पुल नहुँदा गढवा- मनिकापुर गाँउको आवतजावत अबरुद्ध

गढवा गाउँपालिका-६ स्थित कक्रहवा खोलामा आएको बाढीले गढवा-मनिकापुर आवतजावत बन्द भएको छ।

अतरबेदुवा र मनिकापुर बस्तीको सिमाना भएर बग्ने कक्रहवा खोलामा पुल नहुंदा आवतजावत बन्द भएको छ।

गढवा गाउँपालिकाको मुख्य बजार सम्म आउने सक्ने अवस्था छैन, कुनै आपत्कालीन समस्या परेपनि गढवा बजार सम्म पुग्न पनि हामी असमर्थ छौ स्थानीय जित बहादुर आले मगरको भनाई छ।

गढवा गाउँपालिका वडा नम्वर-६ मा दुर्गा आधारभूत विध्यालय छ तर बर्षातको समयामा खोलामा बाढी आउँदा अतरबेदुवा, बनकट्टी लगाएतको गांउबाट  बिध्यार्थी बिध्यालय जान सक्ने अवस्था छैन स्थानीय प्रेम बिसी बताउछन्। बर्खामा उर्लँदो भेल पार गरेर बालबालिकालाई कसरी विद्यालय पठाउने भन्ने चिन्ता स्थानीय बासिन्दा लाई परेको छ।

गढवा गाउँपालिको मनिकापुर, सिमलतारा, मतपुर, बनघुस्रीका बासीन्दाहरु गढवा बजार आउन यही बाटो प्रयोग गर्छन्। कक्रहवा खोलामा पुल नहुंदा यी गाउका बासीहरु प्रत्यक्ष समस्यामा परेका छन्।

गढवा गाउँपालिका वडा नम्बर ६का अध्यक्ष विर बहादुर आले मगरले बाढीको सतह नघट्दासम्म आवतजावतको व्यवस्था मिलाउन सकिने उपाय नभएको बताए।

‘खोला ठूलो भएकाले तत्काल केही गर्न सकिने अवस्था छैन’, उनले भने’ कक्रहवा खोलामा पुल निर्माणको कार्य सुरु भएकोले अब केही समयमा बाढीको समस्या सदाको लागी अन्त्य हुने जानकारी दिए।

दशैँकाे टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा

यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

 

नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

असोज १० गते बिहान १०:२३ बजे घटस्थापनाको शुभ साइत

यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०:२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११:११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उनले सुनाए।

असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०:०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११: ३५ बजेको छ ।

असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन बिहान ७:३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८:४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ ।

असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।

बडा दशैँका अवसरमा बजार पसलमा पनि भीड हुने गर्छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैँ नजिकिएसँगै बजारमा भीड बढ्न थालेको छ । दशैँमा सहुलियत मूल्यमा खाद्य पदार्थ बिक्री वितरणका लागि सरकारले सुपथ मूल्य पसल पनि सञ्चालन गर्दै आएको छ ।

दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् । यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ ।

जरिमाना तिर्नुपर्ने, नतिरे पद जाने निर्वाचन आयोगको निर्णय

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले साढे ७ लाख रुपैयाँ जरिमाना तिर्नुपर्ने निर्वाचन आयोगले निर्णय गरेको छ। निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार मेयर बालेन्द्र शाहसहित १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएपछि आयोगले जरिमाना तोकेको हो।

काठमाडौं महानगरका प्रमुख शाहले निर्वाचन खर्च विवरण मतपरिणाम सार्वजनिक भएको ३० दिन भन्दा ढिलो जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएका थिए। खर्च विवरण नबुझाउने र ढिला बुझाउनेलाई आयोगले निर्धारण गरेको निर्वाचन खर्च सीमाको आधार जरिमाना गर्ने निर्णय गरेको हो।

काठमाडौं महानगरका प्रमुख शाह, भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोलले पनि खर्च विवरण पेस गरेका छैनन्। उनीहरूले अब जनही साढे ७ लाख रुपैयाँ ६ महिनाभित्र तिरिसक्नु पर्ने हुन्छ। ६ महिना जरिवाना नबुझाए पद नै जाने कानुनी व्यवस्था छ।

त्यसैगरी धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले पनि मत परिणाम आएको ३० दिनपछि मात्रै खर्च विवरण पेस गरेको पाइएको छ। उनले पनि ६ महिनाभित्र ५ लाख ५० हजार जरिमाना तिर्नुपर्ने हुन्छ। निर्वाचन आयोग ऐन अनुसार जरिवाना गर्ने निर्णय गरेको हो। निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ मा तोकिएको अवधिमा खर्च विवरण पेन नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगले निर्धारण खर्चको हकमध्ये जुन बढी हुन्छ सोही बराबरको जरिमाना तिर्नसक्ने प्रावधान छ।

आयोगले यही दफा टेकेर खर्चको विवरण पेस नगर्नेलाई जरिमाना गर्ने निर्णय गरेको हो। आयोगले तोकेको जरिमाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने वा उम्मेदवार हुन अयोग्य घोषित गर्ने निर्णयसमेत गरेको छ। ऐनमा भनिएको छ, ‘जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ। त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुनेछ।’