महामारीकाे चपेटामा हुम्ला, चार गाउँपालिकामा फैलिँदै कोरोना

सिमकोट – लामो समय ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लाका चारवटा गाउँपालिकामा एकसाथ कोरोना संक्रमण फैलिएको छ। कोरोना संक्रमणसँग मिल्ने बिरामी बढेपछि स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसक्रममा चार गाउँपालिकामा कोरोना संक्रमित फेला परेका हुन्।

तीन दिनको अन्तरालमा गरिएको परीक्षणमा २० जना कोरोना संक्रमित देखिएको ताँजाकोट गाउँपालिका स्थित मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले बताए। उक्त गाउँपालिकाले सबै वडामा बिरामी संख्या बढेपछि आफ्नै लगानी गरेर एन्टिजेन किट खरिद गरि कोरोना परीक्षण गरेको थियो। त्यसअघि नेपालगञ्ज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

त्यसयता दैनिक रुपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गरिरहेको र संक्रमित फेला पर्ने क्रम बढिरहेको कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए। उनका अनुसार सिमकोटमामात्र दश दिनमा १९ जना कोरोना संक्रमित देखिएका छन्। सर्केगार्ड गाउँपालिकामा नौ जनामा कोरोना देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र शाहीले बताए।

यता अदानचुली गाउँपालिकामा दुई जनामा कोरोना देखिएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहका अनुसार जिल्लाका चारवटा गाउँपालिकामा ५० जनामा कोरोना संक्रमण देखिएको छ।

तत्काल अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन अभाव टार्न सरकारलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिले शनिबार कर्णाली सरकारलाई अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको हो ।

प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ को संक्रमण भई अस्पताल भर्ना हुन आउने अक्सिजन अभावकै कारण बिरामीलाई भर्ना गर्न नसकिने भन्ने ब्यहोराको सूचनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रदेश सरकारलाई महामारी नियन्त्रणमा गम्भीरताका साथ लाग्न समेत समितिले निर्देशन दिएको छ।

समितिका अध्यक्ष देवी ओलीले कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायतको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको बताइन् । ‘प्रदेश अस्पताल सुर्खेतमा दैनिक एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्टको तत्काल स्थापनाको व्यवस्था गर्न आवश्यक छ,’ उनले भनिन् ।

प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति गर्न प्रदेश सरकारले तत्काल पहल गर्न जरुरी रहेको ओलीले बताइ​न् । यस्तै बैठकले प्रदेशभित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीव्रता दिने पनि उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमणबाट बच्नको लागि आम जनसमुदायमा दिएका निर्देशनहरू पालना गरी स्वास्थ्यका मापदण्ड अपनाउन तथा गैरसरकारी संघसंस्था, निजी क्षेत्रलाई सरकारसँग समन्वय गरी कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री व्यवस्थापनमा सघाउ बैठकले अपिल गर्ने निर्णय गरेको छ ।

समितिले यसअघि पनि यस्ता निर्देशन दिने गरेपनि प्रदेश सरकारले समितिका निर्देशनलाई लत्याउने गरेको छ । यसअघि पनि समितिले कोरोना रोकथाम र नियन्त्रणको विषयलाई लिएर निर्देशन दिएको थियो । बजेट व्यवस्थापन बाहेक अन्य निर्णयको कुनै पनि व्यवास्था गरेको छैन्।

हाल कर्णालीका प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजन उत्पादन हुन्छ । तर, उत्पादित अक्सिजनले पूर्ति हुन् मुस्किल छ । प्रदेश अस्पताल सुर्खेतमा दुईवटा अक्सिजन प्लान्ट रहेका छन् । तर, दुवै प्लान्टबाट उत्पादित अक्सिजनले प्रदेश अस्पताललाईसमेत पुग्दैन । नेपालगन्जबाट दैनिक सय सिलिन्डर आपूर्तिको व्यवस्था मिलाइएको थियो । तर, उक्त अक्सिजनले पूर्ति नहुँदा कर्णालीमा अक्सिजनको चरम अभाव हुने गरेको छ ।

अक्सिजनको अभावमा छट्पटाउँदै कोभिडका बिरामी, विभिन्न बहानामा छेउ लाग्दै जनप्रतिनिधि

दाङ । कोरोना भाइरसका बिरामीले अस्पताल भरिभराउ छन् । कोभिड सुरु हुनुभन्दा पहिले दिनभरी घाम तापेर बस्ने एम्बुलेन्सहरु अहिले बिरामी बोकेर दिनदिनै कुदेको कुद्यै छन् । संक्रमितले अस्पताल भरीभराउ मात्रै नभएर अस्पतालको प्राङ्गणमा बसेर उपचार गराउन बाध्य छन् कोभिडका संक्रमितहरु ।

