संविधान दिवसको अवसरमा दाङमा २७ कैदीबन्दीको कैद मिनाहा

संविधान दिवसको अवसरमा दाङमा २७ कैदीबन्दीको कैद मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५ पुरुष रहेको रहेका छन् ।

घोराही कारागारका जेलर बासुदेव खनालका अनुसार १० जना ४० प्रतिशत कैद भुक्तान गरेका, १६ जना ५० प्रतिशत कैद मिनाह गरेका र एक जनालाई आम माफी दिइएको हो ।
कैद मिनाह हुनेमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्धाका छन् । आम माफीसहित १५ जना कर्तव्य ज्यान मुद्धाका कैदीको बाँकी कैद मिनाह भएको जेलर खनालले जानकारी दिए ।
सवारी ज्यान अंगभंग, सवारी ज्यान, सवारी ज्यान तथा हातहतियार खरखजना, नकवजनी चोरी, सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग र बहुविवाह लगायतका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरबाट ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छिन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

कहाँ छन् क्रिकेटर सन्दीप लामिछाने ?

क्यानले निलम्बन गरेको भोलिपल्ट फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्न नेपाल फर्किने बताएका सन्दीप त्यसयता सम्पर्कविहीन, इन्टरपोलको सहयोगमा खोजी गर्दै प्रहरीनाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अझै सम्पर्कविहीन बनेका छन् । १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो ।काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो । अदालतबाट पाएकै दिन प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै फरार सूचीमा राखेको थियो । त्यस दिन क्यानसँग उनी सम्पर्कमा थिए । भोलिपल्ट सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्न नेपाल फर्किने बताएका लामिछाने त्यसयता एक साता बितिसक्दा पनि सम्पर्कविहीन छन् ।

उनी आफूमाथि लागेको आरोपको प्रतिरक्षाका लागि विदेशमै कानुन व्यवसायीसँग छलफलमा रहेको चर्चा चले पनि त्यसको पुष्टि भइसकेको छैन । लामिछाने अहिले कहाँ छन् भन्नेमा नेपाल प्रहरी र क्यानका अधिकारी नै अनभिज्ञ छन् ।नेपाल प्रहरीका निमित्त प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले लामिछाने नेपाल आइनसकेको बताए । ‘उनीविरुद्ध दर्ता भएको जाहेरीमा प्रहरीले अनुसन्धान गरिरहेको छ, जाहेरी पर्दा विदेशमा रहेका आरोपित अहिले नेपाल आइपुगेका छैनन्,’ कार्कीले  भने, ‘आरोप लागिसकेपछि सबैले कानुनी दायरामा आएर आफूविरुद्ध लागेको आरोपको प्रतिरक्षा गर्ने हो, त्यसको विकल्प छैन । लामिछानेको हकमा पनि त्यही लागू हुन्छ तर उनी हाम्रो सम्पर्कमा छैनन् ।’ आरोपित व्यक्ति नै नआएपछि अहिले नाबालिग किशोरीले दिएको जघन्य अपराधसम्बन्धी किटानी जाहेरीको अनुसन्धान प्रभावित बनेको छ ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । भदौ तेस्रो साता लामिछाने वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका थिए ।अफ्रिकी मुलुक केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला सकेर सीपीएल खेल्न उतैबाट वेस्ट इन्डिज लागेका लामिछाने सीपीएलमै व्यस्त थिए । सीपीएल चलिरहेकै बेला काठमाडौंमा एक किशोरीले लामिछानेविरुद्ध गौशाला प्रहरीमा जबर्जस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । जाहेरीमा भदौ ५ मा लामिछानेले ती किशोरीलाई जबर्जस्ती नगरकोट पुर्‍याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पुर्‍याई जबर्जस्ती करणी गरेको उल्लेख छ । लामिछाने भदौ ६ मा केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए । घटनाको करिब दुई सातापछि मात्रै पीडित किशोरी प्रहरीमा पुगेकी थिइन् ।त्यसको भोलिपल्ट (भदौ २२) मा काठमाडौं प्रहरी वृत्त गौशालाले जाहेरी दर्ता गर्‍यो । पर्सिपल्ट (भदौ २३) काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध दर्ता भएको कसुरमा अनुसन्धान गर्न पक्राउ आदेश जारी गर्‍यो । त्यही दिन प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी ‘फरार सूची’ मा समेटेको थियो । यता क्यानले पनि अदालतबाट पक्राउ आदेश आएकै दिन लामिछानेलाई कप्तानबाट निलम्बन गर्‍यो ।

