियरिङ सेवा सिभिल समुह अन्तर्गत विल्डिङ र आर्किटेक तर्फ ४१ र जनरल उपसमुहतर्फ १८ जना इन्जिनियरहरुलाई मन्त्रालयका सचव डा. रमेशप्रसाद सिंहले सपथ खुवाएका थिए ।

बारामा राजमार्गका जंगल क्षेत्रमा यौनजन्य क्रियाकलाप, ५ जना पक्राउ

बाराको आधाभार जंगल क्षेत्र तथा पथलैयादेखि पसाहासम्मको सडक किनारमा ३/४ जना अधवैंशे महिला दैनिक देखिन्छन् । घाँस दाउराका लागि जंगल आएका जस्ता लाग्ने उनीहरुले राजमार्गमा गुड्ने ट्रक तथा मोटरसाइकललाई रोक्छन् । केहीबेर चालक र महिलाबीच कुराकानी हुन्छ ।

कोही छुट्टिन्छन त कोही सँगै जंगलभित्र जान्छन् । बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म सडकमा सवारी रोक्ने र चालक जंगल पस्ने क्रम चलिरहन्छ । प्रहरीका अनुसार उनीहरु यसरी यौन जन्य क्रियाकलापमा संलग्न हुने गरेका छन् । जंगलमा घाँस दाउरा खोज्ने बहानामा ट्रक तथा मोटरसाइकल चालकसँग पैसा लिएरै यौनजन्य क्रियाकलाप हुने गरेको पाइएको छ । प्रहरीले हालै यौन कृयाकलापमा संलग्न रहेको आरोपमा ५ जना महिलालाई नियन्त्रणमा लिएको छ । उनीहरु भारतीय नागरिक हुन् ।

सीमावर्ती भारतीय राज्य बिहारका विभिन्न जिल्लाबाट आउने महिलाले धेरै वर्षदेखि यस्तो गतिविधि गर्दै आएको दावी प्रहरीको छ । कतिपय महिलाले रक्सौलबाट भन्सार छलेर कपडा ल्याई हेटौंडामा छोड्ने र फर्कदा राजमार्ग क्षेत्रमा बस्ने गरेको पनि पाइएको प्रहरीले जनाएको छ । जंगल क्षेत्रमा यौनजन्य क्रियाकलाप हुने गरेको जनगुनासो आएपछि प्रहरीले कारबाही थालेको हो । केही दिनयता प्रहरीले जंगल क्षेत्रमा नियमित गस्ती गरेको छ । तीन दिन अघि प्रहरीले ५ जना महिला सडक छेउमा बसेको देख्यो । उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा दुई जना जंगलभित्र भागे । तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो । एक दिन प्रहरी हिरासतमा राखेर सोधपुछ गर्दा उनीहरु बोल्न मानेनन् ।

त्यसपछि प्रहरीले सीमा क्षेत्रमा लगेर छोडिदिएको छ । सोमबार थप २ जना पक्राउ परेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जंगलमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासो आएपछि नियन्त्रणका लागि अभियान थालिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ‘घाँस दाउरा गरिरहे जस्तो देखिन्छ । पक्रने आधार नै नहुने ।

यसो सोधपुछ गर्न खोज्दा जंगलै जंगल भाग्ने गर्थे’ उनले भने, ‘यसपटक शंकास्पद गतिविधि गरिरहेको अवस्थामा दुई पटक गरेर ५ जनालाई पक्राउ गर्न सफल भयौं ।’ बारा–पर्साका सस्ता होटल र जंगल क्षेत्रमा यौनजन्य गतिविधि हुने गरेको संकेत पाएपछि कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘समूह समूहमा महिला जंगल छेउमा बस्ने, गाडीवाला, बटुवालाई आकर्षित गरेर यौनजन्य क्रियाकलापमा संलग्न हुने गरेका रहेछन्’, उनले भने ‘राजमार्ग क्षेत्रमा ट्रक रोकेर चालक पनि जंगल पस्ने वा महिलालाई गाडीमा लैजाने गरेको पाइएको छ ।

जंगल क्षेत्रमा हुने अनैतिक गतिविधिलाई नियन्त्रण गर्छौ ।’ एक पटकका लागि परामर्श गरेर छोडे पनि पुनः त्यस क्षेत्रमा देखिए महिलाहरु विरुद्ध कानुनी कारबाही गर्ने प्रहरीको भनाइ छ । त्यस्तै सवारी चालकलाई पनि कारबाही अघि बढाउने एसपी बोगटीले बताए ।