गढवा गाउँपालिका अध्यक्ष डेंङ्गु संक्रमित

गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल डेंङ्गु संक्रमित हुनुभएको छ।

बुधबार पालिका प्रमुख शर्मालाई उच्च ज्वरो आएको थियो। औषधी खादा समेत ज्वरो कम नभए पछी चेकजाँच गर्दा डेङ्गु संक्रमित पुष्टि भएको गढवा गाउँपालिकाले जनाएको छ ।

‘ज्वरो आएको छ, उहाँ आराम गरिरहनुभएको छ, शुक्रबार भने ज्वरो केही कम भएको छ। गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो।

रगत परीक्षण गर्दा सामान्य देखिएको छ, ज्वरो आउने र टाउको दुख्ने समस्यापछि पालिका प्रमुख शर्मालाई उहाँको घरमै उपचार भैरहेको र अवस्था सामान्य रहेको गढवा स्वास्थ्य चौकीका मेडिकल अफिसर केदार अधिकारीले जानकारी दिनु भयो।

लमही-कोइलावास खण्डको हुलाकी राजमार्गमा सुचारु राख्न गढवा गाउँपालिकाको निगरानी

लमही–कोइलावास खण्डको हुलाकी राजमार्गमा सुचारु राख्न गढवा गाउँपालिकाले बिशेष ध्यान दिएको छ। बर्षातको समयमा पहिरो बाट गढवा कोइलाबासको बाटो आवतजावत बन्द हुन नदिन गढवा गाउँपालिकाले चासोको रुपमा हेरेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । बर्षातको समयमा पहिरोको कारण बाटो बिग्रने हुदा नेपालगंज हुलाकी निर्देशनालय योजना कार्यलयका प्रमुख योगेस सुमन संग पटकपटक अनुरोध गरेको अध्यक्ष शर्माले बताउनुभयो।

लमही–कोइलावास खण्डको हुलाकी राजमार्गमा बर्षातका कारण पहिरो गएर अबरुद्ध भएको जनगुनासो आएसंगै गढवा गाउँपालिका वडा नम्बर ५का अध्यक्ष लेखराज थापा, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी बरिष्ठ हलदार मिलन घर्ति, पत्रकार र स्थानीय सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा कोइलाबासको पहाडी क्षेत्रमा पहिरोले बाटो बन्द भएको तर मर्मत कार्य सुचारु रहेको ५ नम्बर वडाध्यक्ष लेखराज थापाले जानकारी दिनु भयो ।

पहिरो प्रभावित क्षेत्रमा दुईवटा जेसिबीले काम गरिरहेका छन्, बाटो अबरुद्ध भएको छैन वडध्यक्ष थापाले बताउनुभयो। वडाअध्यक्ष थापाले नेपालगंज हुलाकी निर्देशनालय योजना कार्यालयका प्रमुख योगेस सुमन संग पनि टेलिफोनबार्ता गरी लमही-कोईलाबास सडक खण्ड नियमित मर्मत गर्न अनुरोध गर्नु भएको छ ।

यही वर्षको चैत मसान्तसम्म लमही-कोईलाबास हुलाकी राजमार्ग हस्तान्तरण गर्ने योजना रहेको नेपालगंज हुलाकी निर्देशनालय योजना कार्यालयका प्रमुख योगेस सुमनले बताउनुभयो। बर्षातलाई ध्यानमा राखी दुईवटा जेसिबी त्यही क्षेत्रमा मर्मतका लागी खटाईएको प्रमुख सुमनले जानकारी दिनुभयो।

 

जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचनको सन्देश जनताले माओवादी पार्टीको हातमा देश सञ्चालनको चाबी दिन चाहेको देखिएको दाहालको भनाइ थियो । पोष्टबहादुर बोगटीको स्मृति दिवसमा काठमाडौं केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दाहालले पार्टी एकजुट भएर जानुपर्ने, पार्टीको निर्णयलाई सर्वोपरी राखेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

माओवादी कमजोर भएमा राष्ट्र कमजोर हुने र संविधान प्रतिगमनतिर जाने उनको भनाइ थियो । ‘स्थानीय तहको सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको,’ उनले भने ।

स्थानीय तहमा पार्टी कार्यकर्ता एकढिक्का भएर नलागेको पनि दाहालको भनाइ थियो । स्थानीय तह निर्वाचनमा माओवादी नेता र कार्यकर्ताहरूले जति मिहिनेत गर्नुपर्ने, जति एकतावद्ध हुनुपर्ने हो, जति जनताको बीचमा जानुपर्ने हो त्यो हुन नसकेको भन्दै दाहालले गुनासो व्यक्त गरेका थिए । ‘स्थानीय तहको निर्वाचनमा पार्टीभित्रको व्यवस्थापनलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको भए देशको १ नम्बर कम्युनिष्ट पार्टी बन्ने वस्तुगत आधार क्लियर देखिन्छ । त्यो मनोगत मूल्यांकनको कुरा होइन । आन्तरिक व्यवस्थापन राम्रो नगर्दा जनताको साथ हुँदा पनि देशको पहिलो पार्टी बन्ने अवसर गुमायौँ ।

पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि त्यो व्यक्ति रहँदैन, पार्टीले जित्ने वा हार्ने मुख्यकुरा हुन्छ । यो सानो कुरा सबैले बुझे माओवादी पार्टी प्रदेश र संघको निर्वाचनमा देशको पहिलो कम्युनिष्ट पार्टी बन्छ,’ उनले भने । स्थानीय तह निर्वाचनमा पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि पार्टीभित्र छलफल भइरहेको उनले जानकारी दिए ।दाहालले माओवादी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके मुलुक फेरि राजनीतिक संकटमा जाने दाहालको भनाइ थियो ।

प्रतिनिधिसभा विघटनलाई माओवादी कमजोर हुनुको परिणामसँग तुलना गरेका दाहालले भने, ‘माओवादी पार्टी कमजोर भए, माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन सकेन भने कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्छ ।’