निलम्बनमा परेको भोलिपल्ट भदौ २४ गते बिहान सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पोस्ट गर्दै लामिछानेले आफू निर्दोष रहेको र आधारहीन आरोप लगाइएको दाबीसहित कानुनी लडाइँ लड्ने बताएका थिए । तर, त्यसयता सम्पर्कविहीन छन् । स्रोतका अनुसार सुरुमा किशोरीले साथीमार्फत लामिछानेसँग भेटेकी थिइन् । त्यसपछि लामिछानेसँग सामाजिक सञ्जालमार्फत कुराकानी र फोटो आदानप्रदान गरेकी थिइन् ।प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

लामिछाने सम्पर्कमा नआउँदा अनुसन्धान कसरी अघि बढाउने भन्नेमा प्रहरी अलमलमा परेको छ । जाहेरी दर्ताकै दिन उनलाई तुरुन्त नेपाल ल्याउन प्रहरी र क्यान दुवैले प्रयास गरेनन् । उल्टै अनुसन्धान प्रक्रियामा अपनाउनुपर्ने सामान्य गोपनीयता पनि प्रहरीले कायम राख्न सकेन । नेपाल प्रहरीका एक उच्च अधिकारी क्यान र आरोपित व्यक्तिको ‘अति विश्वास’ मा पर्दा लामिछाने सम्पर्कविहीन बनेको बताउँछन् । यद्यपि उनी नेपाल आउन आफ्नो अनुकूल समय हेरेर बसेको हुन सक्ने ती अधिकारी बताउँछन् ।लामिछाने सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत खोजबिन अघि बढाएको छ ।

विभिन्न राष्ट्रका प्रहरी संयन्त्रसँग पनि उनको खोजीबारे कुराकानी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो । स्रोतका अनुसार लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत मुलुकको भिसा छ । अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले उनलाई नेपालको अध्यागमनको कालोसूचीमा समेटेर अनुसन्धान गरेको छ तर त्यसबारेको गोपनीयता कायम नराखी सञ्चारमाध्यममा प्रहरी र अध्यागमनका अधिकारीले औपचारिक रूपमै धारणा दिएपछि स्थिति बिग्रिएको हो ।‘ग्लोबल स्टारको छवि बनाएका लामिछाने आफूमाथि जघन्य आरोप लागेपछि लगत्तै स्वदेश फिर्ता भएर अनुसन्धानलाई सघाउँछन् भन्ने विश्वासमा पर्‍यौं, क्यानले पनि उनी छिट्टै नेपाल आउने भनेर विश्वास दिलायो,’ प्रहरीका एक उच्च अधिकारीले  भने, ‘जसका कारण हामीले समयमै आफ्नो च्यानल प्रयोग गरेर उनलाई फर्काउनेबारे कदम चाल्नै पाएनौं, ।

जुन बेला कदम चालियो, त्यसबेला उनी सम्पर्कविहीन भइसकेका थिए ।’ आरोपित व्यक्ति भागेर हिँड्दा आरोपमा कानुनी प्रतिरक्षा गर्ने मौका पनि गुम्ने ती अधिकारीले बताए ।अरू बेला जुनसुकै अपराध आरोपको अनुसन्धान तथा अभियोजनसम्बन्धमा औपचारिक रूपमा बोल्न हच्किने प्रहरीले लामिछानेको हकमा भने जाहेरी दर्तादेखि अदालतबाट पक्राउ पुर्जी आदेश तथा अध्यागमनको कालोसूचीमा समेटिएका गोप्य राख्नुपर्ने विषयमा समेत आफैं जानकारी दिएको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पीडितका तर्फबाट परेका किटानी जाहेरीमा अनुसन्धान भइरहेको बताए ।

