शंकर पोखरेलद्धारा मुख्यमन्त्रीबाट राजीनामा दिने तयारी

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । उनीविरुद्ध आज मात्रै अविश्वास प्रस्ताव दर्ता गरिएको छ । विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले पुन: अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ । पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

तर, राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुन: मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विपक्षी गठबन्धनले भने आफूतिर बहुमत रहेको भन्दै मुख्यमन्त्रीको पुनर्नियुक्ति खारेज गर्नुपर्ने जिकिर गर्दै आएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् ।

दाङका नाकामा नि:शुल्क खानेपानी वितरण गर्दै वडा अध्यक्ष सिद्दिकी

काेइलाबासनाका, दाङ । नेपालमा कोरोना भाइरस (कोभिड १९) का कारण दिनप्रतिदिन मानिसहरुले अकालमा ज्यान गुमाइरहेका छन् । पछिल्लो समय कोभिडका कारण मृत्यु हुनेहरुको संख्या ह्वात्तै बढिरहेको छ । कोभिड १९ का कारण कैयाैं मानिसहरु अस्पतालमा अक्सिजन नपाएर छटपटाउँदै प्राण त्याग गरिरहेका छन् ।

मानिसहरु  कोभिड महामारीसँग जुधिरहेकाे समयमा दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाकामा डिप बोरिङ्गमा पानी नआउँदा खानेपानीको हाहाकार मच्चियो । गत एक हप्तासम्म खानेपानीको चरम समस्याका कारण काेइलाबासवासी काकाकुलसरह बनेपछि गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीले स्थानीयहरुको घर–घरमा खानेपानीकाे व्यवस्था गरेका छन् ।

चालिस हजार रुपियाँ व्यक्तिगत खर्चमा खानेपानीकाे ट्याङ्कर भाडामा लिएर दिनमा तेह्र हजार लिटर शुद्ध खानेपानी स्थानीयहरुको घरघरमा पुर्याउँदै आएको वडाध्यक्ष सिद्दिकीले जानकारी दिए ।

उनले भने –`करिब पाँच किलोमिटर भारतकाे जरूवा स्थित ट्याङ्कर र आफ्नै टेक्टर प्रयोग गरेर बिहान बेलुकी गरी दिनमा तेह्र हजार लिटर शुद्ध खानेपानी स्थानीयकाे घरमै पुर्‍याउदैँ आएकाे छु ।´

डिप बाेरिङ्गमा पानी नआउँदा काेइलाबासमा १ सय ५० घरधुरी संख्याले खानेपानीको चरम समस्या खेप्नुपरेको अवस्था थियोे । `पुनः खानेपानी सहज हुन करिब डेढ महिना लाग्ने बताइएकाे छ । डेढ महिनासम्म स्थानीयलाई नि:शुल्क खानेपानी घर-घरमा पुर्‍याउने छु, वडाध्यक्ष सिद्दिकीले भने ।

संकटकाे समयमा वडा अध्यक्षकाे सहयाेगमा पानी पिउन पाउँदा खुसी लागेकाे स्थानीय नाकावासीले बताएका छन् । बिकट नाकामा बस्ने नाकावासीहरु खानेपानीसँगै सडक यातायात र सञ्चारलगायतका आधारभूत सुविधाबाट समेत बञ्चित रहेका छन् ।