आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ ।

नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ।

२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि हरेक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको समेत बताए ।

बालबालिका चोरीबारे दाङ प्रहरीको चासो, अनावश्यक हल्लाको पछि नलाग्न आग्रह

पछिल्लो केही दिनयता भारतबाट आएकाहरुको अपरिचित समुहले बालबालिका चोरी गरेर लैजाने गरेको भन्ने अफवाह फैलिएको प्रति दाङ प्रहरीले चासो व्यक्त गरेको छ ।

केही नीजि विद्यालयले आफु खुशी सत्य तथ्यभन्दा बाहिर गएर हतारमा सूचना जारी गर्दै बालबालिका हराउने गरेको भन्ने विषयमा सूचना जारी गर्दा अभिभावकहरुमा नकारात्मक असर पर्ने भएकाले यस्ता भ्रमपूणर् सूचनामाथि विश्वास नगर्न प्रहरीले गरेको आग्रह छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले जिल्लामा अहिलेसम्म कोही कसैबाट बालबालिका चोरी गरिएको वा हराएको भन्ने जस्ता समस्या, गुनासो नआएको बताएका छन् । उनले अनावश्यक भ्रम फैलाउने काम नगर्न नगराउन तथा वास्तविकताको पछाडि लाग्न आम नागरिकमा आग्रह गरेका छन् ।

जिल्लाका केही नीजि विद्यालयले यथार्थभन्दा बाहिर गई हतारमा अभिभावकहरुमा त्रास फैलाउने र बालबालिकाको मनोविज्ञानमा गम्भीर असर पार्ने जस्ता काम गरिरहेकाले अनावश्यक भ्रम फैलाउने काम नगर्न प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आग्रह गरेका छन् ।

उनले बालबालिकाको स्याहार सुसार तथा रेखदेख अनिवार्य शर्त भएकाले उनीहरुको निगरानी गर्नु पर्ने भएपनि बालबालिका चोरी भईरहेको भन्ने भ्रम छर्ने काम गरेर अभिभावकहरुलाई त्रसित नबनाउन सचेत गराएका छन् ।

यसैबीच, नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन दाङले पनि जिल्लामा हालसम्म बालबालिका हराएको भन्ने कुनै प्रकारको गुनासो वा समस्या नआएको स्पष्ट पारेको छ।

बालबालिकाको रेखदेख आवश्यक भएपनि केही नीजि विद्यालयले अनावश्यक भ्रम फैलाउने काम गरेको प्रति चासो व्यक्त गर्दै हल्लाका पछि नलाग्न अपिल गरेको प्याब्सन दाङका सचिव आदिम केसीले बताएका छन् ।

ट्रायलमा फेल भएका ६२ जनालाई मध्यरातमा पास गराएर बाँडियो लाइसेन्स

हेभी सवारीसाधन चालकको परीक्षामा यातायात व्यवस्था कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात व्यवस्था कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय वीरगन्जमा ‘जी’ समूह अर्थात हेभी सवारीको चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरबाट मध्यराति पास देखाइएको हो ।

यातायात व्यवस्था कार्यालय जनकपुरबाट ३ वर्षअघि निलम्बन भएका कर्मचारीको यूजर (खाता) प्रयोग गरेर अवैध तरिकाले लाइसेन्सका लागि पास देखाइएको छ । सामान्य इन्टरनेटबाट सञ्चालन नहुने यातायात सर्भरको ईडीएलभीआरएस सफ्टवेयरमा मध्यराति रिजल्ट अपडेट गरिएको मधेस प्रदेशको भौतिक पूर्वाधर विकास मन्त्रालयले जनाएको छ । वीरगन्जमा फेल भएकालाई रातिको समयमा जनकपुर कार्यालयबाट सर्भरमा सवारी चालकको लाइसेन्स परीक्षामा उत्तिर्ण गराई लाइसेन्स दिइएको छ ।