‘जाहेरी परेपछि प्रहरीले यस विषयमा गम्भीर भएर अनुसन्धान गरिरहेको छ,’ प्रवक्ता मैनालीले भने, ‘आरोपित व्यक्ति प्रहरीमा आफैं आएमा वा पक्राउ परेपछि हामी तोकिएको अवधिभित्र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँछौं, त्यसपछि अदालतमा मुद्दा जान्छ, अहिलेसम्म आरोपित व्यक्ति प्रहरी सम्पर्कमा आएका छैनन् ।’नेपाली टोलीका कप्तान मात्र होइन, इन्डियन प्रिमियर लिग (आईपीएल), बिगबास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ‘ग्लोबल स्टार’ बनेका लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेयता यससम्बन्धी विश्वभर समाचार आइरहेका छन् । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार प्रहरीमा जाहेरी परेपछि लामिछाने सम्पर्कमा आएका थिए ।

त्यस क्रममा उनले आफू निर्दोष रहेकाले कानुनी लडाइँका लागि सहयोग गरिदिन आग्रह गरेको मल्लले बताए । तर अदालतले पक्राउ आदेश दिएलगत्तै क्यानले लामिछानेलाई निलम्बन गरेको थियो । त्यसपछि लामिछानेले फोन गरेर आफू अहिले जमैका एयरपोर्टमा रहेको र नेपाल आउन लागेको बताए पनि त्यसपछि सम्पर्कमा नरहेको मल्लले जनाए ।‘प्रहरीमा जाहेरी परेपछि सम्पर्कमा आएका लामिछानेले आफू निर्दोष रहेको र कानुनी लडाइँका लागि सहयोग गर्न आग्रह गरेका थिए, हामीसँग कुरा गर्दा जमैका विमानस्थलमा रहेको बताएका उनी अदालतबाट पक्राउ पुर्जीका लागि आदेश र त्यही दिन क्यानको समन्वय समितिले कप्तानबाट निलम्बन गरेपछि हामीसँग सम्पर्कमा छैनन्,’ मल्लले भने ।

 

 

अछाम र दार्चुलाका बाढी पिडितलाई इशामाया गुरुङ र सुनिता गुरुङ द्वारा एक लाख रुपैयाँ सहयोग

अछाम र दार्चुलाका बाढी पिडितलाई सामाजिक अभियन्ता इशामाया गुरुङ र सुनिता गुरुङ द्वारा एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ।

बेलायतमा बस्दै आउनु भएकी इशामाया गुरुङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अछाम र दार्चुलाका बाढी पिडितलाई एक लाख रुपैयाँ सहयोग गरेको जानकारी गराउनु भएको छ।

सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर र देविन्द्र सञ्जेलको समन्वयमा युके र बेलायत बस्दै आएकी इशा माया गुरुङ , इजरायलमा बस्नु हुने सुनिता गुरुङ, देवेन्द्र गाैतम, नेत्र वस्नेत द्वारा अछाम र दार्चुलाका पहिरो पिडित परिवारलाई तत्काल राहत स्वरूप एकलाख रूपैयाँ सहयोग गरेका छन्।

भदौ ३१ गते राति अभिरल वर्षा संगै आएको पहिरोले अछाम जिल्ला ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले दर्जनौंको मृत्यु भएको थियो ।
त्यसैगरी दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता भएका छन् ।
सामाजिक अभियन्ता इशामाया गुरुङ र सुनिता गुरुङ लगायतले नेपालीको हर दुखमा आर्थिक सहयोग गर्दै आउनु भएको छ।