अस्पतालभित्र मानिस हिँड्ने गल्लीमा पनि ठाउँ खाली छैन । खाली नभएपछि नयाँ संक्रमितले उपचार पाउन मुस्किलजस्तै भएको छ । अक्सिजनको अभाव भएपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन सकेका छैनन् । यो हरिबिजोग हो दाङको लमही अस्पतालकाे, जसका कारण मृत्युदर उच्च बन्दैछ ।

भनिन्छ, स्थानीय सरकार प्रत्यक्ष जनतासँग सबैभन्दा नजिकबाट सराेकार राख्ने सरकार हो ।  तर (कोभिड १९) ले गर्दा अस्पतालमा जनताहरु सास फेर्न अक्सिजन नपाएर छट्पटिंदा पनि त्यही स्थानीय सरकारका जनप्रतिनिधिहरु यस्तो विषम् परिस्थिति र महामारीको बेला विभिन्न बहानामा छेउ लागेर र तर्किएर हिँड्ने गरेका छन् ।

कोरोनाको दोस्रो चरण निकै जोखिमपूर्ण रहेको अवस्थामा दाङका अधिकांश अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । अस्पतालमा अक्सिजन नहुँदा बिरामीहरु छटपटाइरहेको र बिरामीका आफन्तहरु अक्सिजनको खोजीमा भाैंतारिइ रहेका देखिन्छन् । कोरोनाका संक्रमितहरु बढेपछि दाङ जिल्लामा अक्सिजनको समस्या चर्काे बन्दै गएकाे छ ।

हामी (कोभिड १९) को महामारीबाट बच्ने बचाउने अभियानमा छाैं । त्यतिमात्रै नभइ हामी संक्रमितको ज्यान बचाउने गरी होमिनुपर्ने बेला आएको छ, भनेर विभिन्न कार्यक्रममा बोल्ने गर्छन् सरकार प्रमुखहरु । तर यो सबै जनताको आँखामा छारो हाल्ने मात्रै काम भएको छ, लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी टंक कुमाल भन्छन् –‘छोरो कर्ण कुमाल बिरामी भएको करिब २४ दिन भयो । छातीको एक्सरे गराउनको लागी लमही अस्पतालमा रसिद काटेँ तर लमहीका मेयर कुलबहादुर केसीले यहाँ होइन दाङ घोराही लैजानुपर्छ । यहाँ गर्न पाइन्न भनेर जवाफ फर्काए ।’

‘छोरालाई थप उपचारको लागी बाहिर लैजाने आर्थिक छैन । लकडाउनका कारण साँझ बिहानको छाक टार्न मुस्किल भएको बेला छोरोलाई उपचारको लागी कहाँ लैजाने ? एक्सरे गराउने मेशिन राखे हुन्छ त भन्दा, मेयर केसीले एक्सरे गराउने मेशिनलाइ दश लाख पर्ने जवाफ दिएकाे कुमालले बताए ।

‘यस्तो विषम् परिस्थितिको बेलामा कुनै विकासका योजनाको काम बन्द गरेर उक्त मेशिन खरिद गरि लमही अस्पतालमा जडान गरेर जनतालाई सेवा दिन किन चुकिरहेको छ लमही सरकार ? यहाँको स्थानीय सरकार त उहि नै हो । उनैको हातमा छ सबै । मान्छे मरेर गएपछि त्यो योजना के काम लाग्यो र ?’ समयमा संक्रमितको ज्यान बचाउन हामीले गर्न सक्ने अरू धेरै उपाय होलान्, तर मूल रूपमा ठूला अस्थायी उपचार केन्द्र स्थापना आवश्यक रहेको लमही अस्पतालका सुपरिडेण्डेन डाक्टर रञ्जिता महतोले बताइन् ।

‘अहिले पनि यसका लागि काम थाल्न सकिन्छ, केही दिनमै अस्थायी संरचना बनाएर उपचार गरेका उदाहरण छन्, हामीले पनि गर्न नसकिने भन्ने होइन, उनले भनिन् । उनका अनुसार अहिले लमही अस्पतालको ईमर्जेन्सीमा आठजना कोभिडका बिरामीहरुको उपचार भइरहेको छ ।

यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही अस्पतालमा रहको पुरानो एक्सरेबाट स्वास्थ्यकर्मीलाई राम्रोसँग रिपोर्ट छुट्याउन गाह्रो भएपछि नयाँ डिजिटल एक्सरे खरिदको प्रक्रियामा रहेको जानकारी दिए । उनले भने–‘लमही अस्पतालमा रहेको एक्सरे पुरानो भइसकेको छ । अव नयाँ खरिदको प्रक्रियामा छाैं ।’