अवैध तरिकाले वितरण गरिएको लाइसेन्सबारे यातायात व्यवस्था कार्यालय जनकपुरले यातायात व्यवस्था विभाग र मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जानकारी गराएको छ । वीरगन्ज कार्यालयले प्रयोगात्मक परीक्षामा पास गरेका परीक्षार्थीको सूची तयार गरेको थियो । पास भएकाको नाम सूचीबाट लाइसेन्सका लागि राजस्व बुझ्ने क्रममा अवैध रुपले फेल भएकालाई सर्भरमा पास गरेको पाइएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख सुशील साहले बताए । लाइसेन्सको राजस्व बुझाउने क्रममा कार्यालयले तयार गरेको सूचीमा फेल तर सर्भर ईडीएलभीआरएसमा पास भएको देखिएपछि शंका लागेर क्रस चेक गर्दा जनकपुरबाट रातिको समयमा सर्भरमा रिजल्ट अपडेट गरेको पाइएको थियो । त्यसपछि भने ६२ जनाकै लाइसेन्स रद्द गरिएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख साहले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव दिपककुमार दासका अनुसार रातिको समयमा अवैधरुपले वितरण गरिएको लाइसेन्सबारे खोजबिन भइरहेको छ । मन्त्रालय र यातायात व्यवस्था कार्यालय तथा विभागबाट अनुसन्धान सम्भव नरहेकाले प्रमाणसहित प्रहरीलाई जानकारी गराउने तयारी भइरहेको उनले बताए । सचिव दासकाअनुसार यातायातको सर्भरमा ०७९ जेठ २६ गते राति १० बजेर १० मिनेटमा ४२ जना, जेठ ३० गते राति १० बजेर १२ मिनेटमा १४ जना, असार १९ गते राति १ बजेर २ मिनेटमा ५ जना र ०७८ माघ १० गते साँझ सवा ७ बजे १ जनाको ‘जी’ समुह हेभी सवारीको चालक अनुमतिपत्रको लागि जनकपुरबाट ईडीएलभीआरएसमा पास गराई इन्ट्री गरिएको छ । जनकपुर यातायातमा लामो समयसम्म कम्प्युटर अपरेटर र हलुका सवारी चालकको रुपमा कार्यरत रही ०७५ चैत २६ गते सेवा करारबाट निलम्बन भएका मुकेशकुमार बर्माको युजर(खाता) एमके बर्मा प्रयोग गरी यातायातको सर्भरमा रिजल्ट अपडेट गरिएको हो । बर्माको खाताबाट वीरगन्जमा फेल भएकालाई पास गरिएको सचिव दासले बताए ।
जनकपुर यातायात व्यवस्था कार्यालयमा ०६६ फागुन १७ गते कम्प्युटर अपरेटरमा नियुक्त भएका बर्मा ०७४ माघ १० गतेदेखि ०७५ चैत २६ गतेसम्म सवारी चालकको पदमा कार्यरत थिए । कार्यालयमा अनैतिक काम गरेको आरोप लागेपछि बर्मालाई ०७५ चैत २६ गते सेवा करारबाट हटाइएको यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख वीरेन्द्र साहले बताए । ‘कार्यालयबाट निलम्बन भएका बर्माको युजर पनि बन्द गरिएको थियो,’ प्रमुख साहले भने, ‘करार सेवाबाट हटाइएपछि उनको युजरसमेत डिएक्टिभेट गरिएको थियो । बन्द खाताबाट यातायातको सर्भरमा अवैध लाइसेन्सको इन्ट्री हुनु दुर्भाग्य हो । गुनासो आएपछि खोजी गर्दा तथ्य फेला परेको हो । थप अनुसन्धानका लागि मन्त्रालय र विभागलाई जानकारी गराएको छु ।’

वीरगन्जको लाइसेन्स रिजल्ट जनकपुरबाट अपडेट गरिएको घटना यातायात कार्यालय, मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हुँदै यतायात व्यवस्था विभागसम्म पुगेको ३ महिना भन्दा बढी भएपनि गोप्य राखिएको छ । यसअघि पनि जनकपुरमा १ हजार ७ सय ७० भन्दा बढी लाइसेन्स अवैध रुपमा वितरण गरिएको थियो । लाइसेन्स रद्द गरिएपनि अनुसन्धान हुन सकेको छैन । ‘जी’ समूह हेभी सवारीको चालक अनुमतिपत्रका लागि यतायात व्यवस्था कार्यालय जनकपुर र वीरगन्जमा सेवाग्राहीबाट १ लाख रुपैयाँसम्म दलालले असुल्ने गरेको पाइएको छ । दलालले संकलन गरेको रकमको ९० प्रतिशत कार्यालयका कर्मचारीलाई दिएपछि दुबै कार्यालयबाट ‘जी’ समूह हेभी सवारीको चालक अनुमतिपत्र बन्ने गरेको छ ।