कर्णालीमा मन्त्रिपरिषद् हेरफेर, ३ मन्त्री थपिँदै

सुर्खेत । कर्णाली मन्त्रिपरिषदमा तीन जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुको बुधबार ५ बजे सपथ हुने बताइएकाे छ । प्रदेश प्रमुख गाेविन्द प्रसाद कलाैनीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउने छन् ।

मुख्यमन्त्री  शाहीका  समन्वय विज्ञ झक बहादुर मल्ल सुदिपका अनुसार विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई  उर्जा तथा जलस्राेत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

हालका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको बताइएको छ ।

 

अक्सिजनको झन् हाहाकार : अस्पतालबाट निकालिए बिरामी

काठमाडाैं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यस अगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो ।

अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत गराएको सूचनामा उल्लेख थियो । सूचनापछि उपचाररत कोरोना संक्रमित र उनका आफन्त आत्तिए । ‘राति पनि अक्सिजन चाहिनेजति दिइएन । बिहान त अक्सिजनै सकिने सूचना आयो,’ एक संक्रमितका आफन्तले भने ।

नेपाल मेडिकल कलेजको अस्पतालमा अक्सिजन सपोर्टमा ९९ संक्रमित उपचाररत थिए । भनसुन गरेर र पालो कुरेर बल्ल बेड पाएकाहरू धेरै थिए । उक्त सूचनापछि बन्दोबस्त मिलाएर २२ जना अन्यत्रै गएका छन् । जसमा आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमित पनि छन् । संक्रमितको संख्या हरेक दिन बढे पनि अक्सिजन पाउनै समस्या भएपछि भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका निर्देशक डा। राजेशकिशोर श्रेष्ठले बताए ।

‘म आफैं रातभरि लाइन बसें । यता अस्पतालमा अक्सिजन सकिन लाग्यो भनेर बारम्बार फोन आउँथ्यो । लाइन बस्दाबस्दै अक्सिजन भर्ने मेसिन बिग्रियो भनेपछि के हुन्छ होला रु’ उनले भने, ‘अक्सिजन सकिन लाग्यो भनेर बिरामी पनि रुन थाले । अक्सिजन नभएकैले हुन सक्ने दुर्घटना रोक्न बिरामी डिस्चार्ज गर्न बाध्य भयौं ।’ डा। श्रेष्ठले अक्सिजन प्लान्टमा लाइन बसेका बेला पनि अरूले पालो मिच्ने गरेको सुनाए । उनले अब नयाँ बिरामी पनि नलिने निधो गरेको बताए ।

ललितपुरको नेपाल मेडिसिटी अस्पतालले पनि अक्सिजन अभावकै कारण थप संक्रमित भर्ना लिन छाडेको भन्दै मंगलबार विज्ञप्ति जारी गरेको छ । अस्पतालले विज्ञप्तिमा भर्ना भएका संक्रमितलाई पनि अक्सिजन अभावका कारण उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने जनाएको छ । स्थिति सामान्य बनेर आवश्यक अक्सिजन र अन्य सामग्री प्राप्त भएसँगै नयाँ भर्नाका लागि अस्पताल व्यवस्थापनबाट अर्को सूचना जारी हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।

सरकार कोभिड नियन्त्रणमा असफल भयाे : अध्यक्ष प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेस म्याग्जिनको आज एक भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सरकारकै कारण कोभिड नियन्त्रणभन्दा बाहिर जान लागेको आरोप लगाए ।

कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले सबै क्षेत्र कोभिड विरुद्ध जुट्नुपर्ने बेला आएको बताए । उनले भने, “अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताइन् । कोभिड सङ्क्रमित बिरामीको उपचारमा कुनै कसर नराख्ने भन्दै उनले कोभिड न्यूनीकरणका लागि सबै क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारी, चितवन उद्योग सङ्घका अध्यक्ष राजु पौडेल, चेम्बर अफ कमर्स, चितवनका अध्यक्ष दीर्घमान श्रेष्ठ, एजेन्सीका अध्यक्ष किशोरचन्द्र सापकोटा लगायतले बोलेका थिए ।